भैरहवा । अर्घाखाँची सिमेन्ट सोमबारदेखि निर्यात सुरु गरेको छ । कम्पनीले भारतको नौतनवा र आनन्दनगरमा १४ हजार बोरा सिमेन्ट निर्यात गरेको हो ।
नेपालको सबैभन्दा ठूलो र स्तरीयमध्येको एक अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादनको औपचारीक निर्यातको थालनी एक कार्यक्रमबीच जानकारी दिएको हो ।
रुपन्देहीको मैनहियास्थित कारखानामा कार्यक्रम आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा १४०० बोरा (७० टन) ‘पोर्टल्यान्ड पोजोलान सिमेन्ट’ (पिपिसी) सिमेन्ट निर्यात गरेको छ ।
कम्पनीका अनुसार भारतको नौतनवा, महाराजगंजस्थित शिभान्स एसोसिएट्सले पहिलोपल्ट अर्घाखाँचीको उत्पादन खरिद गरेको हो । सो अवसरमा अर्घाखाँची सिमेन्टका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले उद्योग सुरु भएदेखि निर्यात गर्ने सपना पूरा भएको बताए । ‘अब मेरो चाहना उद्योगले उत्पादन गर्ने अधिकांश सिमेन्ट भारत निकासी होस् भन्ने हो,’ उनले भने ।
मुरारकाका अनुसार भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायत क्षेत्रमा चुनढुंगा खानी छैन । त्यही बजार ‘क्यास’ गर्न भारत निर्यात थालिएको हो । यस अवसारलाई नेपालका सम्पूर्ण सिमेन्ट उत्पादकहरुले उपभोग गर्नुपर्नेमा पनि उनले जोड दिए । सिमेन्ट निर्यात अझै बढाउन सरकारले भारतबाट कोइला आयात गर्ने वातावरण मिलाइदिनुपर्ने उनको आग्रह छ ।
यसैगरी, कार्यक्रममा अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले भारतीय बजारतर्फको निकासीमा यो पहिलो कदम भएको बताए । ‘सरकारले प्रदान गरेको आठ प्रतिशत अनुदानले यो उपलब्धी सम्भव भएको हो । यसले भारतसँगको व्यापार घाटा कम गर्नमा सहयोग पुग्ने छ,’ सरकारले निर्यातमा अनुदान दिने भएपछि अन्य सेमेन्ट उद्योगीहरु समेत निर्यात गर्न उत्साहित भएको उनको भनाइ छ ।
सरकारले असोज ७ गते निर्यात अनुदान सम्बन्धी कार्यविधि संशोधन गर्दै वार्षिक ५० करोड रुपैयाँ भन्दाबढी निर्यात गर्ने संस्थालाई ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेको छ । ३० प्रतिशत मूल्य वृद्धि गर्दै निर्यात हुने ३६ प्रकारका बस्तुमा ४ प्रतिशत नगद अनुदान दिने गरी सरकारले कार्यविधि संशोधन गरेको छ ।
सिमेन्टमा ७० प्रतिशत भन्दाबढी मूल्य वृद्धि हुने हुँदा नेपालबाट कुनै पनि देशमा सिमेन्ट निर्यात गर्ने संस्थाले ६ प्रतिशतसम्म नगद अनुदान पाउन सक्नेछन् ।
चालु आर्थिक वर्षको बजेटमा व्यापार घाटा कम गर्न नेपालबाट निर्यात हुने सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी लगायतका बस्तुमा सरकारले नगद अनुदान दिने घोषणा गरिएको थियो ।
भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्ट लिमिटेडको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तर सम्बन्धि इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आईएसआई) मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यात हुन थालेको हो ।
कम्पनीले ओपीसी, पीपीसी र क्लिङ्कर निर्यातका लागि आईएसआई मार्क पाइसकेको छ । जसअनुसार कम्पनीले आगामी दिनमा आफ्ना ओपिसी र क्लिंकर उत्पादनलाई पनि छिमेकी मुलुकका बजारमा निर्यात गर्ने योजना लिएको छ ।
प्रतिक्रिया दिनुहोस्