काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज सोमबार उच्च अंकले बढेको छ । देशमा नयाँ राजनीतिक परिवर्तनसँगै सेयर बजारका लगानीकर्ताहरु पनि उत्साहित बनेका छन् ।
पछिल्लो समय सामान्य अंकको उतारचढाव भइरहेको नेप्से सोमबार ५६.८६ अंकले बढेर १,९२४.०७ विन्दुमा बन्द भएको छ ।
त्यसैगरी, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ८.३८ अंकले बढेर बन्द भएको हो ।
दिनभरीमा २५० कम्पनीको ५६ लाख ५३ हजार ५३ कित्ता सेयर २ अर्ब ९ करोड ७० लाख ४९ हजार रुपैयाँमा खरिदबिक्री भए । नेप्से सूचकसँगै कारोबार रकममा पनि उत्साहजनक वृद्धि भएको हो । सो दिन कारोबारमा आएको २०३ कम्पनीको सेयर मूल्य बढेको छ । ४ कम्पनीको सेयर मूल्य घटेको छ भने, १ कम्पनीको सेयर मूल्य स्थिर छ ।
नेप्सेका अनुसार गुँरास फाइनान्सको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । साथै आज १२ वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने १० वटा कम्पनीको सेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।
सोमबारको कारोबारमा नेपाल दूरसञ्चार कम्पनीको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य ५.५६ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको २० करोड ८८ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ११ करोड ११ लाख ४७ हजार, नबील बैंकको ९ करोड ११ लाख २१ हजार, रिडी पावर कम्पनीको ७ करोड २६ लाख १७ हजार र एनआईसी एशीया बैंकको ६ करोड ८७ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र छ ।
यस दिन अन्य उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ६.५२ प्रतिशत बढेको छ।
त्यसैगरी, जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। अन्य उपसमूहको परिसूचकभने यस दिन २.२९ प्रतिशत घटेको छ।
प्रतिक्रिया दिनुहोस्