दाङ । लमही नगरपालिका–९ रिहारका मानसिंह वलीले व्यावसायिकरूपमा बाख्रा पालेका छन् । उनले व्यावसायिकरूपमा बाख्रापालन गर्न थालेको ९ वर्ष भयो । उनिसँग ५० खसीबाख्रा थिए । यसपालिको दसैँमा १२ खसी बिक्री गरेको उनले बताए ।
“तौल गरेर बिक्री गर्दा ढुक्क हुँदोरहेछ, उनले भने, “सरकारले दिने अनुदानमा पनि पाइने र खसीबोका बिक्री पनि हुने, सहकारीले आफ्ना सदस्यले पालेका खसीबोका तौल गरेर खरिद बिक्री गर्ने गरेको छ । गत वर्ष दशैंमा मात्रै ३ लाख रुपैयाँका खसी बिक्री गरेको उनको भनाइ छ ।
जिल्लाको लमही–९ स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा किसान, व्यवसायी, स्थानीय प्रशासन, जनप्रतिनिधि, सहकारीका पदाधिकारीको बैठकले जिउँदा खसी बोकाको खरिद मूल्य निर्धारण गरेको हो । मूल्य निधारण गरेपछि तौलका आधारमा खसीबोकाको मूल्य तोकिने गरिन्छ ।
कर्मठ सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडले बिहीबारमात्रै १ सय १८ खसीबोका बिक्री गरेको छ । सुधार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले ३४ गरी जम्मा १ सय ५२ खसीको जम्मा २७ लाख ७१ हजार ५ सय ४ बराबरको कारोबार गरेको संस्थाका सुपरभाइजर पार्वती बस्नेतले जानकारी दिइन्।
दाङबाट यस वर्ष सात सय खसीबोका काठमाडौँ पठाउन थालिएको छ । दसैँ सुरु भएदेखि ५ सय खसीबोका काठमाडौं पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारले जानकारी दिए । किसानलाई बिचौलियाको मारबाट बचाउन सहकारीले किसानसँग समन्वय गरेर खरिद गर्छ । तिनै खसीबोका खाद्यले किन्ने गरेको उनको भनाइ छ ।
गत वर्ष जिल्लाबाट १ हजार खसीबोका काठमाडौं लगिएको थियो । यसपालि खाद्यले दाङलाई दिएको कोटा ७ सय रहेको र थप माग भएमा ३ सय कोटा थप गरेर १ हजारसम्म पठाउन सकिने अवस्था रहेको सुनारले बताए । जिल्लामा सहकारी संस्थासँग समन्वय गरेर खसीबोका खरिद गर्ने काम भइरहेको उनले बताए ।
पच्चीस किलोभन्दा माथिको जिउँदो खसीलाई ५ सय ७० प्रतिकिलो, २० देखि २५ किलोसम्मको खसीलाई ५ सय ६० किलोका दरले खरिद भइरहेको प्रमुख सुनारले जानकारी दिए । अठार किलोभन्दा माथिका बोकाको प्रतिकिलो ५ सय ५५ मा खरिद भइरहेको छ । वार्षिक २ करोड बढीका खसीबोका काठमाडौं पठाउने गरिएको छ ।
दाङ खसीको मासुमा आत्मनिर्भरसँगै बाहिरका जिल्लामा खसीबोका पठाउने अवस्थामा पुगेको हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत महेश आचार्यले बताए । हेफरको सहयोगमा किसानले प्रशस्त खसीबोका पाल्ने गरेका कारण दाङ खसीको मासुमा आत्मनिर्भर भएको हो । लमही नगरपालिकाभित्रका चारवटा सहकारी संस्थाले खसीबोका खरिद गर्ने गरेका छन् । किसानलाई सहुलियत दिने र बिक्री गर्न सजिलो होस् भनेर यसो गरिएको उनले बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहारलाई मध्यनजर गरेर खसीबोका खरिद गरेर सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ । यसबाहेक खसीबोकाको व्यापार गर्दै आएका व्यक्ति विशेषले पनि व्यक्तिगत सम्पर्कका आधारमा मागबमोजिम काठमाडौंका व्यवसायीका लागि खसीबोका पठाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्