काठमाडौं । सरकारले एक साताभित्रै कोरोना बीमाको बक्यौता दावी भुक्तानी गर्ने भएको छ । अर्थमन्त्रालयले १ साताभित्रै आफ्नो दायित्वमा परेको रकम मध्ये १ अर्ब रुपैयाँ निकासा गर्न लागेको बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले जानकारी दिए ।
समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सिलवालले अर्थ सचिव र अर्थमन्त्रीले एक साताभित्रै सरकारको भागमा परेको रकममध्ये १ अर्ब रुपैयाँ आगामी साताभित्रै निकासा गर्ने प्रतिवद्धता गरेको बताएका हुन् ।
‘पछिल्लो बैठकमा अर्थमन्त्री ज्युले अर्थसचिवलाई बोलाएर १ अर्ब रुपैयाँ एक साता भित्रै पठाउन निर्देशन दिनु भएको थियो,’ कार्यक्रममा समितिका अध्यक्ष सिलवालले भने, ‘हाम्रो छेउमा देखाउनको लागि हो या, वास्तवमै रकम निकासा हुन्छ त्यो हेर्न बाँकी नै, सचिव ज्युले भने अर्को सातासम्म १ अर्ब रुपैयाँ पठाउँछौं भनिसक्नु भएको छ ।’
अर्थमन्त्रालयबाट १ अर्ब रुपैयाँ प्राप्त हुने बित्तिकै समितिले कम्पनीहरुमार्फत् कोरोना बीमाको बक्यौता दावी भुक्तानी वितरण शुरु गर्ने उनको भनाइ छ ।
बीमा समितिको पछिल्लो तथ्यांक अनुसार १४ अर्ब ९३ करोड ६६ लाख ८९२ रुपैयाँ कोरोना बीमा वापत दाबी परेको छ । त्यस मध्ये ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।
कोरोना बीमा मापदण्ड अनुसार बाँकी हुन आउने ११ अर्ब ४३ करोड ९६ लाख ६३ हजार ८९२ रुपैयाँ सरकारले भुक्तानी गर्नु पर्दछ । सरकारले आफ्नो दायित्वमा परेको रकममा आजसम्म १ रुपैयाँ पनि निकासा गरेको छैन । अर्थमन्त्रीले आफ्नो प्रतिवद्धता पुरा गरेर पहिलो किस्ता वापत १ अर्ब रुपैयाँ निकासा गरेमा बाँकी बक्यौता पनि चुनाव अगावै निकासा हुन सक्ने समितिका अध्यक्ष सिलवालको भनाइ छ ।
बीमा समितिले २०७७ बैशाख ७ गतेदेखि कोरोना बीमा मापदण्ड जारी गरेको थियो । मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनीहरुले दायित्व बहन गर्न नसक्ने भन्दै बीमालेख बिक्री बन्द गरेर पछि हटेका थिए । तर सरकारले पनि जोखिम बहन गर्ने भएपछि पुन कोरोना बीमालेख बिक्री सुरु भएको थियो ।
कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ, बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट ५० करोड रुपैयाँ र बीमा समितिको तर्फबाट एक अर्ब रुपैयाँ भुक्तानी गर्ने व्यवस्था छ । त्यस भन्दा बढी दाबी परेमा सम्पुर्ण रकम सरकारले भुक्तानी गर्ने मापदण्डमा उल्लेख छ ।
मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनी एक अर्ब,नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब, बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट ५० करोड र बीमा समितिले एक अर्ब गरी कुल ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेका छन् । कोरोना बीमाबापत भुक्तानीको दाबी गरेको करिब २ वर्ष हुन लाग्दा पनि सुस्त सरकारी नीतिका कारण अझैसम्म बीमितहरुले रकम नपाएका हुन् । बीमा समितिका अनुसार अब भने सरकारबाट निकासा भएको रकम र कम्पनीहरुलाई समेत ५० करोड रुपैयाँ दायित्व वहन गर्न गर्ने निर्देशन दिँदै चुनाव अगावै कोरोना बीमा वापतको सम्पुर्ण बक्यौता भुक्तानी हुनेछ ।
प्रतिक्रिया दिनुहोस्