काठमाडौं । वर्ष २०७९ सालको दशैँ लक्षित ५७ अर्ब रुपैयाँ नयाँ नोट सटही भएको छ । नेपाल राष्ट्र बैंकले यस पालीको दशैँ लक्षित गरी गत भदौ २९ गतेदेखि असोज १४ गतेसम्म नयाँ नोट सटही सुविधा दिएको थियो ।
यसबीचमा राष्ट्र बबैंकले बैंक तथा वित्तीय संस्थालाई ५ करोड रुपैयाँसम्म र सर्वसाधारणलाई एक पटकमा १८ हजार ५ सय रुपैयाँ साना तथा ठुला दरका गरी ५७ अर्ब रुपैयाँ नयाँ नोट सटही गरेको थियो । जुन अहिले दैनिक रुपमा १५ करोड रुपैयाँको हाराहारीमा राष्ट्र बैंकको बैंकिङ विभागमा फर्किरहेको छ ।
हिन्दु धर्मावलम्बीले दशैँमा मान्यजनबाट टीका लगाएर दक्षिणामा नयाँ नोट नै प्रचलन छ भने तिहार, छटपर्व वा अन्य चार्डपर्वमा समेत दक्षिणाको रुपमा होसु या पुजाआजामा भेटी चडाउँदा नयाँ नोटकै प्रयोग गर्छन् ।
सोही कारणले गर्दा हरेक वर्ष राष्ट्र बैंकले दशैँ तिहार तथा छट पर्व लक्षित गरेर सर्वसाधारणहरुमा नयाँ नोट सटही सुविधा दिने गरेको छ । यस पटकको दशैँमा सानादरका १६ अर्ब रुपैयाँ र ठुलादरका नयाँ नोट ४१ अर्ब रुपैयाँ गरी ५७ अर्ब रुपैयाँ सटही भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती प्रसाद नेपालले सिंहदरबारलाई जानकारी दिए ।
नयाँ नोट सटहीले गर्दा बजारमा चलनचल्तीको नोट समेत बढेको छ । दशैँको लागि नयाँ नोट सटही सुरु हुनुअघिसम्म ६ खर्ब ७ अर्ब रुपैयाँ रहेको थियो भने हाल बजारमा ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेका छन् ।
दशैँ सकिएसँगै सटही भएका नोट फिर्ता आउन थालेका छन् । सर्वसाधारणसँग भएका नोट बैंक तथा वित्तीय संस्थामार्फत राष्ट्र बैंकको बैंकिङ विभागमा फिर्ता हुन्छ । जसमध्ये राष्ट्र बैंकले पुन बजारमा चलनचल्तीमा पठाउन मिल्ने नमिल्ने छनौट गरी झुत्रा र पुनः चलनचल्तीमा पठाउन नमिल्ने नोटलाई जलाउने गरेको छ ।
दशैँ अघिसम्म राष्ट्र बैंकको बैंकिङ विभागमा दैनिक रुपमा ८/९ करोड रुपैयाँको हाराहारीमा नोट फिर्ता आइरहेको थियो । भने दशैँको बिदा सकिएर बैंक तथा वित्तीय संस्था पुनः संचालन भएसँगै फिर्ता आउने नोटको परिमाण बढेको छ । असोज २३ गते आइतबारयता दैनिक रुपमा १५ करोड रुपैयाँको हाराहारीमा बजारबाट नोट फिर्ता आइरहेको छ ।
फिर्ता आएका नोटबाट पुन चलनचल्तीमा पठाउन मिल्ने नमिल्ने छनौट हुन भने बाँकी रहेको छ । चाडपर्वको समयमा सटही भएका ४० प्रतिशत नयाँ नोट फोहोर भएर चलन चल्तीमा ल्याउन नमिल्ने भएर राष्ट्र बैंक फर्किने गरेको छ । यस्ता नोटलाई राष्ट्र बैंकले यसअघिसम्म जलाएर नष्ट गर्ने गरेको थियो ।
राष्ट्र बैंकले गत आर्थिक वर्षमा ४४ अर्ब रुपैयाँ पुराना पुनः चलनचल्तीमा ल्याउन नमिल्ने नोट जलाइसकेको छ । तर, पछिल्लो पटक भने नोट स्रेडिब एन्ड ब्रिकेटिब सिस्टम (बीएसबीएस) अर्थात मेसिनमार्फत टुक्राएर बिक्रेट बनाउन शुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्