काठमाडौं । साताको अन्तिम दिन शुक्रबार २ घण्टको कारोबारमा नेप्से परिसूचक १२.९२ अंकले बढेर २,१४०.३९ को विन्दुमा बन्द भएको छ । साथै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.९१ अंकले बढेर ४०९.५३ को विन्दुमा बन्द भएको हो ।
शुक्रबार कारोबारमा आएको १०३ कम्पनीको सेयर मूल्य बढेको छ । ७१ कम्पनीको घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर छ । सो दिन २१६ कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता सेयर २ अर्ब १९ करोड १६ लाख १९ हजार रुपैयाँमा खरिदबिक्री भए ।
कारोबार रकमको आधारमा शिवम सीमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको १२ करोड ८६ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । त्यस्तै लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख ३ हजार, सिटिजन इन्भेष्टमेण्टको ७ करोड ७९ लाख ६४ हजार, महालक्ष्मी विकास बैंकको ६ करोड ८ लाख २१ हजार र गोर्खाज फाइनान्सको ५ करोड ९६ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।
शुक्रबार २ घण्टको कारोबारमा दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रिलायन्स लाईफ इन्स्योरेन्स र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको हो । नेप्सेमा रिलायन्स लाईफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको थियो । सानिमा लाईफ इन्स्योरेन्ससँग मर्जको सम्झौता भएपछि सेयर कारोबार रोक्का गरिएको रिलायन्स लाइफको पुनः आजबाट सेयर कारोबार सुरु भएको हो । कम्पनीले असार २९ गते सानिमा लाइफसँग मर्ज हुने सम्झौता गरेको थियो ।
शुक्रबार १० वटा समूहगत उपसूचकहरु बढेको छ । सबैभन्दा बढी डेपलपमेन्ट बैंक उपसमूह ४.६१ प्रतिशतले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्