काठमाडौं । एमभी दुगड ग्रुपले मकवानपुरको हेटौँडा औद्योगीक क्षेत्रमा भेस्पा र अप्रिलिया स्कुटरको एसेम्बल प्लान्ट राख्ने भएको छ ।
मोतिलाल दुगड तथा विवेक दुगडको एमभी दुगड ग्रुपले आगामी आर्थिक वर्षको मध्यदेखि अप्रिलिया र भेस्पा स्कुटर नेपालमै उत्पादन गर्ने तयारी अघि बढाएको हो ।
एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडका अनुसार नेपालमा व्यापक बजार विस्तार गरिरहेको भेस्पा र अप्रिलियाका स्कुटरहरुको एसेम्बल गर्न दुगड अटो क्लिनिक प्राली नामको कम्पनी दर्ता भैसकेको छ । सुरुमा ४० करोडको लगानी गरेर हेटौँडा औद्योगीक क्षेत्रमा लिजमा लिईएको जमिनमा एसेम्बल प्लान्ट राखिनेछ । सुरुवाति चरणमा दुबै कम्पनीका दुई दुई मोडलका स्कुटरको एसेम्बल गरिने अध्यक्ष दुगडले सिंहदरबारलाई बताए ।
‘४० करोड लगानीमा अप्रिलिया र भेष्पाको एसेम्बल प्लान्ट बनाउने हो । हेटौँडा औद्योगीक क्षेत्रमा लिजको जमिन छ । उद्योग विभागबाट अनुमति पाईसकेका छौं । ६ देखि ८ महिनाभित्र उत्पादन थाल्छौं, मेसिनहरु पनि ल्याउनुपर्नेछ ।’, दुगड अटो क्लिनिकको समेत अध्यक्ष रहेका दुगडले भने । कम्पनीको व्यवस्थापकिय नेतृत्व भने विवेक दुगडले सम्हाल्नेछन् ।
नेपालमा अटो मोबाइलको बजारले गतिलिएपछि उत्पादन क्षमता विस्तार गर्ने पनि उनले बताए । ‘अहिले अटो मोबाइलको बजार आधा घटेको छ, अझै दुर्ईदेखि ३ वर्षसम्म अवस्था के हुने हो ? थाहा छैन्, हामी अवस्था सामान्य हुने वित्तिकै उत्पादन क्षमता र भेइराटी पनि बढाउँछौं’, दुगडले भने ।
कम्पनीले एक सय ५० जनालाई रोजगारी दिने पनि उनले जानकारी दिए । साथै निकट भविष्यमा तीन पाङग्रे सवारी साधनको समेत उत्पादन गर्न सकिने गरि योजना बनेको पनि दुगडले बताए । उनले सरकारले अघि सारेको भन्सार तथा अन्तशुल्कको छुट सुबिधाले भने निरन्तरता पाउनुपर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया दिनुहोस्