बाँके । दशैंमा बिक्री गर्न तयार पारिएका खसी बिक्री नहुँदा बाँकेका किसान महिला निराश भएका छन् । यो वर्षको दशैं र तिहारलाई लक्षित गरी बाँकेका किसान महिलाले १ हजार ७ सय खसी बिक्री गर्ने लक्ष्य रहेकोमा हालसम्म जम्मा ५ सय मात्र खसी बिक्री भएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेकी अध्यक्ष वसन्ती सुनारले जानकारी दिइन् ।
उनका अनुसार, यो वर्षको दशैंमा खसीको माग कम भएका कारण बिक्री नहुँदा ग्रामीण क्षेत्रका किसान महिला निराश भएका छन् । बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायत गाउँमा महिलाले उत्पादन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौंलगायत बाहिरी जिल्लामा बिक्री वितरणहुँदै आएको छ ।
विगतमा काठमाडौंका व्यापारीसँग मिलेर खसी काठमाडौं पठाउने गरिए पनि अहिले त्यो गर्न नसकिएका कारण खसी बिक्री कम भएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घका व्यवस्थापक नवीन साहुले जानकारी दिए । व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको साहुको भनाइ छ । महिलाले वर्षमा अहिले १० देखि १२ वटासम्म खसी बिक्री गर्न थालेको उनले जानकारी दिए ।
पहिले फाट्टफुट्ट खसीबोका बिक्री गर्ने महिला अहिले थोकमा बिक्री गर्न थालेका छन् । गाउँमा समूहमा आवद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी जिल्ला सङ्घले गर्दै आएको छ । सङ्घमा १७ सामाजिक उद्यमी महिला सहकारी संस्था आवद्ध रहेका छन् । यी सहकारी संस्थामा बाँकेमा मात्रै करिब १४ हजार महिला आवद्ध रहेको महिलाको क्षेत्रमा काम गर्दै आएको महिला उपकार मञ्चकी पूर्व अध्यक्ष बिजुला अधिकारीले बताइन् ।
प्रतिक्रिया दिनुहोस्