काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड भन्दा बढी पुगेको छ । २०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको छ । समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० लाख ९१ हजार ७८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक छन् । अघिल्लो महिना अर्थात २०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ र थ्रीजी ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ रहेको थियो ।
नेपाल टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पौष १७ गतेबाट काठमाडौं र पोखराबाट शुरु गरेको फोरजी/एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ ।
फोरजी सेवा प्रयोग गर्नका लागि उपयुक्त मोबाइल फोन सेटका साथै सिम कार्ड पनि सेवा चल्ने हुनु पर्दछ र फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा हुनु जरुरी छ ।
कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक हुन्छ । मोबाइल सेट खरिद गर्दा उक्त सेटको प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी थाहा पाउन सकिन्छ । त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्