काठमाडौं । २०७८ साउन महिनादेखि लगातर घाटामा रहेको देशको शोधानान्तर (देशबाट भित्रिने र बाहिरिने मुद्राको फरक) स्थिति १४ महिनापछि बचतमा आएको छ । चालु असोज मसान्तमा आइपुग्दा देशको शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा रहेको हो ।
देशको शोधनान्तर स्थिति २०७८ असार मसान्तमा १ अर्ब २३ करोडले बचतमा थियो २०७८ साउन मसान्तमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटा जान शुरु भएर २०७९ भदौसम्म निरन्तर घाटामै रहेको थियो ।
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै १४ महिना पछि शोधान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा रहेको उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही पहिलो ३ महिनामा देशको शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको छ ।
देशमा भित्रिनेभन्दा बाहिरिने मुद्रा बढी हुँदा शोधानान्तर स्थिति लगातर १४ महिना घाटामा गएको हो । सरकार र राष्ट्र बैंकले आयातमा गरेको कढाइले गर्दा विदेशी मुद्रा सञ्चितीमा वृद्धि हुँदा र देश भित्रिने रेमिट्यान्स समेत वृद्धि हुँदा शोधान्तर स्थिति बचतमा गएको छ ।
शोधानान्तर स्थिति बचतमा गएपनि चालु आवको पहिलो ३ महिनामा समीक्षा अवधिमा चालु खाता ३४ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४९ अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २७ करोडले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३४.८ प्रतिशतले वृद्धि भई रु.२ अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ करोड रुपैयाँ प्राप्त भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ९२ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।
रेमिट्यान्स १६.८ प्रतिशतले वृद्धि
चालु आवको पहिलो ३ महिनामा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि भई २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई
२ अर्ब १९ करोड पुगेको छ । अघिल्लोवर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भई १,४७,९३२ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७,८६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई ३ खर्ब १० अर्ब ४३ करोड रुपैयाँ प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो ।
आयात १६.२ प्रतिशतले घट्यो
आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु आयात १६.२ प्रतिशतले कमी आई ४ खर्ब १ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १६.७ प्रतिशत र १९.२ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, कोइला लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, कच्चा सोयाविन तेल, एम.एस. तार, छड, बार, क्वाइल लगायतका वस्तुको आयात घटेको छ ।
विदेशी विनिमय सञ्चिति २.५ प्रतिशत वृद्धि
२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ असोज मसान्तमा ०.६ प्रतिशतले कमी आई ९ अर्ब ४८ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०७९ असोज मसान्तमा ९.३ प्रतिशतले कमी आई १ खर्ब ४४ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । २०७९ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्