दोलखा । दोलखाको गौरीशङ्करमा निर्माणाधीन गुम्बाका लागि पोर्चुगलमा सङ्कल गरिएको सहयोग रकम गुम्बा व्यवस्थापन समितिलाई प्रदान गरिएको छ ।
जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ७ सिक्पासोरमा निर्माणाधीन यार्जाङ गुम्बाका लागि यहाँ सङ्कलन गरिएको १२ लाख ५५ हजार ६ सय १४ रुपैयाँ सहयोग रकम प्रदान गरिएको हो । सङ्कलित रकम रेमिट्यान्समार्फत गुम्बा व्यवस्थापन समितिलाई पठाइएको सहयोग सङ्कलन समितिका संयोजक धनराज शेर्पाले राससलाई जानकारी दिए ।
निर्माणाधीन गुम्बाको निर्माण सम्पन्न गर्न रकम अपुग भएपछि प्रवासमा सहयोग सङ्कलन अभियान सञ्चालन गरेर आर्थिक सङ्कलन गरिएको शेर्पाले बताए ।
शेर्पाले राजधानी लिस्बनमा सञ्चालन गरेको एभरेष्ट रेष्टुरेन्टमा राखिएको दान बाकसमा जम्मा भएको २ लाख ११ हजार ४ सय २ रुपैयाँ, पोर्चुगलमा सङ्कलन गरिएको २ लाख ३७ हजार ५ सय ९८ रुपैयाँ, शेर्पाले व्यक्तिगतरुपमा प्रदान गरेको १ लाख ५१ हजार रुपैयाँ र बेल्जियममा सङ्कलन भएको ६ लाख ५५ हजार ६ सय १४ गरी कूल १२ लाख ५५ हजार ६ सय १४ रुपैयाँ गुम्बा व्यवस्थापन समितिलाई प्रदान गरिएको जानकारी दिए ।
गुम्बाका सल्लाहकारसमेत रहेका शेर्पा र वाङ्गेल लामाको पहल तथा सक्रियतामा पोर्चुगल र बेल्जियममा सहयोग रकम सङ्कलन गरिएको हो । गुम्बा निर्माणका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने लक्ष्यअनुरुप सहयोग सङ्कलन गरिएको र अझै अभियान जारी रहेको शेर्पाले बताए ।
प्रतिक्रिया दिनुहोस्