काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले दाबी गरेअनुसार पुँजीबजार सुधार सुझाव समिति २ दिन बित्दासम्म गठन हुन सकेको छैन । त्रिपक्षीय छलफलका क्रममा गठन गर्ने निर्क्योल गरेपनि समिति गठनले औपचारिकता पाउन नसकेको हो ।
बुधबार बिहान अर्थमन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालबीच समिति बनाउने निर्क्योल भएको थियो । लगत्तै बोर्डको ३० औं वार्षिकोत्सवमा मन्त्री शर्माले सुझाव समितिको बनाएको उद्घोष गरेका थिए ।
नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशकको संयोजकत्वमा समिति बनाउने तय भएको थियो तर अर्थ मन्त्रालयबाट हालसम्म पनि औपचारिक पत्र प्राप्त भएको छैन ।
सरकारले गठन गरेको पुँजी बजार सुधार सुझाव समितिको अझै टुंगो नलागेको बोर्डका अध्यक्ष हमालले पुष्टि गरे । अर्थमन्त्री जनार्दन शर्माले ‘गठन भइसक्यो’ भनेको समितिको संयोजकत्वको जिम्मेवारी पाएको बोर्डले अझै सो सम्बन्धि आधिकारिक पत्र मन्त्रालयबाट प्राप्त नभएको अध्यक्ष हमालले बता ।
मन्त्री शर्माले हमाल र अधिकारीसँग गहन छलफल गरी पुँजी बजार सुधार समिति गठन गरिसकेको जानकारी गराएका थिए । जसमा बोर्डको तर्फबाट एक जना कार्यकारी निर्देशक संयोजक, राष्ट्र बैंक र अर्थ मन्त्रालयबाट सदस्य प्रतिनिधि रहने तथा बोर्डबाट सदस्य सचिव बस्ने बताइएको थियो ।
अर्थमन्त्रीको सो मन्तव्य पछि पुँजी बजारका लगानीकर्ता हौसिएर किन्न लाग्दा नेप्से ६० अंकले वृद्धि भएको थियो । पुँजी बजार सुधार समितिले बजारका समस्याहरु निक्र्यौल गरी सोको सम्बोधन हुने आशामा लगानीकर्ताहरुको मनोबल उच्च भएको थियो ।
तर, समिति गठन भएको घोषणा गरिएको २ कार्यदिन बितिसक्दा पनि समितिको आधिकारिता माथि अन्योलता सिर्जना भएको हो । तर, हालसम्म त्यस प्रकारको कुनै पनि पत्र आफूलाई प्राप्त नभएको बोर्ड अध्यक्ष हमाल बताउँछन् ।
‘अर्थ मन्त्रालय वा मन्त्रीले बोर्डमा आधिकारिक रुपमा समिति गठनको लागि केही भन्नुभएको छैन,’ बोर्ड अध्यक्ष हमालले सिंहदरबारसँग भने, ‘पहिले त मन्त्रालयबाट समिति गठन गर्ने निर्णय भएकोे पत्र बोर्डमा आउनु पर्यो, त्यो अहिलेसम्म आएको छैन, त्यो निर्णय पाप्त भएपछि हरेक संस्थाले आफ्नो तर्फबाट पठाउनु पर्ने प्रतिनिधि छनौट गर्छ ।’
बुधबार विभिन्न सञ्चार माध्यमले बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकमा सो समिति गठन भएको समाचार सम्प्रेषण गरेका थिए । तर, गिरी यही जेठ ३१ गते जागिरबाट अवकाश प्राप्त गरी घर जाने हुँदा उनलाई सो जिम्मेवारी नदिइने अध्यक्ष हमालले जानकारी दिए ।
‘समितिका बोर्डको कार्यकारी तहको संयोजक राख्ने भनिएको छ, बोर्डमा कार्यकारी अरुपनि हुनुहुन्छ निरज जी त घर जाँदै हुनुन्छ,’ अध्यक्ष हमालले भने, ‘अहिले नै कसलाई संयोजक बनाउने तय भइसकेको छैन ।’
अर्थमन्त्रालयबाट पुँजी बजार सुधार समिति गठन गर्ने निर्णय भएको र सोको संयोजक गर्न कार्यकारी खटाउनु पर्ने भनेर बोर्डमा पत्र आएपछि मात्र व्यक्ति छनौट हुने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्