काठमाडौं । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । हमालले निवर्तमान मेयर कांग्रेसका उम्मेदवार नृपबहादुर ओडभन्दा झण्डै दोब्बर मत ल्याए ।
उपमहानगरमा कुल ६३ हजार ७१५ मत खसेको थियो । हमालले २६ हजार ८६५ मत ल्याउँदा ओडले १४ हजार ८१७ मत मात्रै पाए ।
उपमेयरमा भने एमालेकी कन्दकला राना विजयी भइन् ।
धनगढीका १९ वटा वडामध्ये कांग्रेसले ११ वटा वडा जितेको छ भने एमालेले ६ वटा र माओवादीले २ वटा वडा जितेको छ ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिकामा मेयरमा स्वतन्त्र उमेदवार हर्क साम्पाङले अग्रता कायम राखेका छन् । उनले १६ हजार ८६७ मत ल्याउँदा नेपाली कांग्रेसकै उमेदवार किशोर राई दोस्रो स्थानमा छन् । राईले १३ हजार ९९५ मत पाएका छन् ।
साम्पाङले प्राप्त गरेको र गन्न बाँकी मतका आधारमा उनैले मेयर जित्ने पक्का छ । साम्पाङले लौरो चुनाव चिह्नबाट चुनाव लडिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्