झापा । कम लगानीमा बढी आम्दानी हुने भएको हुँदा झापामा सुपारी खेतीतर्फ किसानको आकर्षण बढेको छ । जिल्लाको उत्तरी भेगतिर धानखेत मासेर सुपारी खेती विस्तार गर्ने लहर नै चलेको छ ।
एकपटक लगाएपछि पुस्तासम्म दीर्घकालीन आम्दानीको स्रोत बन्ने सुपारीको फलदेखि पातसमेत बोटबाटै बिक्री हुन्छ । जिल्लामा दुई हजार छ सय ३१ हेक्टर जमिनमा सुपारी खेती भइरहेको तथ्याङ्क छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा ३७ वर्षदेखि सुपारी खेती गर्दै आएका राजेन्द्र मिश्रले धानखेतीको तुलनामा सुपारी खेतीबाट दश गुणा बढी आम्दानी हुने बताए ।
उनले डेढ बिघा जमिनमा सुपारी खेती गरेका छन् । थप केही बिघामा सुपारीको बिरुवा रोप्ने तयारी गरिरहेका छन् । उनले सुपारीको फलबाट मात्र वर्षमा खर्च कटाएर वार्षिक ३ लाख रुपैयाँ आम्दानी गरिरहेको जनाए।
“कुलो नलाग्ने पाखो एक बिघा जग्गामा ५० मन धान फलाउन ४० मन धानको खर्च लगानी गर्नुपर्छ, धानसँग सुपारी खेतीको आम्दानी दाँज्दै उनले भने, “सुपारी खेतीमा ३ लाख आम्दानी गर्न २० हजार जति मलजलमा लगानी गरे पुग्छ ।”उनले धानखेती मासेर सुपारीको खेती गरेका हुन् ।
सुपारी नगदे बाली हो । बोटमा फल लाग्न थालेपछि खरिद गर्ने व्यपारी अग्रिम दाम बुझाउन आउने गर्छन् । बिरुवा लगाएको छ वर्षपछि आम्दानी दिने यसको खेती विस्तार र प्रवर्द्धन गर्न सरकारले पनि विभिन्न कार्यक्रम ल्याउने गरेको छ ।
सुपारी बारीभित्रै तोरी, फिलुङ्गे, आलस, पान, मरिच, कागती, निम्बु, बेसार, अदुवालगायतका विभिन्न प्रकारका घाँस, कोसेबाली र तरकारी खेती लगाउन सकिन्छ । एकै सिजनमा विभिन्न बाली लगाउने यो प्रचलनलाई तीनतले खेती पनि भन्ने गरिएको छ ।
जिल्लामा सुपारी खेती प्रवर्द्धनका लागि सरकारले सुपारी जोन परियोजना लागू गरेको छ । सुपारी जोनमा आबद्ध किसानलाई खेती विस्तार, मल, सिँचाइ, उपकरण र बजारीकरणका लागि सरकारले अनुदानसमेत दिने गरेको झापाको सुपारी जोनका निवर्तमान अध्यक्ष कृषक नीलकण्ठ तिवारी बताउँछन् । यसवर्ष झापामा सुपारी दाना प्रतिकेजी ५० देखि ९५ सम्ममा बोटबाटै बिक्री भएको छ । बजारको अभाव छैन । भारतबाट व्यापारीहरू सुपारी किन्न घरघरमै आउँछन् ।
सुपारीको दानाबाट मात्र होइन, पातबाट समेत आम्दानी हुने गरेको छ । मेचीनगर, बुद्धशान्ति र अर्जुनधाराकाा दर्जनौँ स्थानमा सुपारीको पातबाट उत्पादन हुने दुना–टपरी उद्योग सञ्चालनमा छन् । उद्योगले किसानको घरमा पुगेर सुपारीको पात प्रतिगोटा दुईमा किनेर लैजाने गरेको तिवारीले बताए । यहाँ उत्पादित सुपारीको पातका दुना, टपरी, थाल, बटुका र चम्चाले मुलुकका ठूला तारेहोटलदेखि युरोपसम्म आकर्षक बजार पाउने गरेको छ ।
जिल्लाको उत्तरी चुरे पहाडी शृङ्खलासँग जोडिएको तराईको भिरालो जमिनमा सुपारी असाध्य फस्टाउने गरेको छ । यहाँ जङ्गली हात्तीको उपद्रो बढी भएकाले किसान हात्तीले नखाने बालीको रूपमा सुपारी र चियाको खेती गर्छन् ।
सुपारी जोनमा आबद्ध कृषि फार्म अर्थात् कृषक समूहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गोदाम निर्माण, उद्योग स्थापना र विभिन्न कृषि औजारमा ५० देखि ७५ प्रतिशत अनुदान दिने गरेको तिवारीले बताए ।
परियोजनाले धान, रबरसँगै विसं २०७५ देखि सुपारी जोनसमेत सञ्चालनमा छ । सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले यहाँ सुपारी जोन कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्