काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले शनिबार अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई बोलाएका हुन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।
सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ । निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ । काँग्रेसमा सभापति देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिने निश्चित छ । उता, महामन्त्री गगन थापाले अब संसदीय दलको नेता बनेर प्रधामन्त्री बन्ने घोषणा गरेका छन् । पछिल्लो समय शेखर कोइरालाले समेत संसदीय दलको नेता बन्ने बताईरहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्