गलेश्वर । बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरु त हामी सबैले प्रयोग गर्दै आएका छौँ । तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोशाक लगाएर गाउँका मेलापातदेखि सहरमा हुने पर्व, महोत्सवमा पुग्नाका साथै सोही पोशाकबाट आम्दानीसमेत गर्ने कोही व्यक्ति देखेका छैन भने म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुमको बेली गाउँमा जानुहोस् ।
टोपीदेखि जुत्तासम्म चोयाकै पोशाक लगाएर जीविकोपार्जन गर्दै आएका व्यक्ति हुन्, रुम बेली तल्लो गाउँका ४९ वर्षिय भरीबहादुर पर्तेल । विगत दुई वर्षदेखि चोयाका पोशाक तयार पारी तिनलाई लगाएर विभिन्न मेला पर्वमा प्रदर्शन गरी उनले जीविकोपार्जन गर्दै आएका छन् । जङ्लबाट निगालो ल्याइ त्यसबाट चोया निकालेर उनले टोपी,कोट,इस्टकोट,पाइन्ट,जाँगे,जुता,झोला,मनिव्यागलगाएत पोशाकहरु बनाउने र आफूले बनाएका ती पोशाकहरु लगाएर गाउँघर तथा शहरबजारमा पुग्ने गर्छन् ।
आधुनिक युगमा पनि पर्तेलले चोयाँका पोशाक लगाएर डुलेको देख्दा कति मानिसहरु छक्कै पर्ने गर्दछन् भने कतिले उनको कलालाई सम्मान गर्दै पैसा दिएर प्रोत्साहन पनि गर्ने गर्दछन् । शौखिन व्यक्तिहरुले पर्तेलले बनाएका चोयाका कपडा किनेर घरमा सजाउने समेत गरेका छन् ।
मेरो आम्दानीको श्रोत भनेकै यही कला हो । मैले चोयाबाट शिरदेखि पाउसम्म लगाउने पोशाक बुन्न जानेको छु, उनि भन्छन् । पर्तेलको घरमा चार छोरा,एक छोरी र श्रीमती छन् । छोराहरु अलग भएर बसेका छन् भने छोरीको विवाह भइसकेकाले घरमा दुई दम्पतिमात्र छन् । बिहान उठेर नजिकको जङ्लमा गई निगालो ल्याउने, चोया बनाउने र त्यसकै पोशाक तथा अन्य कृषि सामाग्रीहरु बुनेर दिन विताउने गरेका उनि चोयाका पोशाक बेचेरै वर्षमा १ लाख बराबरको आम्दानी गर्दै आएको बताउछन् । चोयाका पोशाक लगाएर गाउँघर र सहर बजार जाँदा मानिसहरुले त्यस्ता पोशाक लगाएको देखेर खशी हुँदै पैसा समेत दिने गरेका र अहिलेसम्म त्यसरी ६० हजार भन्दा बढी कमाएको पर्तेलको भनाइ छ ।
हिजोआज गाउँघरका युवायुवतीले उनले लगाउने चोयाका पोशाक मागेर लगाइ टिकटक बनाउने र त्यसबापत १ सय दिने गरेका छन् । पर्तेल भन्छन्, अहिले त मेरा चोयाका पोशाक भाडामा समेत जाने गरेका छन्, केटाकेटीहरुले मेरा पोशाक लगाएर मोवाइलमा फोटो खिच्छन्, टिकटक बनाउछन् र बदलामा मलाई पैसा दिने गरेका छन् ।
”
शनिवार बेलीको जन विकास आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रममा चोयाका पोशाकहरु प्रदर्शन गरेर नै उनले ३ हजार भन्दाबढी आम्दानी गरे । पर्तेलको सीपको सम्मान गर्नु पर्ने र उनलाई प्रोत्साहित गरेर यस्तो कला प्रवर्द्धनमा जोड दिनुपर्ने स्थानीय समाजसेवी विष्णु पुन बताउछन्।
पर्तेलले पोशाकका अतिरिक्त चोयाँबाट डोका, नाम्ला, भकारी,थुन्सेलगायत घरायसी कृषि सामाग्रीहरु पनि बनाउने गरेका छन् । यस्ता सामाग्रीहरु गाउँघरमा फाट्ट फुट्ट विक्री हुने गरे पनि यो पेशा व्यवसायिक हुन नसकेकाले आफूले पोशाक बनाएर प्रर्दशन तथा विक्री वितरण गर्न थालेको उनको भनाइ छ ।
आफूले बनाएका चोयाका पोशाक जिल्लाका नेताहरु र प्रशासन प्रमुखहरुलाई उपहार दिने र त्यसको बजारीकरणमा सहयोग गर्न अपिल गर्ने आफ्नो चाहना भएको पर्तेल बताउछन् ।
“चोयाका पोशाक बनाउन सजिलो छैन, निकै मिहिनेत गर्नुपर्छ,” उनि भन्छन्, यस्ता पोशाकले हाम्रो पुरानो जीवन र पुर्खाहरुको त्यतिबेलाको अवस्थालाई पनि सम्झाउँछन् ।”स्थानीय सरकार वा सम्वन्धित निकायले सहयोग गरेमा आफूले अझ राम्रा हस्तकलाका सामाग्रीहरु बनाउन सक्ने पर्तेलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्