काठमाडौं । नेपाल धितोपत्र बोर्डमा १३ अर्ब ५० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोष (म्युचुअल फण्ड) पाइपलाइनमा छन् । विभिन्न कम्पनीले लगानीकर्तालाई दोब्बर प्रतिफल दिने योजना सहित गत वर्षदेखि नै १ अर्ब ३५ करोड इकाई म्युचुअल फण्ड बजारमा ल्याउन स्वीकृति माग्दै बोर्डको पाइपलाइनमा बसेका हुन् ।
दोस्रो बजारमा जोखिम लिन नचाहने लगानीकर्ताको म्युचुअल फण्डको लगानी सुरक्षित मानिन्छ । पछिल्लो समय सेयर बजार घट्दो क्रममा रहेको हुँदा लगानीकर्ता जोखिम लिएर दोस्रो बजारमा सेयर कारोबार गर्नु भन्दा म्युचुअल फण्डको लगानीलाई सुरक्षित मान्दै लगानीको अवसर खोजिरहेका छन् । यस्तो अवसर खोज्ने लगानीकर्ताको लागि केही समयमै अर्बौ रुपैयाँ बराबरको म्युचुअल फण्ड १२ वटा कम्पनीहरुले बजारमा ल्याउने तयारी गरेका हुन् ।
पुँजी बजारको विविद् मौद्रिक उपकरण मध्ये म्युचुअल फण्ड पनि एक हो । धेरै व्यक्तिगत वा संस्थागत रुपमा लगानीकर्ताबाट रकम संकलन गरी कुनै एक क्षेत्रमा एकमुष्ट लगानी गर्ने कोषलाई सामुहिक लगानीकोष अर्थात् म्युचुअल फण्ड भनिन्छ । यस्तो कोष प्रायजसो वाणिज्य बैंकहरुले संचालन गर्छन् भने मर्चेन्ट बैंकरमार्फत् यसको व्यवस्थापन र धितोपत्र बोर्डले नियमन गर्छ ।
म्युचुअल फण्डको म्याचुरिटीपछि लगानीकर्ताले प्रतिफल सहित आफ्नो लगानी फिर्ता पाउँछन् । न्यूनतम १ हजार रुपैयाँदेखि लगानी गर्न सकिने यस्तो कोषमा खुलामुखी र बन्दमुखी गरी २ प्रकारको हुन्छ ।
पछिल्लो समय बजार लक्ष्मी भ्यालु फण्ड, एनएमबी हाब्रिट फण्ड, आरबिबि म्युचुअल फण्ड, सिदार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३, प्रभु स्मार्ट फण्ड, कुमारी सुनौलो लगानी योजना, कुमारी सबल योजना, सिटिजन सुपर ३० म्युचुअल फण्ड, सनराईज फोकस्ड इक्विटी फण्ड, एनआईबीएल ग्रोथ फण्ड, एनआईसी एशीया ग्रोथ फण्ड–२ र मेगा म्युचुअल फण्ड–२ सञ्चालनमा आउने तयारीमा बोर्डको स्वीकृतिको प्रतिक्षमा पाइपलाइनमा छन् ।
बोर्डको पाइपलाइनमा रहेको योजनाहरु मध्ये सर्वाधिक इकाई निष्काशन गर्नका लागि तयारीमा ‘एनआईसी एशिया ग्रोथ फण्ड–२’ रहेको छ । यस फण्डले २ अर्ब रुपैयाँ बराबरको २० करोड इकाई निष्काशन गर्नका लागि बोर्डमा गत वर्ष कार्तिक १४ गते आवेदन दिएको हो । यस फण्डको योजना व्यवस्थापक एनआईसी एशीया क्यापिटल रहेको छ ।
त्यस्तै, बोर्डको पाइपलाइनमा रहेको दोस्रो ठुलो कोष आकार भएको म्युचुअल फण्ड ‘एनआइबीएल ग्रोथ फण्ड’ हो । एनआईबीएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबीएल ग्रोथ फण्ड सञ्चालनमा आउनका लागि बोर्डको पाइपलाइनमा रहेको छ । यस फण्डले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । फण्डले इकाई निष्काशन गर्नका लागि अनुमति माग्दै बोर्डमा गत वर्ष असोज १३ गते आवेदन दिएको हो । फण्डले बोर्डबाट स्वीकृति पाएपछि अंकित मूल्य १० रुपैयाँका दरले इकाई निष्काशन गर्नेछ ।
यस्तै, एनएमबी क्यापिटल योजना व्यवस्थापन रहेको ‘एनएमबी हाब्रिट फण्ड–२’ रहेको छ । यस फण्डले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाईको सामूहिक लगानी कोष निष्काशन गर्न लागेको हो ।
यस्तै, सिद्धार्थ क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई ‘सिद्धार्थ इन्भेष्टमेण्ड ग्रोथ स्किम–३’, प्रभु क्यापिटलले ८० करोड रुपैयाँ बराबरको ‘प्रभु स्मार्ट फण्ड’, कुमारी क्यापिटलले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई ‘कुमारी सुनौलो योजना’, सिबिआईएल क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको १ करोड इकाई ‘सिटिजन सुपर ३० म्युचुअल फण्ड’ बजारमा ल्याउनको लागि बोर्डको स्वीकृतिको पाइपलाईनमा छ ।
साथै, सनराईज क्यापिटलले १ अर्ब २० करोड रुपैयाा बराबरको १२ करोड इकाई ‘सनराईज फोकस्ड इक्विटी फण्ड’, मेगा क्यापिटल मार्केटले १ अर्ब रुपैयाँ बराबरको १ करोड इकाई ‘मेगा म्युचुअल फण्ड–२’ र लक्ष्मी क्यापिटल मार्केटले ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई लक्ष्मी भ्यालु फण्ड–२ निष्काशन गर्न लागेको हो ।
बोर्डको स्वीकृतिको प्रतिक्षामा रहेको १२ वटा म्युचुअल फण्डहरु मध्ये २ वटा बन्दमुखी योजना रहेको छ । बन्दमुखी योजनाको कोषको आकार समयअवधि सुरु मै तोकिएको हुन्छ ।
बन्दमुखी योजना अन्तर्गत आरबीबी मर्चेन्ट बैंकिङ्ग योजना व्यवस्थापक रहेको ‘आरबीबी म्युचुअल फण्ड–२’ (क्लोज इन्ड) र कुमारी क्यापिटल योजना व्यावस्थापक रहेको ‘कुमारी सबल योजना’ (क्लोज इन्ड) हुन् ।
आरबीबी म्युचुअल फण्ड २ (क्लोज इन्ड) ले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ र कुमारी सबल योजना (क्लोज इन्ड) १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचुअल फण्ड ल्याउने तयारी गरेका हुन् । यी दुबै बन्दमुखी योजनाले नियमक निकाय धितोपत्र बोर्डबाट स्वीकृत पाएपछि अंकित मूल्य १० रुपैयाँका दरले फण्ड निष्काशन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्