डुम्रे । तनहुँमा उत्पादित सुन्तला जिल्ला बाहिरका बजारमा खपत हुने गरेको छ । यस वर्ष तनहुँमा सुन्तला उत्पादन वृद्धि भएको छ । फूल फुल्ने र दाना लागिसकेपछि असिना नपरेकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
“गत वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ । तनहुँ सुन्तला उत्पादनमा आत्मनिर्भर पनि छ । यहाँ उत्पादित सुन्तला प्रायःजसो देशका ठूला सहरमा बिक्री वितरण हुन्छ”, कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले भने । “कहीँ उत्पादन बढेको र कहीँ घटेको अवस्था छ ।
समग्रमा जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ ।” उत्पादनको क्षेत्रफल भने घटेको तर उत्पादन वृद्धि भएको उनि बताउँछन् । “यस वर्ष करिब ३० प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको छ । फल्ने क्षेत्रफल घटेको छ”, तिवारीले भने ।
गत वर्ष जिल्लामा एक हजार छ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको उनले बताए । उनका अनुसार उक्त क्षेत्रफलमा नौ हजार पाँच सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष फल्ने क्षेत्रफल घटेर एक हजार चार सय ८० हेक्टरमा सुन्तला खेती गरिएको उनले बताए ।
उनका अनुसार उक्त क्षेत्रफलमा नौ हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्लामा यस वर्ष कुल २७ करोडको सुन्तला बिक्री वितरण हुने अपेक्षा गरिएको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, नारायणगढलगायतका स्थानमा निर्यात गरिन्छ ।
सुन्तला निर्यातले जिल्लामा आयस्रोतमा थप सहयोग पुगेको उनि बताउँछन् । व्यास नगरपालिका–१३ बेनीकोटका किसान खेमबहादुर रानाले यस वर्ष एकतिहाइ सुन्तला उत्पादन वृद्धि भएको बताए । सुन्तलाको दाना ठूला भएकाले ग्राहकले खरिद गर्दा माग गरिएको रकम दिन तयार भएको उनि बताउँछन् ।
“बेनीकोटमा निरन्तर उत्पादन राम्रो हुने हो । यसपटक अझै बढी उत्पादन भएको छ”, किसान रानाले भने । विगतको तुलनामा किसान सचेत भएको उनि बताउँछन् । “पहिले मलजल, स्याहारसुसारको कमी हुन्थ्यो । अहिले किसान सचेत भएका छन् । राम्रो उत्पादन लिन सुन्तलाको बोटबिरुवालाई सानैदेखि हेरचाह, स्याहारसुसारसँगै मलजल, पानी समयमा पु¥याउनुपर्छ भन्ने बुझ्दै आएका छन्”, उनले भने ।
त्यस्तै शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका किसान जगतबहादुर महतले यस वर्ष करिब सात लाख ३० हजारको सुन्तला बिक्री वितरण गर्नुभएको छ । यस क्षेत्रमा सुन्तला उत्पादन वृद्धि भएकाले यहाँका किसानले गत वर्ष चार/पाँच लाख आम्दानीलाई बढाएर रु सात देखि १० लाखसम्ममा सुन्तलाको बोटबाटै ठेक्कामा बिक्री गरिएको उनि बताउँछन् ।
त्यसैगरी देवघाट गाउँपालिका–३ छिपछिपेका किसान पूर्णिमा थापाले देवघाट क्षेत्रमा पनि सुन्तला उत्पादन राम्रो रहेको बताए । “पहिलाको वर्षभन्दा यस वर्ष उत्पादन बढ्ने आशा गरेका छौँ । यहाँ उत्पादित सुन्तलाले लोभ्याउनेछ । ठेक्का बिक्री गरेका छौँ ।
अब केही समयमा यहाँ सुन्तला टिप्न आउनेछन् र लैजान्छन्”, उनले भने । म्याग्दे गाउँपालिका क्षेत्रमा सुन्तला उत्पादन घटेको छ । यस क्षेत्रमा सुन्तलाका दाना कम लाग्नु, सुन्तलाको बोटमा रोग लाग्दा उत्पादनमा कमी आएको किसान विश्वबहादुर अधिकारी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्