काठमाडौं । विश्वकप फुटबललगायत विभिन्न खेलमा हुने अनलाइृन सट्टाबाजीमा नेपाली एजेन्ट सक्रिय रहेका छन् । एजेन्टमध्ये एक व्यक्तिले वर्षमा सट्टाबाजीमा करोडौँ कारोबार गर्ने पाइएको छ । नेपाली एजेन्ट रहेका एक व्यक्तिको २५ मध्ये ७ बैंक खाताको कारोबार परीक्षण गर्दा एक वर्षको अन्तरालमा सट्टाबाजीमा साँढे दुई करोड बराबरको कारोबार गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
खेलमा बढी रकम हारेका व्यक्तिको पहिचान गरी प्रलोभन देखाएर सट्टेबाजीको एजेन्ट बनाएको प्रहरीको भनाइ छ । सट्टेबाजीमा प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत यसरी सट्टाबाजीको रकम सङ्कलन गर्ने कार्यमा चाँगुनारायण नगरपालिका– ९ ताथली बस्ने ३१ वर्षका सुनिल चौगुठी र सूर्यविनायक नगरपालिका–८ का २५ वर्षीय अजय भेल पक्राउ परेपछि तथ्य खुलेको हो ।
उनीहरुलाई मुलुकी अपराधसंहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्नरगराउन नहुने कसुरअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ ।
उनीहरुलाई वान एक्स बेटले खेलाडीमध्येबाट बढी रकम हारेका व्यक्तिको पहिचान गरी विभिन्न प्रलोभन देखाएर एजेन्ट बनाएको पाइएको छ । पक्राउ परेका व्यक्तिले सट्टाबाजी गराउन विगत एक वर्षदेखि एजेन्टको रुपमा काम गर्दै आएको खुलेको छ । सट्टेबाजीको रकम भने रेड्डी नामको एप्लिकेसन मोबाइलमा ‘इन्स्टल’ गर्न लगाई कारोबार गर्ने गरेको र त्यही रकम भुक्तानीको आधारमा कमिसन दिने गरेको पाइएको छ ।
अनुसन्धानका क्रममा पक्राउ परेका चौगुठीको २३ वटा बैंकको २५ वटा खाताको कारोबार विवरण माग गरिएकोमा हालसम्म ७ बैंकमार्फत उनले एक वर्षको अवधिमा २ करोड, ४५ लाख ७१ हजार आठ सय ९९ कारोबार गरेको खुल्न आएको र अन्य बैंकको विवरण प्राप्त हुने क्रममा रहेको कोइरालाले बताए ।
भेलको विभिन्न १९ बैंक खाताको कारोबार माग गरिएकोमा हालसम्म प्राप्त सात बैंकको खाताको विवरणमा करिब ६ महिनाको अवधिमा ६० लाख ३० हजार रुपैयाँ कारोबार भएको खुलेको छ । अनुसन्धानमा वान एक्स बेटमार्फत हुने कारोबार क्रिप्टोकरेन्सीको कारोबारसँग अन्तरसम्बन्धित रहेको पाइएको छ ।
सट्टाबाजी गर्ने समूह बढ्दो रहेको बताइएको छ । यसअघि मङ्सिर २८ मा पक्राउ परेका लमजुङका सुजन गौलीले उक्त सट्टेबाजीमा इसेवा, आइएमइ, खल्ती सेवाबाट मात्रै २ करोड ३६ लाख कारोबार गरेको पाइएको छ ।
अनुसन्धानका क्रममा अन्य विभिन्न २६ डिजिटल वालेटमार्फत उनले झण्डै ८ करोड रुपैयाँ बराबरको कारोबार गरेको खुल्न आएकोमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मङ्सिर २६ पक्राउ परेका ललितपुरका आदर्श ठाकुरले पनि यस्तै एपमार्फत २ करोड बढीको कारोबार गरेको फेला परेको थियो । उनी पनि प्रहरीको अनुसन्धानमै छन् । मङ्सिर २५ गते पाल्पाका रुद्रप्रसाद पोखरेल र भारतका पवनकुमार शर्मा काठमाडौंको नरदेवीबाट सट्टेबाजीकै कसूरमा पक्राउ परेका थिए ।
पछिल्ला घटनाक्रमले प्रविधिको दुरुपयोग तीव्र रुपमा बढिरहेको देखिएको र त्यहीमार्फत प्रलोभनमा परेर मानिस ठूलो रकम ठगीमा पर्ने गरेकाले त्यसबाट सतर्क रहनुपर्ने केन्द्रिय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्