कृषिमा प्रविधि प्रयोगको अवस्था
नेपालमा पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागत रुपमा गोरु र राँगाहरूले जोत्ने ठाउँमा ट्र्याक्टर, मिनिटिलर, पावर टिलरको प्रयोग गर्न थालिएको छ । गोरु र राँगा, हलो–जुवा क्रमिक रुपमा विस्थापित हँुदै गएका छन् । बाली कट्न र पिस्न पनि प्रविधिको प्रयोग बढ्दो छ । काट्नलाई रिपर, बस कटर, कम्बाइन हार्भेस्टरलगायतका उपकरणको प्रयोग बढ्दो छ ।
दीर्घकालीन रुपमा लागतमा कमी, समयको बचत, कृषि जनशक्ति अभावको उपयुक्त विकल्प भएका कारण कृषिमा आधुनिक मेसिनरी तथा उपकरणहरूको उपयोग बढिरहेको हो । थोपा सिँचाइ, आईओटीमा आधारित ग्रिनहाउस, आईसीटी, ड्रोनलगायत नयाँनयाँ बिउबिजन, रोग–कीरा नियन्त्रण सम्बन्धी प्रविधिको प्रयोग पनि बढ्दै गएको छ । यी प्रविधिहरू परम्परागत रुपमा नेपालमै विकास गरिएका विभिन्न प्रकारका यन्त्र–उपकरण तथा बाली व्यवस्थापनसँग सम्बन्धित छन् । यद्यपि, यसको प्रयोग ज्यादै न्यून रुपमा भइरहेको छ ।
व्यावसायिक खेती प्रविधिको नाममा प्रायःजसो विदेशी प्रविधि नेपालमा प्रयोग भइरहेका छन् । हामीले आफूसँगै भएका कृषि प्रविधिको प्रयोगलाई जोड दिन नसकेकोले विदेशी प्रविधिको प्रयोग गर्दा हाम्रो लगानीयोग्य रकम विदेशिने अवस्था छ ।
नेपालमा तयार भएका मेसिन, औजार र प्रविधि नेपालको भौगोलिक बनावट तथा माटोसँग प्रत्यक्ष मेल मेल खान्छन् । कतिपयलाई समयानुकूल थोरै परिमार्जन गरेर अद्यावद्यिक गर्न सकिने अवस्था छ । केही प्रविधि हाम्रा कृषकको शिक्षा र चेतनाको स्तर, आर्थिक अवस्था, भौगोलिक बनावट, हावापानी, रहनसहनसँग मेल नखानेखालका छन् भने पनि तिनलाई परिमार्जन गर्न सकिने सम्भावना छ । त्यसैले त्यस्ता प्रविधिहरूलाई परिमार्जित गर्ने र नेपालको माटो सुहाउँदो तथा कृषकको क्षमता अनुरुप विकास गर्न सरकार र निजी क्षेत्रले ध्यान दिनु आवश्यक छ ।
पछिल्लो समय मुक्तिनाथ कृषि कम्पनीले पहाडको लागि स्याङ्जा र तराईको लागि चितवन गरी दुईवटा फार्म उत्कृष्टता केन्द्र स्थापाना गरेको छ । साथै, विभिन्न प्रविधिको विकास गर्न अनुसन्धान तथा विकास विभाग र फार्म यान्त्रीकरण विभागको माध्यमबाट नेपाल सुहाउँदो प्रविधि विकास गर्ने काम गरिरहेको छ । जसको राम्रो नतिजा निस्कन केही वर्ष कुर्नुपर्ने हुन्छ ।
खेती प्रणाली र प्रविधि
अहिले पनि खेती प्रणाली र प्रविधिमा पुरानै शैली अपनाइएको पाइन्छ । यस्तो खेती प्रणाली र प्रविधि प्रयोगमा रूपान्तरण हुनु अत्यन्त जरुरी छ । पहिला नेपालको खेती प्रणाली निर्वाहमुखी थियो । अहिले पनि एउटै किसानले आफ्नो माटो, हावापानी, बजारको अवस्थालगायतका विषयमा ध्यान नपु¥याई धान, गहुँ, मकै, तरकारी, पशुपालन गरेको अवस्था छ ।
यसरी कृषिको व्यवसायिकतातर्फ जान सकिँदैन । ग्रामीण क्षेत्रका कृषकको आर्थिक रुपान्तरणका निम्ति कृषिमा व्यावसायीकरण हुनु जरुरी छ । यसका लागि कृषकको खेतीयोग्य जग्गाको माटो, हावापानी, बजारको अवस्था माग सुहाउँदो खेती प्रणालीमा जोड दिनुपर्छ । साथै, उत्पादन र उत्पादकत्व वृद्धि गर्न, कृषि व्यवसायलाई नाफामुखी बनाउनको निमित्त प्रविधिको प्रयोग हुनु जरुरी हुन्छ । प्रविधिको प्रयोगले सीमित स्रोत–साधनमा पनि उत्पादन र उत्पादकत्व बढ्न जान्छ । र, कृषि उपजको गुणस्तरमा पनि सुनिश्चितता ल्याउँछ ।
कृषि उद्योगको अवस्था
उद्योग विभागका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा नेपालमा कृषि उद्योग ५०० वटा रहेका छन् । यी उद्योगहरुमा करिब ३४.०९२ अर्ब लगानी रहेको छ । ६ लाख २८ हजार ७९५ जनाले रोजगारी पाएको विभागको तथ्यांकले देखाएको छ । २०७९ जेठ मसान्तसम्ममा विदेशी लगानी रहेको कृषि उद्योगको हिस्सा ७ प्रतिशत मात्र छ । साना कृषकहरूको संरक्षण र प्रवद्र्धनलाई ध्यानमा राख्दै कृषिमा आधारित निर्यातजन्य उद्योग स्थापनामा वैदेशिक लगानी र प्रविधिलाई भित्राउन प्रोत्साहन गर्न सकिन्छ ।
नेपालमा कृषि प्रविधिको समस्या
नेपालमा कृषि प्रविधिको उपयोगको आवश्यकता र प्रचुर सम्भावनाका बावजुद यसको प्रयोगमा निम्न समस्याहरू रहेका छन्ः
तुलनात्मक रुपमा प्रविधि महँगो हुनाले पनि यसको प्रयोग कम भइरहेको पाइन्छ । यस्तै चेतना, सीपजस्ता विषयले पनि प्रविधि प्रयोग तथा सञ्चालनमा समस्या भइरहेको देखिन्छ ।
प्रायःजसो पेट्रोलियम पदार्थबाट चल्ने मेसिनरीको प्रयोग हुँदै आएको छ । ग्रामीण क्षेत्रमा मेसिनरी मर्मतसम्भार केन्द्रको अभाव छ । यसले गर्दा किनिएको मेसिनको पनि उचित प्रयोग हुन सकिरहेको छैन ।
त्यतिमात्र होइन, अव्यवस्थित अनुदान प्रणाली, निर्वाहमुखी खेती, कृषि उत्पादनमा युवाहरूको घट्दो आकर्षण, कृषिलाई मर्यादित पेशाको रुपमा नराखिनुले पनि समस्या उत्पन्न गरिरहेको देखिन्छ । कृषकसम्म राज्यको उपस्थिति कम हुनु, स्थानीय तहले कृषिलाई प्राथमिकतामा नराख्नु, संस्थागत रुपमा निजी क्षेत्रबाट कृषि प्रविधि कम्पनीहरूको विकास नहुनुजस्ता कारणले पनि नेपालमा कृषि प्रविधि प्रयोगको अवस्था कमजोर छ ।
समाधानका उपाय
कृषि प्रविधिमा देखिएका विभिन्न समस्याको पहिचान गरी समाधानका लागि नीतिगत पहल गर्नु अहिलेको मुख्य आवश्यकता हो । यसका निम्ति राज्यका विभिन्न निकायसँग समन्वयको लागि कृषि मूल्य शृंखला व्यवस्थापन आयोगको स्थापना गर्नुपर्ने देखिन्छ । कृषिमा संस्थागत मूल्य शृंखला विकासका लागि कृषि चक्रको निर्माण गर्नुपर्नेछ । यस्तै, स्वदेशको माटो, कृषक सुहाउँदो प्रविधिको विकासमा जोड दिनु आजको आवश्यकता हो ।
स्थानीय सम्भाव्यताको आधारमा सार्वजनिक निजी समुदायको साझेदारीमा कृषि उद्यमको विकास गर्न सरकारले ध्यान केन्द्रित गरी मागमा आधारित संस्थागत अनुदान प्रणालीको विकास गर्नुपर्छ । व्यावसायिक र बजारमुखी उत्पादन प्रणालीको विकास गर्ने तथा युवालाई कृषिको मूलधारमा ल्याउन कृषिलाई मर्यादित र प्रतिष्पर्धी पेशाको रुपमा विकास गर्नु अत्यावश्यक छ । यति गर्न सकेमा कृषि प्रविधिको विकास हुने देखिन्छ ।
सम्भावित समस्या
-उत्पादनमा विविधीकरण र उत्पादकत्वमा कमी
-कृषि उपजमा परनिर्भरता र व्यापारघाटामा वृद्धि
-खाद्य संकट
-आयात–निर्यात असन्तुलन
-खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्ने
कृषिमा प्रत्यक्ष वैदेशिक लगानी
भौगोलिक तथा हावापानीको हिसाबले नेपालमा धेरै विविधता छ । त्यसले गर्दा फरक भौगोलिक वातावरणमा फरक–फरक कृषि उपज उत्पादन हुने प्रचुर सम्भावना छ । कृषिमा व्यावसायीकरण र औद्योगीकरणले मात्र देशको आर्थिक रुपान्तरण र आयात प्रतिस्थापन गर्न सकिन्छ । उद्योग स्थापनाको निमित्त कच्चा पदार्थको रुपमा समेत प्रयोग हुने कृषि उपजहरुको खेती गर्न सक्दा त्यसले देशको अर्थतन्त्रमा दोहारो योगदान गर्न सक्छ ।
त्यस्तो खेती गर्दा बृहत् र विस्तृत रुपमा गर्न आवश्यक हुन्छ । त्यसका लागि वैदेशिक लगानी र प्रविधिसमेत आवश्यक हुन्छ । कृषिमा गरिने यस प्रकारका व्यावसायीकरण र औद्योगिकीकरणले ठूलो जनशक्तिको माग गर्दछ । फलस्वरूप बढ्दो बेरोजगारी समस्या समाधान गर्न र विदेश पलायन हुने नेपाली जनशक्तिलाई स्वदेशमा नै रोजगारी प्रदान गर्न सकिने अवस्था निर्माण हुन्छ । खेर गैरहेको जमिन र प्राकृतिक स्रोतको समुचित प्रयोग गरी अर्थोपार्जनका साथै मुलुकको सम्मृद्धिको निम्ति पनि कृषि क्षेत्रमा लगानी जरुरी छ ।
प्रत्यक्ष वैदेशिक लगानीका सम्भावित क्षेत्र
नेपालको हावापानीमा उत्पादित वस्तुहरू जस्तैः चिया, कफी, अलैंची आदिको माग युरोपलगायत अन्तरराष्ट्रिय बजारमा समेत उच्च छ । यी वस्तुहरुको उत्पादनलाई विस्तार तथा उत्पादन वृद्धि गर्न, थप अध्ययन–अनुसन्धान गर्न, उत्पादित वस्तुको गुणस्तर कायम गर्न, बजारीकरण तथा निर्यात सम्भावनाहरुको पहिचान गर्न पनि विदेशी लगानी ल्याउनुपर्ने हुन्छ ।
यसका अतिरिक्त फलफूलको क्षेत्र विस्तार, जडिबुटीको व्यावसायिक उत्पादन, प्रशोधन र निर्यातका लागि विभिन्न प्रकारका उद्योग स्थापनाको समेत प्रचुर सम्भावना छ । यसका लागि कृषिमा विशेषतः निर्यातजन्य उद्योगहरूको स्थापना र नयाँ/नयाँ प्रविधिको विकासमा वैदेशिक लगानी जरुरी देखिन्छ ।
(मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीको अध्यक्ष भरत ढकालको यो विचार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को बार्षिक जर्नल ‘अर्थचित्र’बाट साभार गरिएको हो ।)
प्रतिक्रिया दिनुहोस्