काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति पहिलो त्रैमासिक सार्वजनिक गर्दै कर्जा र निक्षेप बीचको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ । यसको प्रभावमा बैंकहरुको खुद नाफा १.३९ प्रतिशतले घट्ने प्रष्ट देखिएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत् स्प्रेड दरलाई ०.४ प्रतिशत विन्दुले घटाएको हो । हालसम्म ४.४ प्रतिशत रहेको वाणिज्य बैंकहरुको स्प्रेडदर ४ प्रतिशत, ५ प्रतिशत रहेको विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदर अन्तर अब ४.६ प्रतिशत कायम गरेको हो । हाल वाणिज्य बैंकहरुको औषत कर्जाको ब्यानदर १२.१९ प्रतिशत छ ।
स्प्रेडदर ०.४ प्रतिशतले घट्दा कर्जाको ब्याजदर १.३९ प्रतिशतले घट्न सक्ने अनुमान राष्ट्र बैंकको छ । जसले गर्दा वाणिज्य बैंकहरुको औषत कर्जाको ब्याजदर समेत आगामी महिनादेखि १०.८ प्रतिशत कायम हुने देखिन्छ । बैंकहरुको स्प्रेडदर १.३९ प्रशितशले घट्दा समर्ग बैंकहरुको खुदनाफा समेत १.३९ प्रतिशतले घट्ने सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपानेले बताए ।
‘समर्गमा बैंकको नाफा एक प्रतिशत बढी १.३९ प्रतिशतसम्म घट्न सक्ने सम्भावना छ,’ सीइओ न्यौपानेले सिंहदरबासँग भने, ‘वाणिज्य बैंकहरुको खुद नाफा करिब १० करोड रुपैयाँले घट्छ ।’ कर्जाको ब्याजदर घट्दा ब्याज आम्दानी घटी खुद नाफा प्रभावित हुने उनको भनाइ हो ।
चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् गरिएको सो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुलेकर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । प्रिमियमसम्बन्धी व्यवस्थाको नियमित अनुगमन समेत गरिने पनि समीक्षामा उल्लेख छ ।
बैंकको ब्याजदर अत्याधिक बढेको भन्दै चुनावअघि देशव्यापी रुपमा निजी क्षेत्रका उद्योगीव्यवसायी आन्दोलनमा उत्रिएका थिए। आन्दोलन चर्किएपछि अर्थमन्त्रालय र राष्ट्र बैंकले नै यसलाई मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् सम्बोधन गर्ने बताउँदै आएका थिए । ब्याजदरका बारेमा पुनरावलोकन हुने आश्वासन दिएका अर्थमन्त्री अर्थ सचिव र गभर्नरले आफ्नो प्रतिवद्धता पुरा गर्दै स्प्रेडदर ०.४ प्रतिशतले घटाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्