काठमाडौं। अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्। मन्त्री पौडेलले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितसँगको भेटमा सफल अर्थतन्त्रका लागि प्रयास गर्ने बताएका हुन्।
पत्रकारहरुसँगको भेटमा मन्त्री पौडेलले राम्रो काम गरेको भए राम्रो र राम्रो काम नगरे आलोचनात्मक टिप्पणी गर्न आग्रह गरे। मन्त्री पौडेलले भने ‘अर्थतन्त्रको स्थिति काबू बाहिर पुग्यो भन्ने होइन । समस्याहरु धेरै त्यसमा मिस ह्याण्डलिङ पक्कै भएको हो । सावधानिक रुपमा ठिक ढंगले अघि बढ्नु पर्नेछ। उनले थपे ‘म बाहिर बसेर पनि अर्थतन्त्रलाई हेरिरहेको छु र अहिले भित्र बसेर पनि विभिन्न सुझाव लिइरहेको छु। बाहिर बसेर हेर्दा र भित्र बसेर हेर्दा अलि फरक पर्ने रैछ त्यसको महसुस मैले गरिरहेको छु ।’
अहिले सबैको साझा सरोकार अर्थतन्त्रलाई ठिक ठाउमा ल्याउने भएकोले आर्थतन्त्रमा रहेका समस्यालाई ठिक ढंगले चिन्ने र यसको उपयुक्त समाधान गर्नुपर्न मन्त्री पौडेलको भनाई छ। सबल अर्थतन्त्र निर्माणका लागि एक एक इटा थप्दै जाने काम गर्नु पर्नेछ। यसको लागि सबै पक्षको रचनात्मक भुमिका आवश्यक भएको उनले बताए। अर्थमन्त्री पौडेलले अघिल्लो कार्यकालमा आर्थिक पत्रकारहरुको सहकार्य र समन्वयले अर्थतन्त्र सुधारसँगै विकासका सहयोग पुगेको बताउँदै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता गरे । संकटको संघारमा रहेको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याएर समृद्धितर्फ उन्मुख गराउन सबै क्षेत्रले सकारसँग सहकार्य गर्दै एक÷एक वटा इटा थप्ने काम गर्न उनले आग्रह समेत गरे ।
भेटघाट कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले नवनियुक्त अर्थमन्त्रीलाई सफल कार्यकालको सुभकामना दिदैं अर्थतन्त्र सुधार गर्न तत्काल गर्नुपर्ने सुझाव पेश गरे । यस्तै अर्थ मन्त्रालयमा पत्रकारहरुले सुचना प्राप्त गर्न निकै कठिन पर्ने भएकाले रियल टाइममै सुचना उपलब्ध गराइदिन आग्रह गरे।
अध्यक्ष ढकालले भने ‘अर्थमन्त्रालयले मासिक रुपमा सार्वजनिक गर्ने रकमान्तरको रिपोर्ट सार्वजनिक गर्न छोडेको छ, अर्थ बुलिटन पनि समयमा प्रकाशित हुदैन मन्त्रालय प्रविधिको प्रयोगमा निकै पछि पर्दै गैरहेको छ।’ पत्रकारहरुको क्षमता विकासको लागि अर्थमन्त्रालयले आगामी दिनमा कार्यतालिका नै बनाएर काम गर्न उनले आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्