गण्डकी । हिमालदेखि तराईसम्मका भूभाग समेटिएको गण्डकी प्रदेशमा नजिकिँदै गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले यतिखेर राजनीतिक दल तथा तिनका उम्मेदवारलाई भ्याइनभ्याइ छ । स्थानीय मुद्दासहित समृद्धि र विकासका कुरासँगै स्थानअनुसार राष्ट्रिय विषय पनि यतिखेर दलहरूका घोषणापत्र तथा उम्मेदवारका प्रतिबद्धतामा समेटिएका छन् ।
गण्डकी प्रदेशका ११ वटै जिल्लामा चुनावी माहोल तातिरहेका अवस्थामा विगतमा जस्ता भड्किलो प्रचार भने नदेखिएको मतदाताको अनुभव छ । विगतका निर्वाचनमा चर्का माइक, बाजागाजा आदिका कारण ध्वनी प्रदूषण गर्ने गरी हुइँकिने गाडीहरूसँगै कार्यकर्ताहरूको उत्ताउलो प्रचार अहिले भने निकै कम भएको कास्कीको गगनगौंडाका मतदाता सुनिल सुवेदी बताउछन् । निर्वाचन आयोगको निगरानीसँगै दलहरूमा पनि राजनीतिक संस्कार परिवर्तन भएको पाइएको यस पटकको प्रचारशैलीले देखाएको उनको भनाइ छ ।
गण्डकीमा नेपाली कांग्रेससहितका दल गठबन्धन गरी चुनावमा होमिएका छन् भने नेकपा (एमाले) सहित अन्य दलहरू छुट्टाछुट्टै उम्मेदवारी दिएर प्रतिस्पर्धामा छन् । विगतको चुनावको गणितले गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने आङ्कलन गरिए पनि अन्य नयाँ तथा साना दल पनि उच्च मनोबलका साथ निर्वाचन आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ चुनावी अभियानमा सक्रिय छन् ।
कूल ११ वटा जिल्लामा समेटिएको गण्डकीमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ सिट रहेको छ । २०७४ को निर्वाचनमा एमाले—माओवादी वाम गठबन्धन बनाई चुनावमा जाँदा उक्त गठबन्धनले १६ स्थानमा जितेको थियो । त्यस निर्वाचनमा कांग्रेसले नवलपुर निर्वाचन १ जित्दा कांग्रेसकै समर्थनमा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई गोरखा २ बाट चुनाव जितेका थिए ।
त्यतिबेलाको समीकरण बदलिएर हाल सो वाम गठबन्धन टुटेको छ । नेकपा विभाजन भएर एमाले र माओवादी छुट्टैछन् भने एमाले विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेको छ । अहिले कांग्रेससहित माओवादी, एकीकृत समाजवादी एक ठाउँमा छन् । त्यसले गर्दा गण्डकी प्रदेशमा ७४ सालको निर्वाचनभन्दा यसपटक निर्वाचन परिणाम फरक आउने अनुमान गरिएको छ ।
मुस्ताङ, मनाङ, स्याङ्जाको १, कास्कीको ३ र तनहुँको २ मा एमाले काङग्रेसभन्दा हजार कम मतले अगाडि रहेको छ । मनाङ, मुस्ताङ, पर्वत र नवलपुर २ मा कांग्रेस, माओवादीलगायतको सत्ता गठबन्धले पाएको मतभन्दा एमालेको मत धेरै छ । गोरखाका २ क्षेत्रमा एमाले तेस्रो स्थानमा छ भने एउटामा कांग्रेस र अर्कोमा माओवादी अगाडि देखिन्छ ।
स्थानीय तहको नतिजालाई आधार मान्दा यसपटक कास्कीको २ र ३, पर्वत, नवलपुरको २, लमजुङ, मनाङ र मुस्ताङमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । यी क्षेत्रमा एमालेले पाएको र गठबन्धनको दलले प्राप्त गरेको मत लगभग बराबरी अवस्थामा छ । तथ्याङ्कअनुसार स्थानीय तहको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ मा कांग्रेसले ३३ हजार ८३७ मत ल्याउँदा एमालेले ३० हजार १९६, माओवादीले ३ हजार २७८ र राप्रपाले १ हजार ८१८ मत ल्याएका थिए ।
कास्की निर्वाचन क्षेत्र नं २ मा एमाले २१ हजार १६४ मत ल्याउँदा कांग्रेसले १९ हजार ८ मत ल्याएको थियो । त्यस्तै राप्रपाले २ हजार ७९, एकीकृत समाजवादीले २ हजार ५३, माओवादीले १ हजार १९८ र जसपाले १५३ मत ल्याएका थिए । कास्की निर्वाचन क्षेत्र नं ३ मा एमालेले २९ हजार ८०५ मत ल्याउँदा कांग्रेसले २८ हजार ८४६, माओवादीले २ हजार ४००, राप्रपाले १ हजार ६५ र एकीकृत समाजवादीले ५०१ मत ल्याएको थिए ।
गोरखा निर्वाचन क्षेत्र नं १ मा कांग्रेसले २७ हजार ८४ मत ल्याउँदा माओवादीले २५ हजार ४७२, एमालेले १४ हजार ५६६, जसपाले २ हजार ७५४, राप्रपाले २२७, एकीकृत समाजवादीले ७० मत ल्याएका थिए । गोरखा २ मा माओवादीले २२ हजार २५० मत ल्याउँदा कांग्रेस २१ हजार १३६, एमाले ७ हजार ९२६, जसपाले ७ हजार ५०४ र राप्रपा ८७८ मत ल्याएका थिए ।
तनहुँ निर्वाचन क्षेत्र नं १ मा कांग्रेसले ३३ हजार १०६ मत ल्याउँदा एमालेले २२ हजार २१०, माओवादीले ८ हजार ४७४, राप्रपाले १ हजार ७७५, एकीककृत समाजवादीले ८९२ र जसपाले ५४ मत ल्याएका थिए । तनहुँ २ मा एमालेले ३० हजार ९६२ मत ल्याउँदा कांग्रेसले ३० हजार ६०६, माओवादीले ६ हजार ८३६, एकीकृत समाजवादीले १ हजार २५२ र राप्रपाले ९५५ मत ल्याए । पर्वतमा एमाले ३५ हजार ७१६ मत ल्याउँदा कांग्रेसले २९ हजार ३४४, माओवादीले ५ हजार ३६१, एकीकृत समाजवादीले ५४६ र राप्रपा ४९३ मत ल्याएका थिए ।
नवलपुर निर्वाचन क्षेत्र नं १ मा कांग्रेसले ४० हजार ५११ मत ल्याउँदा एमालेले ३९ हजार ९५१, राप्रपाले २ हजार ३७३, माओवादीले १ हजार ९२१ र जसपा १८८ मत ल्याए । नवलपुर २ मा एमालेले ४१ हजार ७९८ मत ल्याउँदा कांग्रेसले ३८ हजार ६१९, राप्रपाले २ हजार ३५५, माओवादीले १ हजार ७४२, जसपाले ३०३ र एकीकृत समाजवादीले २१४ मत ल्याएका थिए ।
बागलुङको निर्वाचन क्षेत्र नं १ मा एमालेले २१ हजार ९७८ मत ल्याउँदा कांग्रेसले १९ हजार ५१३, राष्ट्रिय जनमोर्चाले ६ हजार ६७, माओवादीले २ हजार ५२९, एकीकृत समाजवादीले २ हजार ४५१ मत प्राप्त गरे । बागलुङ २ मा एमालेले १९ हजार ३० मत ल्याउँदा कांग्रेसले १७ हजार ७५१, माओवादी नौ हजार ७५१, राजमो ६ हजार ६७८ र एकीकृत समाजवादीले ३८८ मत प्राप्त गरे ।
स्याङ्जा निर्वाचन क्षेत्र नं १ मा कांग्रेसले ३७ हजार ५१० मत ल्याउँदा एमालेले ३६ हजार ८४५, माओवादी १ हजार ९८४ र राप्रपाले १ हजार २ मत ल्याए भने स्याङ्जा २ मा कांग्रेसले ३६ हजार ८०६ मत ल्याउँदा एमालेले ३४ हजार ८०९, माओवादीले १ हजार २४३ र राप्रपाले ५११ एकीकृत समाजवादीले २३३ मत ल्याए ।
हिमालपारिको जिल्ला मनाङमा एमालेले १ हजार २५८ मत ल्याउँदा कांग्रेसले १ हजार २२० मत प्राप्त गर्यो भने मुस्ताङमा एमालेले ३ हजार १२८ मत ल्याउँदा कांग्रेसले २ हजार ७४२ र राप्रपा १८ मत प्राप्त गर्यो । म्याग्दीमा एमाले २३ हजार २१० मत ल्याउँदा कांग्रेसले २० हजार ३८, माओवादीले ८ हजार ५९३ र राप्रपाले २१७ मत प्राप्त गरे । यस्तै लमजुङमा एमालेले ४० हजार १९७ मत ल्याउँदा कांग्रेसले ३५ हजार २७६, माओवादीले ६ हजार १२७, राप्रपाले १ हजार १८४ र जसपाले १९० मत ल्याए ।
यस निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभातर्फ १४ जनाको उम्मेदवारी छ । त्यस्तै उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा आठ र (ख) मा सातजनाको उम्मेदवारी छ । जिल्लाको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ १७ जना चुनावी प्रतिस्पर्धामा होमिएका छन् । उक्त निर्वाचन क्षेत्रअन्तर्गतको प्रदेशसभा (क) मा आठ र (ख) मा छजनाको उम्मेदवारी छ । त्यस्तै निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ १५ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं ३ अन्तर्गतको प्रदेशसभातर्फ (क) र (ख) मा ७/७ जनाको उम्मेदवारी परेको छ ।
जिल्लाको क्षेत्र नं १ मा गठबन्धन दलका तर्फबाट किशोरदत्त बराल र नेकपा (एमाले) का तर्फबाट मनबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्दै छन् । निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धन दलका तर्फबाट श्रीनाथ बराल र एमालेका तर्फबाट विद्या भट्टराई चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै क्षेत्र नं ३ मा गठबन्धन दलका तर्फबाट रामजीप्रसाद बराल (जीवन) र एमालेबाट दामोदर वैरागी चुनावी प्रतिस्पर्धामा छन् ।
बागलुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ३१ जना चुनावी मैदानमा हरेकामा निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार छन् भने एमालेबाट सूर्यप्रसाद पाठक उम्मेदवार बनेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सापकोटा, नेपाली कांग्रेस (बिपी)बाट शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खिमानन्द कँडेल र स्वतन्त्रबाट चन्द्रबहादुर क्षत्रीको उम्मेदवारी छन् । उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा पाँचजनाको उम्मेदवारी छ भने (ख)मा चारजनाको उम्मेदवारी छन् ।
बागलुङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेल, एमालेबाट मञ्जु शर्मा चालिसेलगायतको उम्मेदवारी छ । उक्त क्षेत्रको प्रदेश (क) मा दुई र प्रदेश (ख)मा सातजना उम्मेदवार छन् ।
पूर्वी नवलपरासीमा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी कूल ६८ जनाको उम्मेदवारी छ । नवलपुरमा गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा कांग्रेसका डा शशाङ्क कोइराला र एमालेबाट कृष्ण पौडेल उम्मेदवार रहेका छन् । त्यस्तै क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ गठबन्धनबाट कांग्रेसका विष्णुकुमार कार्की र एमालेका तिलकबहादुर महत उम्मेदवार छन् ।
म्याग्दीमा १९ जना चुनावी मैदानमा रहेकोमा प्रतिनिधि सभामा तीन स्वतन्त्रसहित नौजना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा ५/५ जना उम्मेदवारी रहेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेका हरिकृष्ण श्रेष्ठ र गठबन्धनबाट कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) उम्मेदवारका रूपमा रहेका छन् ।
तनहुँमा प्रतिनिधिसभा तथा प्रदेश सभामा कूल ५७ जनाबीच प्रतिस्पर्धा हुनेमाक्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ । उक्त प्रदेशको प्रदेशसभा(क) का लागि ११ जना र प्रदेशसभा (ख) का लागि सात जनाको उम्मेदवारी परेको छ । तनहुँ २ को प्रतिनिधिसभा सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ । उक्त क्षेत्रको प्रदेशसभा (क) का लागि आठ र प्रदेशसभा (ख) का लागि ६ जनाको उम्मेदवारी छन् ।
तनहुँ १ को प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल, नेकपा (एमाले) का एकबहादुर राना, जनता समाजवादी पार्टीका पासाङ थापा मगरलगायत छन् । तनहुँ २ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट कांग्रेसका शङ्कर भण्डारी, एमालेका किरण गुरुङलगायत प्रतिस्पर्धामा छन्।
मनाङमा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका टेकबहादुर गुरुङ र एमालेबाट पाल्तेन छोपाङ गुरुङ उम्मेदवार छन्। पर्वतमा प्रतिनिधिसभाको सदस्यका लागि १५ जनामध्ये गठबन्धनका तर्फबाट कांग्रेसका अर्जुनप्रसाद जोशी र एमालेका तर्फबाट पदम गिरी उम्मेदवार छन् । प्रदेशसभातर्फ प्रदेश (क) मा नौजना र प्रदेशसभा (ख) मा भने सातजना उम्मेदवारका बीचमा प्रतिस्पर्धा हुँदैछ ।
लमजुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य गरी कूल २२ जनामध्ये प्रतिनिधिसभाका लागि एक स्वतन्त्र उम्मेदवारसहित ११ जना, प्रदेश (क) मा पाँच र प्रदेश (ख) मा छजना उम्मेदवार गरी २२ जनाको उम्मेदवारी छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका देवप्रसाद गुरुङ, एमालेका पृथ्वी सुब्बा गुरुङ, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङलगायत चुनावी प्रतिस्पर्धामा छन् ।
स्याङजामा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि ५१ जना चुनावी प्रतिस्पर्धामा रहेकामा क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ गठबन्धनका तर्फबाट कांग्रेसका राजु थापा, एमालेका नारायणप्रसाद मरासिनीलगायत छन् । उक्त क्षेत्रको प्रदेश (क) मा सातजना चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै प्रदेश (ख) मा पाँचजना चुनावी प्रतिस्पर्धामा छन् ।
क्षेत्र नं २ को प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट कांग्रेसका धनराज गुरुङ र एमालेका पद्माकुमारी अर्याल लगायतको उम्मेदवारी छन् । मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी कूल नौजनाको प्रतिस्पर्धा छ । प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट कांग्रेसका योगेश गौचन थकाली छन् भने एमालेका प्रेमप्रसाद तुलाचन उम्मेदवार छन् ।
गोरखामा प्रतिनिधिसभा तथा प्रदेशसभामा ४९ जना चुनावी मैदानमा रहेकोमा क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट काँग्रेसका राजेन्द्र बजगाईं, एमालेका रामशरण बस्नेतलगायतको उम्मेदवारी छन् भने गोरखा २ मा गठबन्धनका तर्फबाट माओवादीका पुष्पकमल दाहाल (प्रचण्ड), एमालेबाट अब्दुस सलाम मिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कविन्द्र बुर्लाकोटीलगायत छन् ।
प्रदेशमा स्थानीयदेखि राष्ट्रियस्तरका मुद्दा यतिखेर चुनावी प्रतिवद्धताका रुपमा व्यक्त भएका छन् । कास्कीको क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरदत्त बराल देशलाई सबैभन्दा माथि राखेर देश र जनताको सेवा गर्नका लागि आफ्नो उम्मेद्वारी भएको बताउछन् । गठबन्धन देशको आवश्यकता भएको बताउँदै उनले यो केबल निर्वाचन जित्नका लागि र कसैलाई सत्तामा पुर्याउनका लागि उपलब्धिको रक्षा र देशको समृद्धि र विकासका लागि भएको बताए। कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराई समाजका सबै वर्ग र समुदायका व्यक्तिलाई समृद्धि र विकासको समान पहुँचमा पुर्याउनु अहिलेको आवश्यकता भएको बताइन् ।
गण्डकी प्रदेशकामा चुनाव लक्षित प्रतिवद्धताहरू व्यक्त हुँदा कालीगण्डकी डाइभर्सनको विषय पनि यतिखेर चर्चामा छ । नवलपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य डा.शशांक कोइरालाले त्रिवेणी–देवघाट हुँदै मुक्तिनाथ जोड्ने कालीगण्डकी नदी धार्मिक, सांस्कृतिक, आर्थिक र पर्यावरणीय हिसाबले नदी क्षेत्रका बासिन्दाको प्राण भएको भन्दै कोइरालाले प्रभावित क्षेत्रको जीवनसँग यसको अस्तित्व जोडिएका हुँदा कालीगण्डकी डाइभर्सन अगाडि बढ्न नहुने बताएका छन् ।
प्रतिनिधिसभाको निर्वाचनका लागि एमाले उपाध्यक्ष विष्णु पौडेलले आफ्नो घोषणापत्रमा कालीगण्डकी तिनाउ डाइभर्सन योजना अगाडि बढाउने उल्लेख गरेपछि कालीगण्डकी प्रभावित जिल्ला पूर्वी नवलपरासी, पाल्पा, स्याङ्जा तनहुँलगायतका जिल्लामा विरोध सुरु भएको अवस्थामा कोइरालाले आफ्ना चुनावी कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
विभिन्न क्षेत्रमा दलका शीर्षनेताहरूसमेत चुनावी प्रतिष्पर्धामा रहेका कारण गण्डकीको चुनावलाई अर्थपूर्ण रुपमा हेरिएको छ । माओवादीका पुष्पकमल दहाल, देवप्रसाद गुरुङ, कांग्रेसका रामचन्द्र पौडेल, एमालेका पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलगायतका शीर्षनेतासमेत उम्मेदवार भएको यहाँको चुनावको परिणाम कस्तो आउने हो त्यो यतिखेर चासो र चर्चामा छ ।
प्रतिक्रिया दिनुहोस्