काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल ११ (ब्रोकर) कम्पनीहरूलाई १८ स्थानमा शाखा कार्यालय सञ्चालनको अनुमति दिएको छ । यी कम्पनीहरुलाई बोर्डले पहिलो चरणमा ७ स्थानमा र दोस्रो चरणमा ११ स्थानमा गरी उपत्यका बाहिर विभिन्न स्थानमा शाखा कार्यालय सञ्चालनको अन्तिम स्वीकृति दिएको हो ।
जसमा बोर्डले साउन ३१ गते मात्र ९ वटा ब्रोकर कम्पनीलाई उपत्यका बाहिरका विभिन्न ११ स्थानमा नयाँ शाखा कार्यालय सञ्चालनको अनुमति दिएको हो । भने यसअघि नै ४ वटा ब्रोकरलाई ७ स्थानमा शाखा कार्यालय सञ्चालनको अन्तिम स्वीकृति दिइसकेको थियो ।
बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगानाले २०७७ फागुन १३ गते नै १२ वटा ब्रोकर कम्पनीहरुलाई २३ स्थानमा शाखा कार्यालय विस्तारका लागि सैद्धान्तिक स्वीकृत दिएका थिए । जसमध्ये बोर्डले करिब २ वर्षपछि उपत्यका बाहिर ७ वटै प्रदेशका १८ स्थानमा शाखा कार्यालय सञ्चालनको लागि अन्तिम स्वीकृति दिइसकेको छ । बाँकी ५ वटा स्थानका लागि पनि चाँडै अनुमति दिइने नेपाल धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए ।
दोस्रो चरणमा शाखा सञ्चालनको अन्तिम स्वीकृति पाउने कम्पनीहरुः
बोर्डबाट शाखा कार्यालय सञ्चालनको अन्तिम स्वीकृति पाउनेमा जसमा ब्रोकर नम्बर ३६ सेक्युर्ड सेक्युरिटिजले झापाको दमक, २९ नम्बर ब्रोकर त्रिशुल सेक्युरिटिजले नवलपुरको कावासोती, ५७ नम्बर ब्रोकर आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले पाल्पाको तानसेन र भैरहवाको रुपन्देहीमा शाखा विस्तारको अनुमति पाएको हो ।
यस्तै, ५१ नम्बर ब्रोकर अक्सफोर्ड सेक्युरिटिजले नवलपुरको भुमहीमा, ५९ नम्बर ब्रोकर दिव्या सेक्युरिटिज एण्ड स्टक हाउसले पर्वतको कुस्मा, ७ नम्बर ब्रोकर जे.एफ. सेक्युरिटिजले दाङको कुस्मा र ३८ नम्बर ब्रोकर दिपशिखा धितोपत्र कारोबार कम्पनीले कैलाली लम्कीमा शाखा विस्तारको अनुमति पाएको हो । ब्रोकर नम्बर ४४ डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिजले चितवनको भरतपुर, ११ नम्बर ब्रोकर मल्ल एण्ड मल्ल स्टक ब्रोकिङले पाँचथरको फिदिम र इलामको सदरमुकाम इलाम बजारमा शाखा कार्यालय विस्तार गर्न पूर्वाधार विस्तारको अनुमति पाएका हुन् ।
शाखा कार्यालय विस्तारको सैद्धान्तिक स्वीकृति पाएर पुर्वाधार तयारीको निर्देशन पाएका कम्पनीहरुले पुर्वाधार सम्पन्न गरी बोर्डले निरीक्षण गरेपछि अन्तिम स्वीकृत दिने गरेको छ । शाखामा पुर्वाधार निर्माणको काम बाँकी नै रहँदा ४९ नम्बर ब्रोकर अनलाइन सेक्युरिटिजले रामेछापको मन्थली, महोत्तरीको बर्दिबास र मोरङको उर्लाबारीमा शाखा सञ्चालनको अन्तिम स्वीकृति पाउन बाँकी छ । साथै, ३८ नम्बर दिपशिखा धितोपत्र कारोबार कम्पनीको सिरहाको लाहान र दोलखाको चरीकोटमा शाखा सञ्चालनको अन्तिम स्वीकृति बोर्डबाट पाएको छैन ।
शाखा कार्यालय सञ्चालन गर्न ५० वटै ब्रोकरले आवेदन दिएको थिए । हालसम्म उपत्यका बाहिर ४१ ब्रोकर कम्पनीका ४७ वटा शाखा सञ्चालनमा आइसकेका छन् । करिब २ वर्ष अघि ब्रोकर कम्पनीहरुले सातै प्रदेशका करिब २०० स्थानमा शाखा विस्तार गर्न बोर्डमा आवेदन दिएका थिए । बोर्डले तीमध्ये पहिलो चरणमा ३ वटा ब्रोकरलाई ७ स्थानमा र दोस्रो चरणमा ९ वटा ब्रोकरलाई ११ स्थानमा गरी हालसम्म १८ स्थानमा शाखा विस्तार गर्न अन्तिम स्वीकृति दिइसकेको छ ।
पहिलो चरणमै शाखा विस्तारको अन्तिम स्वीकृति पाउने ब्रोकर कम्पनीहरुः
गत आवमै बोर्डबाट अन्तिम स्वीकृति पाएर ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिजले नवलपरासीको कावासोती, म्यादीको बेनी र तनहुँको दमौली शाखा सञ्चालनमा ल्याइसकेको छ ।
यस्तै, ४९ नम्बर ब्रोकर अनलाइन सेक्युरिटिजले नुवाकोटको बटार, ३८ नम्बर ब्रोकर दिपशिखा धितोपत्र कारोबार कम्पनीले चितवनको टांडी, १४ नम्बर नेपाल स्टक हाउसले नुवाकोटको बिदुर र कैलालीको टिकापूरमा शाखा सञ्चालन ल्याइसकेका छन् । बोर्डले तयार भएका शाखा कार्यालयको निरिक्षण गरी सञ्चालन गर्न भनेअनुसार उनीहरूले शाखा खोलेका हुन् ।
ब्रोकर कम्पनीको शाखा मापदण्ड
बोर्डले शाखा विस्तारको सैद्धान्तिक स्वीकृति पाएका ब्रोकर कम्पनीहरुलाई पुर्वाधार तयार गर्न निर्देशन दिने गर्छ । पुर्वाधार तयार गरेपछि ब्रोकर कम्पनीहरुले बोर्डलाई जानकारी गराउँछन् र सोही जानकारीका आधारमा निरीक्षण गरी बोर्डले शाखा सञ्चालन गर्न भन्छ ।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल, व्यापारी तथा बजार निर्मता) तेस्रो संसोधन नियमावली, २०७६ अनुसार ब्रोकरहरुले शाखा कार्यालयल सञ्चालनको अन्तिम स्वीकृति लिन अघिनै आफ्नो सम्पुर्ण पुर्वाधार तयार गरिसक्नु पर्छ । कम्तीमा ५ सय वर्गफिटमा शाखा कार्यालय स्थापना गरी वाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड काउन्टेन्सी गरेको व्यक्तिलाई प्रमुख र परिपालन तथा सुचना प्रविधि सहित कम्तीमा ३ जना कर्मचारी नियुक्त गरेको हुनुपर्छ ।
बोर्डले तोकेको मापदण्ड अनुसार शाखा कार्यालयमा कम्तीमा २ थान कम्पुटर र त्यसका लागि अन्य ब्याकअप पावर सहितको पुर्वाधार तयार गरेपछि मात्र बोर्डले अन्तिम स्वीकृति दिनेछ ।
प्रतिक्रिया दिनुहोस्