काठमाडौं । मौन अवधिमा गाउपालिका अध्यक्ष तथा उपाध्यक्षका प्रत्यासीले मत प्रभावित गर्न खाजेको भन्दै भोजपुरको अरुण गाउपालिकामा स्थानीयले उम्मेदवारलाई घेराउ गरेका छन् । अरुण गाउँपालिकाको वडानम्र ७ स्थित सिक्रेटारमा लिलाबहादुर खड्काको घरमा बुधबार राती ९ बजे नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार नारायण प्रसाद घिमिरे सहितको समुहलाई स्थानीयले मौनअवधिमा गाउँमा भेटेपछि नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको भन्दै स्थानीयस्तरका माओवादीका कार्यकर्ताहरुले एमालेकी गाउँपालिका उपाध्यक्षकी उम्मेदवार कविता राईसमेतलाई मत मागिरहेको अवस्थामा भेटे पछि झडपको स्थित बनेको थियो ।
निर्वाचन आयोगले मौन अवधि सुरु भएपछि चुनाव लक्षित प्रचारप्रसारका कुनै पनि गतिविधी नगर्न भनेको छ । तर त्यसको विपरित मौन अवधिमा अध्यक्ष र उपाध्यक्षका प्रत्यासीले राती गाउँमा गएर वृद्धभत्ता बढाइदिने, पैसा चामल दिने लगायतका लोभ देखाएर भोट मागेको भेटिएपछि माओवादी कार्यकर्ताले उनीहरुलाई गाउँबाट तत्काल निस्किन आग्रह गरेका थिए । वास्तविकता बुझ्न गएका स्थानीयसहितका माओवादी कार्यकर्ताहरुलाई उनीहरुले धम्क्याएको आरोप लगाएका छन् ।
आफूहरुले मौनवधीमा यस्तो कार्य गर्न नपाइने र यो निर्वाचन आचारसंहिता विपरित हुने भनी सम्झाउँदा सक्छौ भने तिमीहरु पनि गाउँगाउँ जाऊ तर हामीलाई बाधा पुर्याए अवस्था राम्रो नहुने भन्दै धम्की दिएको स्थानीयले बताएका छन् । संहिता विपरित काम नगरौं भन्दा उल्टै धम्क्याउनु गलत भएको उनीहरुको भनाई छ ।
माओवादी केन्द्रको पकड क्षेत्र सिक्रेटारमा स्थानीयलाई नगद समेत वितरण भईरहेको भन्ने सूचनाका आधारमा आफुहरु त्यहाँ पुगेको मोवादीका स्थानीय नेताले बताए ।
उनीहरुको साथमा रहेको झेला नियन्त्रणमा लिएर जाँचबुझ गर्दा सामान्य खर्च रकम मात्र भेटिए पछि तत्काल फर्किने सहमतिमा उनीहरुलाई छाडिएको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्