बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले विभिन्न ५१ योजनामा १ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४औँ गाउँसभामार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाका लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिए ।
गाउँसभाले बृहत् घोप्टेखोला र बृहत् चिमखोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा व्यहोर्नुपर्ने कुल लागतको एक प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णयसमेत गरेको छ ।
सङ्घीय सरकारमार्फत योजना सञ्चालनको तयारी गरिएको रघुगङ्गा गाउँपालिको वडा नं २ भगवती, ३ पिप्ले र ७ चिमखोलालाई समेटने बृहत् चिमखोला–पिप्ले भगवती खानेपानी आयोजना र वडा नं ५ झिँ र ६ पाखापानीलाई समेट्ने बृहत् घोप्टेखोला खानेपानी योजना सम्झौताका लागि उपभोक्ताले जुटाउनुपर्ने स्रोतका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी वडा नं ५ झिँको वडा कार्यालय भवनका लागि थप रु २५ लाख बजेट विनियोजन भएको छ । सभाले प्रदेश र सङ्घीय सरकार विशेष र समपूरक योजनासमेत माग गर्ने निर्णय गरेको छ । प्रदेश समपूरकअन्तर्गत पाखापानी–कोटगाउँ–रायखोर–घ्यासीखर्क सडकलाई ५० लाख रुपैयाँ, सङ्घीय समपूरक कोषअन्तर्गत झिँ वडा कार्यालयलाई थप ३० लाख रुपैयाँ, सङ्घीय समपूरकअन्तर्गत मुक्तिधाम मावि प्राविधिक धारको भवन निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ बजेट माग गर्ने निर्णयसमेत गरेको छ ।
त्यसैगरी सङ्घीय विशेष अनुदानअन्तर्गत वडा नं १ बेगको भुँइपाइले फुटबल खेलमैदान, वडा नं २ को बैँसेरी–साझापानी लिफ्ट सिँचाइ योजना, वडा नं ४ को शिव आधारभूत विद्यालय पुनःनिर्माण, वडा नं ५ को उच्च उचै खेलमैदान र वडा नं ३ को रघुगङ्गा माविको खेलमैदान निर्माणका लागि बजेट माग गरिएको छ भने प्रदेश विशेष अनुदानमा वडा नं ५ को गौरव आधारभूत विद्यालयको पूर्वाधार निर्माणको योजना माग गर्नुका साथै विभिन्न खोलामा वारपारका लागि झोलुङ्गे पुलसमेत माग गर्ने निर्णय गरिएको छ ।
सभाले जग्गा वर्गीकरणका लागि स्थानीय जग्गा वर्गीकरण कार्यान्वयन समिति गठन गरी समितिमार्फत नै आवश्यक कार्य अघि बढाउने निर्णय गरेको छ । गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले चालु आर्थिक वर्षमा निर्वाचनलगायतका कारण योजना कार्यान्वयनमा ढिलाइ भएको बताउँदै योजनालाई निर्धारित समयमै सम्पन्न गराउनका लागि सम्बन्धित वडा र उपभोक्ताले तत्परता देखाउनुपर्नेमा जोड दिए।
उनले सीमित स्रोत र साधनका बीच गाउँपालिकाले अत्यावश्यक आवश्यकतालाई प्राथमिकतमा राखेर योजना छनोट र बजेट विनियोजन गरेको बताउँदै पालिकाको स्रोत र साधनले नभ्याउने योजनाका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरिने बताए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले निर्वाचनपछि पालिकामार्फत सञ्चालन हुने योजना कार्यान्वयनको गति बढेको बताउँदै पालिकामार्फत सम्पादित प्रगतिबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्