Shikhar Insurance
National Life

आत्मनिर्भर अर्थतन्त्रका लागि होटल क्षेत्रः ‘हामी ५० लाख पर्यटक धान्न सक्ने अवस्थामा छौं’

विनायक शाह
२०७९ आश्विन २७, बिहीबार १३:४२
Hyundai
NCELL
NIMB

नेपालमा व्यावसायिक रुपमा होटल उद्योगको सुरुआत २००७ सालमा प्रजातन्त्र आएपछि भएको हो । त्यसअगाडि काठमाडौं आउने तीर्थयात्रीहरुका लागि धर्मशाला हुन्थे । ती धर्मशाला नै परम्परागत होटल वा बासस्थान थिए ।

सन् १९५१ मा महेश्वर शमशेरले ललितपुरको जावलाखेलमा होटल हिमालय इन बनाएपछि नेपालमा होटलको जग बसेको हो । तर त्यसपछि होटलको व्यावसायिक विकास भने होटल रोयल खुलेपछि भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अहिले निर्वाचन आयोग भएको भवनमा होटल रोयल खुल्यो । त्यो होटलपछि भने नेपालमा होटलको आधुनिक युग सुरु भएको मानिन्छ । आजसम्म आइपुग्दा नेपाली होटल उद्योगले ७० वर्षजति पार गरिसक्यो ।

हाम्रा अधिकांश होटल पर्यटक लक्षित हुन् । होटल एसोसिएसन नेपालको सन् २०१९ तथ्यांकअनुसार नेपालमा तारे होटलको संख्या १ सय ३८ छ । त्यस्तै टुरिस्ट स्टयान्डर्ड होटल १ हजार १ सय ५१ वटा छन् । यी सबै होटलमा करिब ४४ हजार बेडको प्रबन्ध रहेको छ ।

नेपाली पर्यटन उद्योगको एउटा मेरुदण्ड हो होटल क्षेत्र । पर्यटकले आफ्नो अधिकांश समय होटलमा बिताउँछन् । पर्यटकीय मौसमको समेत गरेर जोड्ने हो भने होटल क्षेत्रले वार्षिक करिब ११ लाख मान्छेलाई रोजगारी प्रदान गर्दै आएको छ । कोरोना महामारीकै बीच (२०७६/०७७)मा पर्यटन क्षेत्रले स्थायी रुपमा ७२ हजार मानिसलाई रोजगारी दिएको नेपाल सकारको आर्थिक सर्वेक्षण ०७६/०७७ ले देखाउँछ । ०७७/०७८ मा आइपुग्दा यो संख्या बढेको छ ।

विदेशी मुद्रा आर्जनको ठूलो स्रोत हो पर्यटन तथा होटल क्षेत्र । कोरोनापछि पर्यटन र होटल क्षेत्र शून्यको अवस्थामा झ¥यो । पर्यटन बोर्डले गरेको अध्ययनअनुसार कोरोना महामारी सुरु भएसँगै होटल क्षेत्रले ८१ अर्ब १० करोड रुपैयाँ नोक्सान सहनुपर्यो ।

सरकारले पर्यटनलाई कोरोनाबाट अति प्रभावित क्षेत्र घोषणा समेत गरेको थियो । सरकारले घोषणा मात्र ग¥यो, तर होटल क्षेत्रका लागि केही काम गरेन ।
यो संकटबाट मुक्ति पाउन हामीले विदेशी पर्यटकलाई नेपालमा २० प्रतिशत छुट दिने योजना सरकारलाई प्रस्ताव ग¥यौं । हामीले विदेशी पर्यटकलाई नेपालको आन्तरिक उडानमा छुट दिन पनि आग्रह गरेका थियौं ।

आर्थिक वर्ष २०७८/७९ सार्क मुलुकबाट नेपाल आउने पर्यटकलाई सरकारले भिसा निःशुल्क गर्ने निर्णय गरेको थियो । तर यो योजना लागु हन सकेन । आन्तरिक पर्यटन विस्तार गर्न निजामती कर्मचारीलाई १० दिनको भ्रमण भत्तासहितको बिदा दिने घोषणा गरिएको थियो ।

तर यी योजना कार्यान्वयनमा सरकारले जोड दिएन । हामीले एकोहोरो जोड दिएर मात्र हुँदैन । यी योजना तदारुकताका साथ कार्यान्वयन गरिनुपर्ने थियो । किनभने, संसारभर कोरोनाले आर्थिक गतिविधि कमजोर बनाएको छ । यस्तो अवस्थामा हरेक देशले पर्यटक आकर्षित गर्न विभिन्न योजना ल्याइरहेका छन् । तर हामीले ल्याएका योजना कार्यान्वयन नै हुन सकेन । हाम्रा होटलको भवन नेपालमा भए पनि ग्राहक भने विदेशी हुन् । हामीले हाम्रो सेवा र कार्याशैली पनि अन्तरराष्ट्रिय स्तरकै बनाउनुपर्ने बाध्यता हुन्छ । तर सरकारी योजनाहरुले गर्दा यसमा असर पर्न गएको छ ।

नेपाली होटलहरुले पर्यटकलाई उच्च स्तरीय सेवा दिएका छन् । त्यसैले त नेपाल आउने पर्यटकमध्ये ६० प्रतिशत दोहोर्याएर आउने गर्छन् । अहिले चीनबाट पर्यटक आएका छैनन् । चीन सरकारले आफ्ना नागरिकलाई बाहिर जान अझै प्रतिबन्ध लगाएको छ । चिनियाँ पर्यटक नेपाल आउनेबित्तिकै होटल र पर्यटन क्षेत्र उकासिन्छ । चिनियाँ पर्यटक पर्खेर बस्नुभन्दा पहिला हामीले अन्य देशका पर्यटकलाई पनि नेपाल ल्याउने कोसिस भने गर्नुपर्छ ।

अहिले विदेशीहरु नेपालमा के प्याकेज छ भनेर सोध्ने गर्छन् । त त्यसको हामीसँग जवाफ छैन । जहाँबाट पर्यटक आउँथे त्यहाँ पनि आर्थिक गतिविधि कमजोर छ । त्यसैले घुम्न निस्किरहेका थोरै मान्छेलाई आफूतिर आकर्षित गर्ने खिचातानी चलेको छ ।

२०७९ को सुरुआतदेखि होटलको बुकिङ र अकुपेन्सी रेट २५ प्रतिशत पुगेको छ । ७५ प्रतिशत त अझै खाली नै छ । कोरोना महामारीबाट उकासिँदै गरेका हामीलाई सरकारले प्राथमिकतामा राखेन । हामीलाई सेवा क्षेत्रमा राखियो । हाम्रो माग त हामीलाई उद्योग क्षेत्रमा राखियोस् भन्ने हो ।

अहिले होटल अकुपेन्सी बढ्नुको मुख्य कारण भनेको आन्तरिक पर्यटकको बढ्दो लहर हो । भारतीय पर्यटकको संख्या पनि बढेको छ । भारतीय पर्यटकहरु सडक मार्गबाट आउने धेरै छन् । हाम्रा सडकको अवस्था ठीक छैन, त्यसैले सडक मार्गबाट आउने पर्यटकलाई सास्ती हुन्छ । यस्तो सास्ती भोग्न पर्यटक किन नेपाल आउने ?

युरोप, अमेरिका र अस्ट्रेलियका पर्यटकले प्रि–बुकिङ गरिरहेका छन् । आशा गरौं युरोपबाट पर्यटक आउनेछन् । बुकिङ सफल बनाउन हामीले प्याकेज दिन सक्नुपर्छ, अनि मात्र सफल भइन्छ । अहिले पनि सरकारले पर्यटन क्षेत्रका लागि भनेर ७३ वटा कार्यक्रम बताएको छ । तर कार्यान्वयनमा एउटा पनि गएको छैन ।

सरकारले रात्रिकालीन सम्पदा यात्रा गराउने घोषणा गरेको थियो । तर अहिलेसम्म त्यसका लागि केही तयारी, छलफल गरेका छैन । सरकारसँग नीति, योजना सबै छन् । हामीलाई आवश्यक हुने सबै नीति, कार्यक्रम छन् । तर तिनको यथोचित कार्यान्वयन भने छैन । सरकारले नीति, कार्यक्रम बनाइसकेपछि तिनलाई लागु गर्ने मामिलामा हामीलाई पनि समावेश गर्नुपर्यो । हामी कार्यान्वयन गराउने चरणबाट बाहिर पारिन्छौं, हामीले कार्यान्वयन नगराए पनि हामीसँग परमार्श सरकारले लिन सक्छ ।

काठमाडौंका होटललाई अहिले बैंकको ऋणको समस्या छैन । तर उपत्यका बाहिरका होटललाई भने बैंक ऋणले सताएको छ । सरकारले थोरै समयका लागि सहुलियत दिए पनि उपत्यका बाहिरका होटलका लागि त्यो समय पर्याप्त भएन । सरकारले तत्काल केही कदम चालेन भने यो समस्याले थुप्रै व्यवसायी मारमा पर्ने छन् ।

कोरोनाकालको शून्य अवस्थाबाट हामी २५ प्रतिशत अकुपेन्सीमा आइपुगी सक्यौं । तर अझै धेरै समस्या छन्, जसको समाधान हाम्रो हातमा छैन । जस्तोः हवाई यातायातको समस्या । सडक पूर्वाधारको समस्या । उपत्यकामा बल्झिरहने फोहोरको समस्या । यी समस्याले गर्दा पर्यटक नेपाल आउन मन गर्दैनन् । तर यी समस्याको समाधान हाम्रो हातमै छ ।

हामीसँग अहिले १८ वटा पाँचतारे होटल अप्रेसनमा छन् । यी सबै होटल बजारको डिमान्ड भएर नै त खोलिएका हुन् । पाँचतारे होटलमा अर्बौं रुपैयाँ लगानी लाग्छ । बजारमा डिमान्ड भयो भने पाँचतारे होटलको संख्या अझै बढ्न सक्छ । सामान्य समयमा २० करोड चिनियाँ, १० करोड भारतीय नागरिक घुम्न निस्किन्छन् । नेपालमा बाटो–घाटो, विमानस्थल र सरकारी सेवाहरु व्यवस्थित बनाउने हो भने हामीले वर्षको ५० लाख पर्यटक धान्न सक्छौं । २०१९ मा हामीकहाँ १२ लाख पर्यटक आएका हुन् । अब भने हामी ५० लाख पर्यटक धान्न सक्ने अवस्थामा छौं ।

भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल बनिसक्यो । विमानस्थल बनेर मात्र भएन, त्यहाँ अहिलेसम्म एउटा मात्र अन्तरराष्ट्रिय उडान भइरहेको छ । उडान बढ्ने भएपछि व्यवसायी पनि त्यसको वरिपरि गएर लगानी गर्थे होला । अहिले सरकारले विदेशी मदिरा आयात रोकेको छ । नेपाल आउने अधिकांश भारतीय पर्यटकले स्कच रक्सी खोज्छन् । आयातमा १ डलर खर्च गरेको भए पनि हामी भने त्यसलाई यहाँ तीन डलर बनाउँथ्यौं ।

मदिरा आयात रोकिए पनि नेपाल त आइरहेकै छ रक्सी । खुला सिमानाका कारण अवैध रुपमा आइरहेको छ । यसले सरकारको राजस्व गुमिरहेको छ । यता अब नक्कली रक्सीसमेत बनाउन थालिसके । यसले दोहोरो घाटा भइरहेको छ । एकातिर सरकारी राजस्व गुमिरहेको छ भने अर्कोतिर हामी पर्यटन व्यवसायीले पर्यटकको माग पूरा गर्न सकिरहेका छैनौं ।

पर्यटन उद्योग पर्यटकको सन्तुष्टिमा निर्भर रहने कार्य हो । त्यसैले पर्यटकलाई सन्तुष्ट गराउन होटलको मात्र होइन राज्यका सबै निकायको कहीँ न कहीँ भूमिका हुन्छ । सबैले आ–आफ्नो भूमिका निर्वाह गरेमा हामी अहिलेको अवस्थाबाट निश्चय नै माथि उक्लन सक्छौं ।

(होटल एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहको यो विचार नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को बार्षिक जर्नल ‘अर्थचित्र’बाट साभार गरिएको हो ।)

GBIME

प्रतिक्रिया दिनुहोस्