काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले माग गरेजति तरलता सहजै उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधिको दोस्रो संशोधन गर्दै सो व्यवस्था गर्ने भएको हो ।
संशोधित कार्यविधिको मस्यौदा तयारी गरी सरोकारवालाहरुलाई आवश्यक सुझाव समेत माग गरिएको छ । सो मस्यौस्दा अनुसार राष्ट्र बैंकले दैनिक तरलता सुविधाको सीमा, त्यसको भुक्तानी सम्बन्धी व्यवस्था र ओभरनाइट सुविधामा गरिने ब्याज गणना विधिमा पनि हेरफेर गर्न लागेको हो।
हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले वैधानिक तरलता अनुपात (एसएलआर)बाट अनिवार्य नगद मौज्दात (सीआरआर) घटाएपछि कायम हुने रकमको २५ प्रतिशतसम्म दैनिक तरलता सुविधा पाउने व्यवस्था थियो । जुन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षणपत्र धितोको आधारमा उपलब्ध गराइरहेको छ ।
राष्ट्र बैंक दैनिक तरलता सुविधासम्बन्धी कार्यविधिको दोस्रो संशोधन गर्दे बैंक तथा वित्तीय संस्थाहरूले विगत कारोबारहरूको विश्लेषणका आधारमा आफ्नो दैनिक तरलता आवश्यकता अनुमान गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । सोही आधारमा आधारमा धितो व्यवस्थापन खाताको सीमा निर्धारणका लागि अनुरोध गर्नुपर्ने संशोधित कार्यविधिको मस्यौदामा उल्लेख छ ।
यस्तै, मस्यौदाअनुसार दैनिक तथा ‘ओभरनाइट’ तरलता सुविधा लिन चाहने बैंक तथा वित्तीय संस्था अनिवार्य रुपमा आरटिजिएस ९रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम० प्रणालीमा आबद्ध भएको हुनुपर्नेछ । आरटिजिएस प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम तीन महिना अवधिका लागि दैनिक तरलता अनुपात सुविधा सीमा लिनसक्ने गरी नयाँ व्यवस्था गर्न लागिएको छ । दैनिक तरलता सुविधाबापत धितो राखिएका सुरक्षणपत्र त्रैमासिक रुपमा परिवर्तन वा थपघट गर्न सकिनेछ र सोही अनुसार यस्तो सुविधाको नयाँ सीमा कायम हुनेछ । धितो सुरक्षणका रुपमा ट्रेजरी बिल्स, विकास ऋणपत्रलगायत सरकारी ऋणपत्र र नेपाल राष्ट्र बैंकद्वारा निर्धारित अन्य सुरक्षण रहनेछन् । यसरी धितो राखिएको सुरक्षणपत्रको अधिकतम ९० प्रतिशतसम्म दैनिक तरलता सुविधा पाइन्छ ।
मस्यौदामा भएको व्यवस्था यथावत् कार्यान्वयनमा आएमा बैंक तथा वित्तीय संस्थाहरुले ‘ओभरनाइट’ तरलता सुविधा उपयोग गरे बराबरको रकम बैंकको वैधानिक तरलता अनुपात ९एसएलआर० र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न पाउने छैनन् । त्यस्तै, दैनिक तरलता सुविधाबापत धितो रहेका सुरक्षणहरु खुला बजार कारोबार, अन्तर बैंक सापटीलगायत अन्य कुनै पनि प्रयोजनमा दोहोरो धितोका रुपमा प्रयोग गर्न वा बिक्री गर्न नपाइने व्यवस्था गर्न लागिएको छ ।
कार्यविधिमार्फत दैनिक तरलता सुविधाको सीमा, त्यसको भुक्तानी सम्बन्धी व्यवस्था र ओभरनाइट सुविधामा गरिने ब्याज गणना विधिमा पनि हेरफेर गर्न लागिएको छ । यो सुविधा लिनका लागि बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकलाई आग्रह गर्नुपर्नेछ । “आरटिजिएस प्रणालीमा सहभागी संस्थाले विगत कारोबारको विश्लेषणका आधारमा आफ्नो दैनिक तरलता आवश्यकता अनुमान गरी सोही बमोजिम धितो व्यवस्थापन खाताको सीमा निर्धारणका लागि अनुरोध गर्न सक्नेछन्”, कार्यविधिको मस्यौदामा भनिएको छ ।
धितो व्यवस्थापन खाताबाट उपयोग गरी तोकिएको समयसीमाभित्र फिर्ता भुक्तानी नभएका रकम (सुविधा रकम र सो अवधिसम्मको हर्जाना ब्याज रकमसमेत) सम्बन्धित संस्थाले पाँच दिनभित्र फरफारक गर्नुपर्नेछ । नगरेमा बैंकमा धितोका रुपमा राखिएको सुरक्षणपत्र राष्ट्र बैंकले सकार्न सक्नेछ ।
दैनिक तरलता सुविधाको सीमा वृद्धि गर्नु परेमा थप सुरक्षणपत्रको सक्कलै प्रति (ब्याज भुक्तानी पुर्जा संलग्न भएका सुरक्षणपत्रको हकमा सो समेत) मौद्रिक व्यवस्थापन विभागमा पेश गर्नु पर्नेछ र सोहीबमोजिम पुनः नयाँ सीमा कायम गरिने छ । दैनिक तरलता सुविधा सम्झौताअन्तर्गत धितो राखिएका सुरक्षणपत्रको संस्थाले समेत छुट्टै अभिलेख राख्नु पर्नेछ । मौद्रिक व्यवस्थापन विभागले आवश्यकताअनुसार त्यस्तो अभिलेख निरीक्षण गर्न सक्नेछ ।
बैंक तथा वित्तीय संस्थाले आफ्नो खातामा रहेको भन्दा बढी रकमको कारोबार गरेमा त्यस्तो कारोबारका लागि नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा उपलब्ध गराउँछ । यो बैंक तथा वित्तीय संस्थाहरुको कारोबार फछ्र्यौट प्रक्रियालाई थप सहज बनाउन वास्तविक समयमा उपलब्ध गराइने सुविधा हो । अर्थात् बैंक–वित्तीय संस्थाको मौज्दात अपुग भई तत्काल भुक्तानी गर्न नसक्ने अवस्थामा राष्ट्र बैंकले त्यस्तो रकम उपलब्ध गराउँछ ।
दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि २०७६ संशोधनको तयारी गर्दै सार्वजनिक मस्यौदामा कात्तिक २५ गतेसम्ममा सुझाव दिइसक्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था भनेको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा मात्र बैंक तथा वित्तीय संस्थाका लागि १७ खर्ब ८० अर्ब २ करोड रूपैयाँ तरलता प्रसोचन गरेको छ । जसमध्ये रिपोमार्फत १ खर्ब ११ अर्ब ५७ करोडर रूपैयाँ, सोझै खरिद बोलकबोलमार्फत १४ अर्ब ८५ करोड रूपैयाँ र स्थायी तरलता सुविधामार्फत १६ खर्ब ५३ अर्ब ६० करोड रूपैयाँ तरलता प्रवाह भएको छ ।
प्रतिक्रिया दिनुहोस्