काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर घटाएरै भएपनि पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई सुझाव दिएका छन् । शनिबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमार्फत पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई सुझाव दिएका हुन् ।
दिन प्रतिदिन बढिरहेको महंगीका कारण जनता आजित भइसकेको हुँदा मूल्यवृद्धिको मारबाट जनतालाई छुटकारा दिन सरकारले कर घटाउनु पर्ने उनको भनाइ छ ।
‘दिनप्रति दिन बढेको महंगीका कारण जनता आजित हुने परिस्थीति बनेको छ, यसको सामना हामीले गर्नुछ । सरकारलाई मेरो सुझाव, पेट्रोलियम पदार्थको मूल्य वृद्धि जसरी भएको छ, छिमेकी देशहरुले मूल्य वृद्धिको मारबाट जनतालाई जोगाउनको लागी उठाउने करमा छुट दिएर मूल्य समायोजना गरेका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पनि यसअघि पेट्रोलियम पदार्थमा लगाउने गरिएको कर घटाएर वा हटाए जसरी भएपनि जनतालाई राहत दिने विषयमा सरकारको ध्यान जाओस् ।’
केही समयअघि मात्रै आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत कर घटाएर मूल्य वृद्धि रोक्न सुझाव भेटेरै दिएको उनले बताए । सरकारले मूल्य वृद्धि रोक्न नसके जनतामा असन्तुष्टी र आक्रोस बढी समस्याले गम्भिर रुप लिने उनको भनाइ छ ।
मन्त्रिपरिषदको वैठकले इन्धनमा कर घटाउने निर्णय गरिसकेको छ तर कुन शीर्षकमा भन्ने खुलाइएको छैन । यो विषय बजेटमा उल्लेख गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्