Skip to content
Shikhar Insurance
National Life

बेलाइत सरकारको सहयोगमा मुगु-हुम्ला जोड्ने सडक निर्माण सम्पन्न, १ अर्ब ६६ करोड लागत

Hyundai
NCELL
NIMB

कर्णाली । बेलाइत सरकारको सहयोगमा मुगु गमगढीदेखि हुम्लाको चङ्खेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ ।

मुगुको गमगढीदेखि हुम्ला चङ्खेली गाउँपालिका देउलीसम्मको उक्त सडक १ अर्ब ६६ करोड ९३ लाख ५२ हजारमा निर्माण भएको हो । सडक निर्माण सन् २०१८ अक्टोबरदेखि काम सुरु भएको थियो । निर्माण सकिएपछि बेलाइत सरकारले बुधबार कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विकासको पहिलो आधार सडक भएको बताए । आफूले सात वर्षको उमेरदेखि पैदलयात्रा गरेको स्मरण गर्दै भने, “हुम्लादेखि यही बाटोबाट महिना दिन पैदल हिँडेर नेपालगञ्ज पुग्थ्यौं । मान्छे हिँड्न कठिन बाटो आज सडकमा परिणत भएको छ जहाँ अहिले गाडी गुडाएका छौं ।”

नेपालका लागि बेलाइतका राजदूत निकोला पोलिटले गमगढी–देउली सडक निर्माणले दुवै जिल्लामा यातायातका लागि सहज भएको बताए ।

“बेलाइत सरकारको ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत चार दशमलव पाँच मिटर चौडा मोटरेवल लिङ्क सडक निर्माणले पैदल हिँड्ने बाटोलाई विस्थापित गरेको छ, राजदूत पोलिटले भने, “नेपालमा बेलाइतले सरकारको सहयोगमा निर्माण भएको यो सबैभन्दा लामो ग्रामीण सडक हो ।”

कुल ६७ किलोमिटरमध्ये मुगुमा ३३ किलोमिटर र हुम्लामा ३४ किलोमिटर पर्छ । यो सडकले चङ्खेली हिमालको ३ हजार ३ सय मिटरको अग्लोडाँडा पार गर्दा सडकअन्तर्गत चारवटा पुल निर्माण गरिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्