काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा फाइनल स्वाप रेसीयो तय भएको छ । गत असोज १० गते आपसमा मर्जर सम्झौता गरेका यी बैंकहरुको संयुक्त मर्जर समितिको बैठकले फाइनल स्वाप रेसीयो १ः१ तय गरेको हो ।
यी दुबै बैंकको संचालक समितिको बैठकले अनुमोदन गरेअनुसार मंसिर १ गते बसेको संयुक्त मर्जर कमिटीको बैठकले उक्त स्वाप रेसीयो स्वीकृत गर्ने निर्णय गरेको हो । यी दुबै बैंकले आपसमा मर्जरको प्ररम्भिक सम्झौता गर्दा समेत १ः१ स्वाप रेसीयोमै मर्जर हुने सम्झौता गरेका थिए ।
नेपाल राष्ट्र बैंकबाट मर्जरको सैद्दान्तिक स्वीकृत पाएपछि सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन (डीडीए) गराइपछि निर्धारण भएको स्वाप रेसियोलाई बैंकको संचालक समितिले अनुमोदन गरिसकेको थियो ।
दुबै बैंकको साधारणसभा सम्पन्न भइसकेकाे छ भने चाँडै विशेष साधारणसभा बोलाएर एकीकृत कारोबार गर्ने बैंकहरूले जनाएका छन् । बैंकको एकीकृत कारोबार पुस १७ गते हुने मिति तय गरिएको छ । दुबै बैंक सञ्चालक समितिले पुस १७ गते (जनवरी १) देखि एकीकृत कारोबार गर्ने गरी कार्य योजना बनाएर अघि बढेका छन् ।
मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेश अर्याल हुने मर्जर कमिटीले जनाएको छ । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने तथा एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याइने पनि जनाइएको छ ।
एनसीसी बैंक र कुमारी बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने बैंकले जनाएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांकअनुसार कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रहेको छ ।
साथै, गत आर्थिक वर्षको अन्त्यमा कुमारी बैंकको जगेडा कोष ४ अर्ब ६४ करोड २९ लाख १७ हजार र एनसीसी बैंकको ५ अर्ब ३२ करोड ३९ लाख ९ हजार रहेको छ । यसका साथै मर्जरपछि कुमारी बैंकको निक्षेप १ खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैयाँ र एनसीसी बैंकको १ खर्ब ३४ अर्ब ५७ करोड ६० लाख १४ हजार रुपैयाँ गरी कुल ३ खर्ब ११ अर्ब ३४ करोड ३६ लाख ७९ हजार रुपैयाँ पुग्ने पनि बैंकले जनाएका छन् ।
असार मसान्तसम्मको तथ्यांकअनुसार कुमारी बैंकको खुद नाफा २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार र एनसीसी बैंकको खुद नाफा २ अर्ब २ करोड २२ लाख २२ हजार गरी कुल ४ अर्ब ८५ करोड ७४ लाख ५६ हजार रुपैयाँ पुग्ने बैंकले जनाएका छन ।
प्रतिक्रिया दिनुहोस्