काठमाडौं । शारिरीक रुपमा फरक क्षमता भएका दैलेख नारायण नगरपालिका–१ कुइकानाका ४८ वर्षीय चक्रबहादुर खत्री अन्य मानिस सरह हिँडडुल गर्न सक्दैनन् । त्रिभुवन नमूना माविमा कक्षा ८ सम्म अध्ययनरत गर्दा खत्री फरक क्षमताका हुनु हुन्थेन । अन्य मानिस सरह नै हिँडडुल गर्थे । गाउँमा नयाँ घर बनाउँदै गर्दा नशामा समस्या आएपछि खत्रीका दुःखका दिन शुरु भए ।
सत्र वर्षसम्म ठमठम हिँड्ने छोरा हिँडडुल गर्न नसक्दा आमाबाबु चिन्तित बने । छोराको उपचारका लागि विभिन्न अस्पतालमा गएर परीक्षण गराए पनि छोरालाई सञ्चो भएन । छोराको हाडजोर्नीमा समस्या छ । चिकित्सकले सजलैसँग सञ्चो हुँदैन भनेपछि घरमा बस्नुबाहेक अर्को विकल्प रहेन । सधैं काम गरेको छोरा हिँडडुल गर्न नसक्दा आमाबाबुलाई चिन्ता लाग्नु स्वभाविकै थियो ।
चक्रबहादुरले भने हिम्मत हारेनन् । तरकारी फलाएर पैसा कमाउने सोच बनाए । तरकारी खेतीतिर लागे । सोचलाई शक्तिमा बदले । फरक क्षमता भएका खत्री आजभोलि त्यही तरकारी खेतीबाट गाउँकै अगुवा कृषक कहलिएका छन् ।
खत्रीको तरकारी उत्पादन हेर्दा प्राविधिक कृषि विज्ञले नै उत्पादन गरेजस्तो देखिन्छ । ‘‘मैले लगाएको खेती देखेर कृषि कार्यालयका कर्मचारी नै छक्क पर्छन् । मैले एउटै बोट काउलीमा पाँचदेखि सात किलोसम्मको उत्पादन गरेको छु’’, उनी भन्छन् । उनको बारीमा आजभोलि गोलभेंडाको एउटै बोटमा लटरम्म दाना फलेका छन् । गोलभेंडाको एउटै बोटमा राम्रो फले २० किलोसम्म फलाउन सकिने उनको भनाइ छ । गोलभेंडाबाट सबैभन्दा बढी आम्दानी गर्न सकिने तरकारीमा पर्दछ ।
गाउँकै अगुवा कृषक कहलिएका खत्रीले तरकारी खेतीबाट वार्षिक रु तीन लाख आम्दानी गर्छन् । बाबुको हौसलाबाट तरकारी उत्पादनमा लागेको उनले बताए । उनीका बुबा कृषि कार्यालयमा सहयोगी थिए । “बुबाकै प्रेरणा गर्दा आज म गाउँकै अगुवा कृषक भएको छु”, खत्रीले भने ।
मलबिना राम्रो उत्पादन गर्न नसकिने हुँदा खत्रीले तरकारी खेतीको लागि बाख्रा, भैँसी, गाई पालेका छन् । उनको १२ जनाको परिवार यही तरकारी खेतीबाट पालिएको छ । उनी भन्छन्, “मैले छोराछोरी जहान परिवार यसैबाट पालेको छु । परिवारको सहयोगले नै मैले बारीमा विभिन्न प्रकारका तरकारी फलाउन सफल भएको छु ।”
खत्रीले चार रोपनीमा तरकारी खेती गर्नुभएको छ् । उनले बारीमा मौसमी बेमौसमी सिमी, आलु, गोलभेंडा, काउली, बन्दाकाउली लगाएका छन् । तरकारीले बारीका गह्रा हराभरा देखिएका छन् । दैलेख क्षेत्र–२ जाने मूलबाटोमै उनको तरकारीखेती भएकाले अधिकाँश हिँडडुल गर्ने बटुवालेसमेत खत्रीको प्रशंसा गर्ने गरेको छोरा ओम खत्रीले बताए ।
तीनै फरक क्षमताका कृषक खत्री अधिकांश युवालाई विदेश नजान सल्लाह सुझाव दिने गर्छन् । स्वदेशमा पसिना बगाए सुन फल्ने उनको भनाइ छ । स्वदेशमा पैसा छैन भनेर विदेशमा भौंतारिने युवा अल्छी भएर विदेशिएको बताउँछन् ।
विदेशमा काम नगरेर धेरै पैसा कमाउन सकिन्छ भनेर धेरै युवा ऋण काढेर खाडी मुलुक जाने गर्छन् । उनी भन्छन्, ‘‘त्यहाँ गएपछि काम गर्नुपर्दो रहेछ भनेर थाहा पाएर आउँछन् । अनि स्वदेशमै काम गर्न थाल्छन् । पहिलेदेखि आफ्नै माटोलाई गोडमेल गरेको भए विदेशमा जानु पर्दैनथ्यो ।’’
खत्रीले १५ वर्षअघि कृषि कार्यालयबाट लिएको रु ४० हजारको अनुदानबाहेक अरु कुनै सरकारी एवं गैरसरकारी संस्थाबाट सहयोग लिएका छैनन् । गत वर्ष वडा कार्यालयले पोलिहाउस बनाउन दिएको प्लास्टिक एक पटकको तरकारी उत्पादन नहुँदै च्यातियो । उनी उत्पादित तरकारीलाई बजारको कुनै समस्या नभएको बताउँछन् । उनी भन्छन्, ‘‘घरमै आएर लैजान्छन् ।’’ वडा कार्यालयले बेलैमा बिउबिजन र बेलाबेलामा कृषि प्राविधिक पठाइदिए तरकारीखेतीमा कुनै रोग लागेमा समयमै उपचार गर्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्