काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहजीकरणको लागि नेपाल राष्ट्र बैंकले बजारमा ३० अर्ब रुपैयाँ पठाउने भएको छ । केन्द्रीय बैंकले बोलकबोलमार्फत् असोज २७ गते रिपो जारी गरी कात्तिक ३ गते परिपक्क हुने गरी ७ दिनको लागि बजारमा तरलता प्रवाह गर्न लागेको हो ।
बजारमा तरलता व्यवस्थापन गर्न केन्द्रीय बैकले मौद्रिक उपकरण प्रयोग गर्ने गरेको छ । जसमा तरलता अभाव हुँदा रिपोमार्फत् बजारमा तरलता प्रवाह गर्ने र अधिक तरलता हुँदा रिभर्स रिपोमार्फत् बैंकिङ प्रणालीबाट पैसा खिच्ने गरेको छ ।
अहिले बैंकिङ प्रणालीमा पैसा आउनेभन्दा जाने क्रम बढ्दा तरलता अभाव बढ्दो छ । गत सातामात्रै वाणिज्य बैंकहरुबाट ८ अर्ब रुपैयाँ निक्षेप बाहिरीएको थियो ।
तरलता व्यवस्थापनमा मौद्रिक उपकरण प्रयोग गर्दै यसअघि पनि रिपोमार्फत् ३० अर्ब रुपैयाँ बजारमा तरलता पठाएको थियो ।
पछिल्लो पटक अर्थात् असोज २७ गते जारी रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले सोही दिनको ३ बजेसम्म अनलाईन बिडिङ गरिसक्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्