काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु स्वनियममा बस्दै उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा उनले सो बताएका हुन् ।
मर्जर तथा प्राप्तिमा सहभागि भएर स्थापित बैंक तथा वित्तीय संस्थाहरु बलिया तथा सुशासित भएको भन्दै उनले अबको दिनमा स्वनियममा रहेर उत्पादन मुलक क्षेत्रमा कर्जा लगानी गर्न सुझाएका हुन् ।
‘मर्जर बैंकहरु बलिया हुँदै जाँदा बैंकले आफुसँग भएको स्रोतको परिचालन बढीभन्दा बढी उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय सस्थाहरु सोही अनुसारको नीति निर्देशन निर्माण गरेको छ,’ कार्यक्रमा गभर्नर अधिकारीले भने,‘तर ठुला र बलिया भएका बैंकहरुले स्वनियममा चल्न सक्ने आफै कर्जा लगानी उत्पादन मुलक क्षेत्रमा बढाउनु पर्छ ।
उनले बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी हुँदा वित्तीय मध्यस्थता लागत र अस्वस्थ प्रतिस्पर्धा बढेको लगायतको कारणले राष्ट्र बैंकले वित्तीय सुशासन कायम राख्दै बलियो बैंक बनाउन मर्जर तथा प्राप्ती नीति लिएको बताए । सोहिअनुसार नै २४७ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर भएर अहिले ६८ वटामा कायम भएको उनले जानकारी दिए । जसले गर्दा मुख्य गरी वित्तीय मध्यस्थता शुल्क घटेको उनको दावी छ ।
‘जति संस्यामा संस्था घट्यो त्यही संस्थामै प्रमुख कार्यकारी निर्देशकहरु घटेका छन् भने त्यसको ७ गुणा संचाचलकहरु घटेका छन् र कर्मचारीहरु त्यो भन्दा बढीको संख्यामा घटेका छन्,’ उनले थपे, ‘वित्तीय मध्यस्थता शुल्क घट्दा अर्थतन्त्रमा बैंकको योगदानपनि बढेर जानेछ भन्ने उदेश्यले मर्जर नीति ल्याइएको हो । यो वर्ष १४ वटा बैंकमात्रै मर्जर भइरहेका छन् ।’ मर्जरले राम्रो उपलब्धी पाइरहेको उनको भनाइ छ ।
बैंक ठूलो बन्दै गर्दा एकल लगानीको सीमा निर्धारण गर्दै बढीभन्दा बढी कर्जा लगानी साना ऋणीमा केन्द्रित रहनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्