चौतारा । सिन्धुपाल्चोकको उच्च पहाडी भेगका तामाङ र शेर्पाको सांस्कृतिक वेषभूषाका रुपमा चिनिने बख्खु पछिल्लो समय लोप हुँदै गएको छ । पाँचपोखरी, हेलम्बु, जुगल र भोटेकोसी गाउँपालिकामा मात्र पाइने बख्खु अहिले यहाँ देख्न मुस्किल छ ।
यी भेगमा पाइने बख्खु कुनैबेला देशभर प्रसिद्ध थियो । काठको सानो भाटाले भेडाको भुत्लालाई धागो बनाई बुनिने बख्खुको स्थान अहिले ज्याकेट, कोट, सुइटरजस्ता आधुनिक कपडाले लिइसकेको छ । पहिलापहिला तामाङ र शेर्पा समुदायले हिउँद र वर्षामा बख्खु लगाउने गर्दथे । पाँचपोखरी गाउँपालिकाको गुन्सा र भोताङ, जुगल गाउँपालिकाको गुम्बा र गोल्चेमा केही बुढापाकाले संस्कृति जोगाउनकै लागि भए पनि बख्खु लगाउने गरेका छन् ।
बख्खु बुन्ने कार्य परम्परागत र झन्झटिलो भएकाले यसप्रति आकर्षण घटेको छ । समयअनुसार हिफाजत गरेर लगाएमा बख्खु धेरै समय टिक्ने गुन्साका विर्खे गोले बताउछन् । कुनैबेला जिल्लाका हिमाली क्षेत्रमा बख्खुकै लागि ४०/५० भेडा पालेर चैत र असोजमा भुत्ला काटेर त्यसको मसिना डोरी बनाएर बख्खु बुनिन्थ्यो ।
भुत्लाको रङ हेरी सात रङमा बख्खु पाइने गरेको उल्लेख गर्दै उनले त्यसको रङका आधारमा बख्खु पनि महँगो हुने गरेको भोताङका सिंहबहादुर तामाङ बताउछन् । एउटा बख्खु २४सै घण्टा लगाए पनि १२ वर्ष टिक्छ, उनि भन्छन् ।
जाडो र गर्मी दुवै समयमा लगाइने बख्खुले झरी पनि थाम्ने गरेको स्थानीय फुर्वा लामाको भनाइ छ । परिवर्तनका नाममा आएका जालीदार कपडाले ठाउँ ओगटे पनि सिन्धुपाल्चोकका अधिकांश हिमाली क्षेत्रमा बख्खु लगाउनेको सङ्ख्या अत्यधिक छ ।
प्रतिक्रिया दिनुहोस्