Shikhar Insurance
National Life

जलविद्युत् आयोजना भित्रिएसँगै गाउँमा सडक, वर्षौंदेखिको चाहना पुरा

सिंहदरबार संवाददाता
२०७९ पुष १८, सोमबार १२:२३
Hyundai
NCELL
NIMB

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा रेलेखोला जलविद्युत् आयोजनाको कारण सडक सञ्जालको पहुँच पुगेको छ ।

१ सय २० घरधुरीको बसोबास रहेको लेकगाउँमा अक्कर पहाडको कारण वर्षौंदेखि पूरा हुन नसकेको सडकको चाहना आयोजनाले करोडौँ लगानी गरेर पूरा गरिदिएको हो । बेँसीगाउँदेखि लेकगाउँतर्फ सडकको पहुँच पुर्याउन स्थानीयवासीले चन्दा सङ्कलन गरेर प्रयास गरे पनि अक्करे भिरको कारण ठूलो लगानीको अभावमा रोकिएको सडकलाई रेलेखोला जलविद्युत् आयोजनाले पूर्णताः दिएको वडासदस्य श्याम पुर्जाले जानकारी दिए । बेँसीगाउँदेखि लेकगाउँ जाने बाटोमा रहेको अक्करे भिरमा मात्रै ११ घुम्ती हुँदै सडक विस्तार गरेर लेकगाउँ पुर्याइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस भिरमा मात्रै सडक निर्माण गर्न तीन वर्ष बढी समय लागेको थियो । यस आयोजनाले बेँसीबाट लेकगाउँसम्मको पँच किलोमिटर सडक निर्माण गरेपछि मात्रै गाउँमा यातायातको पहुँच पुगेको हो । सडकको पहुँच पुगेपछि वडा, पालिका र सदरमुकाम आउँदा पैदल हिँड्नुपर्ने झण्झट हटेको छ भने सामग्री ढुवानीमा समेत सहज भएको स्थानीयवासी बताउँछन् ।

आयोजनाको पहुँचमार्गका लागि कूल १८ किलोमिटर सडकको ट्र्याक निर्माण भएको छ । यस आयोजनाले स्थानीयवासीलाई दक्षता र क्षमताअनुसारको रोजगारको अवसरसमेत दिएको आयोजनाका इन्जिनियर आयुष भट्टराईले जानकारी दिए । सडक निर्माण, स्तरोन्नति, पाइप लाइनको पूर्वाधार निर्माणलगायतका क्षेत्रमा स्थानीयवासीले नै नेतृत्व लिएर काम गरिरहेको इन्जिनियर भट्टराईले बताए । हामीले रोजगारको क्षेत्रमा पनि स्थानीयवासीलाई प्राथमिकता दिएका छौँ, स्थानीय युवा क्लब, विद्यालय र आमा समूहका सामाजिक गतिविधिमा समेत सहकार्य गरेका छौँ, उनले भने ।

आयोजनाले स्थानीयका जिभुमे थान निर्माण, क्रान्ति आधारभूत विद्यालयको छानो फेर्न आर्थिक सहयोगसँगै गाउँभित्र सडकको पहुँच विस्तार गर्नेलगायतका कार्यसमेत गरेको छ । अन्नपूर्ण हिमालको फेदीबाट बग्ने रेलेखोलाको पानीलाई उपयोग गरी निर्माण गर्न लागिएको यस आयोजनाको निर्माण कार्य करिब ५० प्रतिशत पूरा भएको छ । हिमकन्सल्ट प्रालिले नदीको बहावमा आधारित रन अफ रिभर मोडलमा ‘पाइप प्रोजेक्ट’ मार्फत यस आयोजनालाई निर्माण गर्न लागेको हो ।

विसं २०७३ देखि नारच्याङको बेँसीदेखि लेकगाउँ हुँदै आयोजना निर्माणस्थलतर्फ पहुँचमार्ग निर्माण सुरु गरेको यस आयोजनाले गत वर्षको फागुनदेखि आयोजनाको निर्माण कार्यलाई सुरु गरेको थियो । अहिलेसम्म करिब पचास प्रतिशत भौतिक प्रगति सम्पन्न भएको र आगामी असारसम्ममा पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य रहेको आयोजनाका इन्जिनियर भट्टराईले जानकारी दिए ।

“आयोजनाको बाँधस्थल, पाइपलाइन र विद्युत्गृहतर्फको काम तीव्ररुपमा अघि बढेको छ, दैनिकरुपमा १ सय ३० जना बढी मजदुरसँगै आवश्यक मेसिन उपकरण पर्याप्त मात्रामा परिचालन भएका छन्, चिसो मौसमको प्रतिकूलताका बीच पनि निर्माण कार्यलाई तीव्रता दिएका छौँ, उनले भने । कालोखोलामा बाँध रहेको यस आयोजनाको तीन हजार छ सय मिटर लामो पाइपलाइनमार्फत पानी लगेर हरिस्वाँरामा रहने विद्युत्गृहमा पाँच सय पाँच मिटर हेडबाट पानी खसालेर विद्युत् उत्पादन गरिनेछ । यस आयोजनामा पानी लैजानका लागि सुरुङमार्गको प्रयोग नगरी पेनस्टक पाइपको मात्रै प्रयोग गरिने भएको छ ।

यस आयोजनामा सिभिलतर्फ साकुरा पावर कन्स्ट्रक्सन कम्पनी, हाइड्रोमेकानिकलतर्फ वर्कसप अफ इन्जिनियरिङ र इलेक्ट्रोमेकानिकलतर्फ फोलो भेल इनर्जी प्रालिले ठेक्का लिएका छन् । सिभिलतर्फ बाँधतर्फको पचास प्रतिशत बढी काम सकिएको र पाइपलाइन राख्नको लागि पाइप ढुवानी र पूर्वाधार निर्माणको काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर लोकबहादुर नायकले बताए ।

उनका अनुसार लेकगाउँदेखि विद्युत्गृहसम्मको पहुँचमार्ग निर्माण भइसकेर पूर्वाधार निर्माणसमेत थालिएको छ । अहिले बाँधस्थलमा इन्टेक, डिसेन्डर र हेडबक्र्सको काम जारी छ । यस आयोजना निर्माणमा प्रतिमेगावाट २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । हिमालय बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंकले समेत गरी ७० प्रतिशत ऋण लगानी गर्ने सम्झौता भएको छ ।

यस आयोजनाबाट उत्पादन हुने विद्युत्लाई चार किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन निर्माण गरी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको दाना सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिनेछ । हाइड्रो भिलेजको नामले परिचित नारच्याङमा यसअघि पाँच मेगावाटको घलेम्दी खोला र ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन् । विद्युत् उत्पादनका लागि दर्जन बढी आयोजना दर्ता भएको यस वडामा नीलगिरि हाइड्रो पावरले निर्माण गर्न लागेको १ सय १० मेगावाट क्षमताको नीलगिरि पहिलो र नीलगिरि क्यासकेड गरी दुई वटा आयोजनामा समेत निर्माण कार्यले तीव्रता पाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्