काठमाडौं । सरकारले बैशाख १३ गते अघि नै एलसी खोलेका कम्पनीहरुलााई गाडी आयात गर्न दिने निर्णय गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै १३ बैशाख अघि एलसी खोलेर आयातको प्रक्रिया पुरा गरिसकेका माल बस्तुहरुको आयात गर्न दिने निर्णय गरेको हो ।
डलर सञ्चिति घटेपछि सरकारले बैशाख १३ गतेदेखि विलासिताका १० वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो । सो मिति अघि नै एलसी खोलेर प्रक्रिया पुरा गरेका मालबस्तुको आयात गर्न दिने सूचना राजपत्रमा प्रकाशित भएसँगै ९ सय भन्दा बढी सवारी साधनहरु नेपाल भित्रिने भएका हुन् । राजपत्रमा आयात प्रतिबन्धको सूचना संसोधनसहित पुनः प्रकाशित भएपछि चाडबाडका मुखमा पाँच अर्ब मूल्य बराबरका ९ सय सवारी साधन नेपाल भित्रिने पक्का भएको हो ।
सरकारले १३ वैशाखको प्रतिबन्धलाई १४ भदौसम्म लम्ब्याउने गरि राजपत्रको सूचनामा केही संशोधनसहित ३२ असारमा नयाँ राजपत्र जारी गरेको थियो । तर सो राजपत्रमा १३ बैशाख अघि नै एलसी खोलिसकिएका मालबास्तुको आयातका बिषयमा के गर्ने भन्ने स्पष्ट थिएन् । सरकारको यो निर्णयसँगै अटो व्यवसायीले दशैंको मुखैमा राहत महशुस गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्