काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै डेढ दर्जन बैंक तथा वित्त कम्पनीले तोकिएको निर्देशन उल्लंघन गरेका छन् । साउन महिनामै १७ वटा बैंक तथा वित्त कम्पनीले तोकिएको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) को सीमा कटाएर कारोबार गरेका हुन् ।
सिंहदरबारलाई प्राप्त तथ्यांकअनुसार साउन समान्तसम्म ९ वटा वाणिज्य बैंक, ५ वटा विकास बैंक र ३ वटा वित्त कम्पनीको सीडी रेसियो ९० प्रतिशतमाथि छ ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ९० प्रतिशतको सीडी रेसियो लागू गरेको हो ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ९० प्रतिशतको सीडी रेसियो लागू गरेको हो । जसको कार्यान्वयन बैंक तथा वित्तीय संस्थाले चालु आवदेखि गर्नु पर्ने राष्ट्र बैंकको निर्देशन हो । सो अघिसम्म बैंकहरुले ९० प्रतिशतमाथि सीडी रेसियो कायम गरी व्यवसाय गर्दा पनि राष्ट्र बैंकले नियामकिय कारवाही भने गरेको थिएन । अब भने सीडी रेसियोमा तोकिएको सीमा कटाउने बैंकलाई राष्ट्र बैंकले ऐनअनुसार कारवाही गर्नेछ ।
सीडीको व्यवस्था र सीमा कटाउँदा कारवाही के ?
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशन, २०७८ को निर्देशनमा तरलता जोखिम व्यस्थापन गर्ने सम्बन्धी व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा दैनिक सीडी रेसियो रिपोटिङ गर्नु पर्ने हुन्छ । राष्ट्र बैंकले दैनिक सीडी रेसियो निगरानीमा राखी मासिक औषत सीडी कायम भएको आधारमा सुपरिवेक्षणीय कारवाही गर्ने व्यवस्था छ ।
राष्ट्र बैंकको एकीकृत निर्देशन, २०७८ को व्यवस्थाअनुसार कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) को अनुगमन दैनिक रुपमा गरिनेछ । मासिक औसत आधारमा त्यस्तो अनुपात नाघेमा सम्बन्धित सुपरिवेक्षण विभाग हर्जाना लगाउनेछ । प्रत्येक महिनाको १ गतेदेखि मसान्तसम्मको प्रत्येक कार्यदिन (सार्वजनिक विदा वाहेक) को आधारमा मासिक औसत अनुपात निर्धारण गरी तोकिएको सीमा नाघेको हकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९९ अनुसार हर्जाना लगाइनेछ । साउन मसान्तमा सीडी रेसियो सीमा माथि पुर्याएका बैंक तथा वित्त कम्पनीहरुको पनि औषत गणना गरी हजर्ना तिराउने पक्का हो ।
सीडी कटाउने बैंकहरु, नियम विपरिदको व्यवसाय
चालु आवको साउन मसान्त अर्थात् ३१ गतेसम्म ९० प्रतिशत सीडी रेसियो कायम गरी १७ बैंक तथा वित्तीय संस्थाले कारोबार गरेका हुन् । जसमा वाणिज्य बैंकतर्फ सेञ्चुरी बैंक ९३.३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ९१.८० प्रतिशत, ग्लोबल आइएमई बैंक ९१.२० प्रतिशत, नबिल बैंक ९०.९० प्रतिशत, नेपाल बैंक ९०.७० प्रतिशत, बैंक अफ काठमाण्डू ९०.५० प्रतिशत, कृषि विकास बैंक ९०.३० प्रतिशत, कुमारी बैंक ९०.३० प्रतिशत र एनसीसी बैंकको ९०.१० प्रतिशत सीडी रेसियो कायम छ ।
यस्तै विकास बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट बैंकको १३१.३९ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको १०१.६२ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ९१.९१ प्रतिशत र एक्सल डेभलपमेन्ट बैंकको ९०.२५ प्रतिशत कायम छ ।
गत साउन मसान्तमा ३ वटा फाइनान्स कम्पनीको सीडी रेसियो ९० प्रतितशत माथि छ । जसमा एनएसएमएल फाइनान्सको ४६९.८९ प्रतिशत, जानकी फाइनान्सको ९३.५० प्रतिशत र समृद्धि फाइनान्सको ९१.९१ प्रतिशत सीडी रेसियो कायम छ । एनएसएमएल फाइनान्सलाई राष्ट्र बै्रंकले समस्या ग्रस्त घोषणा गरी सकेको हुँदा कम्पनीमा निक्षेपको हिस्सा थोरै हुन गई सीडी रेसियो सो परिमाणमा पुगेको हो ।
अन्य १६ वटा बैंक तथा वित्त कम्पनीहरुले भने नियमन उल्लंघन नै गरेर कारोबार गरेका हुन् ।
सीडी रेसियो ९० प्रतिशत भन्नाले बैंक तथा वित्तीय संस्थाले १ सय रुपैयाँ निक्षेप संकलन गर्दा ९० रुपैयाँ कर्जा प्रवाह गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । बैंक तथा वित्तीय संस्थाले पूँजी कोष र पुँजी कोषको अङ्गको रुपमा रहेका ऋणपत्र वाहेकका ऋणपत्र, १ वर्ष वा सोभन्दा बढी अवधिको विदेशी मुद्रामा लिएको ऋण तथा यस बैंकबाट प्रदान गरिएको पुनरकर्जा रकमलाई निक्षेपको रुपमा गणना गर्न सक्ने छन् ।
ऋणपत्र पुँजीकोषको अंगको रुपमा रहने वा नरहने सम्बन्धमा इजाजतपत्र प्राप्त संस्थाले ऋणपत्र जारी गर्दाकै बखत तोक्नु पर्नेछ । ऋणपत्रको हकमा इजाजतपत्र प्राप्त संस्थाले २०८० असार मसान्त सम्मको लागि निक्षेपको रुपमा समेत गणना गर्न सक्नेछन् । सीडी रेसियो गणना गर्दा अन्तरबैंक निक्षेपलाई समावेश गर्न पाइने छैन ।
प्रतिक्रिया दिनुहोस्