Shikhar Insurance
National Life

३ करोड ५६ लाख लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द, व्यवसायी, व्यापारी र उपभोक्ता सबै मारमा

सिंहदरबार संवाददाता
२०७९ आश्विन १०, सोमबार १४:२६
Hyundai
NCELL
NIMB

टीकापुर । कैलालीको टीकापुरमा करोडौँ लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द भएको छ । ३ करोड ५६ लाख, ३६ हजार रुपैयाँको लागतमा बनाइको च्याम्बर गत वर्षसम्म कहिलेकाहीँ सञ्चालनमा आए पनि यस वर्ष भने केराको याम सकिन लाग्दासमेत बन्द छ ।

आफ्नै गाउँठाउँमा केरा पकाउने च्याम्बर निर्माण हुँदा खुसी भएका यहाँका केरा किसानदेखि उपभोक्ता अहिले च्याम्बर बन्द भएपछि निरास भएका छन् । च्याम्बर बन्द भएपछि यहाँका नागरिकले विषादी प्रयोग नभएको केरा खान पाउने अधिकार कुण्ठित भएको स्थानीयवासी काशीराम कार्कीले बताइन् । च्याम्बर सञ्चालनपछि नागरिकले विषादी प्रयोग नभएको केरा खान पाइरहेका थिए । च्याम्बरमा पकाएको केरा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भनिन्थ्यो, उनले भनिन्, “च्याम्बर बन्द भएपछि बजारभरि विषादी हालेर पकाएको केरा उपलब्ध छ तर करोडौँको लगानी खेर गएको छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

केरा पकाउने च्याम्बर सञ्चालनमा आएको भए यहाँका केरा उत्पादक किसानले आफ्नै ठाउँमा राम्रो मूल्य पाउथे । केरा उत्पादक सङ्घका जिल्ला अध्यक्ष दीपेन्द्र थारुले च्याम्बर सञ्चालनमा नआउँदा व्यापारी, उपभोक्तालगायत सबैलाई घाटा भएको बताए । “केराका व्यापारीले अलि लामो समयसम्म च्याम्बरमा राखेको आकर्षक केरा बेच्न पाउँथे र उपभोक्ताले पनि स्वस्थ केरा खान पाउँथे, उनले भने, च्याम्बर बन्द हुँदा केरा व्यवसायी, व्यापारी र उपभोक्ता सबैलाई मार परेको छ । च्याम्बरमा पकाइएको केरा एक सातासम्म राख्न सकिन्थ्यो, विषादी प्रयोग गरेको केरा दुई दिनमै सड्छ ।”

च्याम्बरमा पकाइएको केरा लामो समयसम्म नसड्ने, विषादीरहित स्वस्थकर हुने, हेर्दा आकर्षक र पहेंलो देखिने हुन्छ । राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको अनुदानमा प्रालीले च्याम्बर सञ्चालनमा ल्याएको थियो ।

पाँच वटा च्याम्बरमा प्रत्येक पटक १ सय ५० टन केरा पकाउन सकिने व्यवस्था थियो । च्याम्बरमा राखेको पाँच दिनमा केरा बजार पठाउने गरिन्थ्यो ।

च्याम्बर निर्माणका लागि रानी जमरा टीकापुरस्थित कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले १ करोड, ९० लाख, ८ हजार ५ सय ९१ अनुदान सहयोग गरेकामा च्याम्बर सञ्चालक कर्णाली कृषि सेवा प्रालीले १ करोड, ६६ लाख, २७ हजार,६ सय ४५ लगानी गरेको थियो ।

कर्णाली कृषि सेवा प्रालीकोतर्फबाट सुरुमा तीन जनाले लगानी गरे पनि अहिले आफू त्यसबाट बाहिरिसकेको र कागजी प्रक्रियामात्र मिलाउन बाँकी रहेको सुरुका लगानीकर्तामध्येका एक वीरेन्द्र ढुङ्गानाले बताए ।

अर्का एक जनाको बीचमै निधन भइसकेको र अहिले च्याम्बरको सञ्चालन गर्ने जिम्मा सुरुका लगानीकर्तामध्येका एक शिलाकान्त झाको छ तर उहाँ सम्पर्कमा नरेहको स्थानीयवासीले बताए । च्याम्बरमा काम गर्ने र त्यसको रेखदेख गर्ने जिम्मा पाएका राजु ढुङ्गानाका अनुसार झा केही दिनदेखि सम्पर्कमा आएका छैनन् ।

१ सय ५० टन क्षमता भएको च्याम्बरका ३०/३० टनका पाँच वटा खण्ड छन् । यसरी बनेको संरचना पनि सञ्चालनमा नआउँदा एकातिर केरा व्यवसायी तथा व्यापारीलाई घाटा र उपभोक्ता स्वस्थ केरा खानबाट बञ्चित भएका छन् भने अर्कोतर्फ सरकारी लगानीको पनि सदुपयोग नभएको स्थानीयवासीको गुनासो थियो । करोडौँ लगानी गरेर बनेको संरचना सञ्चालनमा ल्याउन स्थानीय सरकार र सिँचाइ आयोजनाले सञ्चालनका लागि पहल गर्नुपर्ने गर्नुपर्नेमा स्थानीय केरा व्यवसायीले जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्