गुल्मी । केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब आफूले आफ्नो इमान्दारिता, असल कर्म र सक्रियतामा विश्वास गरे पुग्ने रहेछ ।
गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का निखिल खत्रीले आफूले अध्ययन गर्दा सिकेअनुसारको व्यवसाय गर्छुभन्दा कसैले विश्वास गरेनन् । घरपरिवार र छिमेकीले त्योभन्दा विदेश गएर धन कमाउन सुझाव दिए ।
अहिले २० वर्ष पुगेका निखिल डेढ वर्षअघि आफूमात्र अघि सरेर च्याउको बीउ उत्पादनमा लागे । २ लाख लगानीमा सुरु गरिएको बीउ उत्पादनमा ५ लाख आम्दानी भयो । त्यसपछि निखिललाई घरपरिवार र छिमेकीले पनि विश्वास गर्न थाले ।
उनले निखिल मल्टीप्रपोज एग्रो फार्म दर्ता गरेर चन्द्रकोट–५ ग्वाघाको धुँवाखर्कमा च्याउ खेती गरेका छन् । दश रोपनी जग्गा लिजमा लिएर २० ठूला टनेलमा खेती गरेका उनले च्याउलाई ५० टनेलमा विस्तार गर्दै छन् ।
आगामी चैतसम्म ३० टनेल थप्ने लक्ष्य छ । वार्षिक १ लाख तिरेर जग्गा लिजमा लिएका निखिलले च्याउ खेतीमा २५ लाख लगानी गरेका छन् । उनले बैंकबाट ऋण लिएर लगानी गरिरहेको बताए । निखिले चन्द्रकोट–४ मा रहेको उदय माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म कृषिसम्बन्धी पढेका हुन् ।
त्यतिखेर प्रयोगात्मक सिकाइको क्रममा उनले च्याउ खेती गर्नेमा बढी आकर्षित भए । कक्षा १२ सकेपछि थप अध्ययनभन्दा पनि आफूले सिकेअनुसार व्यवसाय गर्छु भन्नेमा निखिल प्रेरित भए । डेढ वर्षअघिबाट सुरु गरिएको च्याउ खेतीबाट अहिलेसम्म औसतमा मासिक २ लाख आम्दानी भएको फार्म सञ्चालक निखिलको भनाइ छ ।
“च्याउ खेतीबाट निरन्तर आम्दानी हुँदैन, मौसम अनुसार उत्पादन भएकालाई बजार पु¥याउनुपर्छ”, उनले भने, “वर्षभरलाई औसतमा हेर्दा मासिक २ लाख आम्दानी हुन्छ”, उनले भने । आम्दानी भएको रकम च्याउ खेतीमै लगानी भइरहेको छ । फार्मका २० टनेलमा अहिले सिताके र कन्या च्याउ छन् ।
मौसममा दैनिक आठ क्विन्टल र अघिपछि दैनिक एक क्विन्टल च्याउ बुटवल बजारमा निर्यात हुन्छ । औसतमा तीन क्विन्टल दैनिक बिक्री हुने उनले बताए । च्याउ प्रतिकिलोग्राम १ सय ५० देखि दुई सयसम्म पर्छ ।
६ जनालाई आवासीय रोजगारी
प्राविधिक ज्ञानमा आफैँ पोख्त बीस वर्षका निखिलले फार्ममा छ जनालाई आवासीय सेवा सुविधासहित रोजगारी दिएका छन् । “आफ्नै ठाउँमा कामदार पाउन गाह्रो रहेछ, टाढाबाट लिएर आवासीय सुविधासहित राखेको छु”, उनले भने ।
प्युठानदेखि आएका उनीहरुले सुविधाबाहेक मासिक १५ हजार पाउँछन् । फार्मको हेरचाहदेखि च्याउका लागि कच्चापदार्थ तयार गर्नेलगायतका सबै काम गर्नुपर्छ । योबाहेक सिजनमा अन्य कामदार राख्नुपर्छ । सानै उमेरमा व्यवसायतर्फ प्रेरित हुनुको कारण अध्ययन नै भएको निखिलले बताए ।
अठार वर्ष पुगेपछि च्याउ खेतीमा लागेर अहिले व्यावसायिकतातर्फ गइसकेका छन् । आफूले प्राविधिकतर्फ कृषिमा अध्ययन गरेपछि कृषिबाटै व्यवसायमा उन्मुख हुन्छु भन्ने सोच राखेको उनले सुनाए । “पढ्ने समयमा प्रयोगात्मक गर्दा च्याउ खेती गर्छु भन्ने अठोट गरेको थिएँ”, उनले भने “अब च्याउ खेतीलाई व्यापकरुपमा विस्तार गर्दै लैजाने हो” ।
लगानीसँगै निगरानी, व्यवस्थापन, इमानदारिता र सक्रियता भएमा मात्र कृषि र पशुपालनमा सफलता प्राप्त गर्न सकिने उनकाे भनाइ छ । “मलाई सुरुमा आफ्नैले विश्वास गर्नुभएन, तर म केही गरेर देखाउँछु भनेर अघि बढेँ”, उनले भने “विश्वास त कर्मसँग हुनुपर्छ” । आफूजस्ता हजारौँ युवा खाडीमुलुक गएकोप्रति चासो देखाउँदै निखिलले बाध्यताले विदेश जान नपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्