Shikhar Insurance
National Life

गोकर्णेश्वरमा नेपाली काँग्रेसको बलियो दाबेदारी, नेपाल–रिसालले चुनाव जितेपछि यस्ता काम गर्ने

सिंहदरबार संवाददाता
२०७९ बैशाख २७, मंगलवार २२:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको उपमेयरमा सबैभन्दा बलियो दावेदार हुन्, शान्ति नेपाल । स्थानीय तह सदस्य निर्वाचन सम्मुखमै हुँदा अघिल्लो कार्यकालमा गरेको योगदान, चुनावी एजेन्डा, माहोल, लोकप्रियता र उनको कन्फिडेन्सले नेपाललाई जित नजिक रहेको देखाउँछ ।

आफूलाई ‘गर्भै नेपाली काँग्रेस’ दाबी गर्ने ५६ वर्षिया नेपाल प्रतिस्पर्धीको तुलनामा अब्बल त हुन् नै लोकप्रियता पनि उनकै पक्षमा छ । वि.सं. २०७४ को स्थानीय निर्वाचनबाट उपमेयर निर्वाचित भएर ५ वर्ष जनताको सेवामा रहेकी उनी गोकर्णेश्वरबासीको सेवामा निरन्तर लागिपर्ने प्रतिवद्धता व्यक्त गर्छिन् । विगतका उपलब्धिलाई आत्मसाथ गर्दै भविष्यमा सेवाभावलाई निरन्तरता दिन नेपालको उम्मेदवारी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शान्ति नेपालको रगतमै गोकर्णेश्वर र नेपाली काँग्रेस छ । यहीँ जन्मिएकी नेपाल वि.सं. २०३६ सालको जनमत संग्रहका बेलैदेखि राजनीतिमा होमिएकी हुन् । त्यतिबेलै बहुदलको पक्षमा समर्थन गरेको उनको इतिहास छ ।

२०४६ सालमा प्रजातन्त्र पुनबर्हाली गर्न भएको आन्दोलनमा सक्रिय रुपमा लागेको थिइन् । नेपालले वि.सं. २०४९ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्य लिएकी हुन् । उतिबेलै पेशाले शिक्षक हुँदाखेरी राजनीति अंगालेकी थिइन् ।

वि.सं. २०५३ सालमा गोकर्ण महिला संघको अध्यक्ष हुँदैगर्दा २०५४ सालको स्थानीय निकाय र २०५६ सालको केन्द्रिय निर्वाचनमा सक्रियता देखाइन् । काँग्रेसको ११ औं अधिवेशनमा परिवेक्षकको रुपमा सहभागी भइन् ।

वि.सं. २०६२/६३ को जनआन्दोलनमा कर्फ्यु तोड्दै जोरपाटीसम्म अग्रपंक्तिमा रहिन् । चैत २७ गते चुच्चेपाटीमा गोली चल्दा नेपालले झण्डै सहादत प्राप्त गर्नुपरेको थियो । चाबहिलमा नेपाली काँग्रेसको तर्फबाट महिलाको नेतृत्व गर्दै बोल्ने मौका पाउँदा निरंकुश राजतन्त्रको विपक्षमा वकालत गरिन् । त्यसपछि उनको जीवनले अर्को मोड लियो ।

नेपाली काँग्रेसको १२ औं अधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि बनिन् । त्यसपछि उनी काँग्रेसको सक्रिय राजनीतिमा पनि छिन् ।

आफू जन्मेको ठाउँमा विभिन्न संघसंस्था रहेर काम गर्दा आफ्नो नगरलाई चिन्न उनलाई असहज भएन । गोकर्णेश्वरको छोरी र गोकर्णेश्वरकै बुहारी, शान्ति नेपाल । त्यसैले त, सो भुमीप्रति उनको माया अटुट, अतुलनीय छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनबाट उपमेयर निर्वाचित भएपछि आम सर्वसाधारणको हीतमा काम गर्ने नेपालको अठोट पुरा भयो । ५ वर्षसम्म स्वच्छ सेवाभावले काम गरिन् ।

आम सर्वसाधारण दुःखमा परेको उनी देख्न सक्दिनन् । उपमेयर हुँदा उनीसमेतको पहलमा जोरपाटी सुन्दरीजल बाटो पिच भयो, त्यो पनि इतिहासमा दोस्रोपल्ट ।

५ वर्षमा नेपाललगायत जनप्रतिनिधिले जे जति काम गरे गोकर्णेश्वरबासीले त्यसको प्रशंसा गरेका छन् । दोस्रो कार्यकालका लागि भोट माग्दै गर्दा उनलाई र उनको कार्यशैलीप्रति प्रश्न उठाउने कोही छैनन् ।

नगरको उपप्रमुख योजना तर्जुमा गर्ने संयोजक रहन्छ । नेपालले कुन ठाउँमा के आवश्यकता छ भन्ने आधारमा योजना बनाइन् । अघिल्लो चुनावमा गरेको प्रतिवद्धता पूरा गर्न दत्तचित्त रहिन् ।

केही वर्ष सिक्दै गर्दा र ऐन कानुन बनाउँदै गर्दा र केही अवधि कोरोना महामारीको चपेटामा कार्यकाल व्यतित भयो । कारोनाविरुद्धको अभियानमा शान्ति नेपालको पाइला सबैभन्दा अगाडि रह्यो । जोखिम मोलेरै गाँस र बास गुमाएकालाई खाने बस्ने प्रबन्ध गर्ने कामलाई निरन्तरता दिइन् ।

यसबीच स्वास्थ्यजस्तो अद्वितीय आवश्यकतामा संकट छायो । आईसोलेसन तथा क्वारेन्टिनको व्यवस्था नगरले गर्यो । रोजगारी गुमाएकालाई सामुहिक खाना खुवाउने, घरघरमा अक्सिजन सिलिन्डर पुर्याउने काम उनीसंलग्न जनप्रतिनिधिको पहलमा भयो ।

आफ्नो लगनशीलता, जनताको विश्वास र काम गर्ने अवसरमा देखाएको अग्रसरताका कारण स्थानीयले पत्याएको बताउँदै शान्ति नेपाल जित्ने सहज वातावरण बनेको विश्वास गर्छिन् । “वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनमा जित्न सकिन्छ भन्ने आत्मविश्वास पैदा भएको छ,” नेपालले भनिन् ।

संघ र प्रदेश तहमा निर्वाचित जनप्रतिनिधि फर्केर साथ दिन नगए पनि आफूसहित स्थानीय तहमा निर्वाचितहरुले जनताको भावना र पिडा साटेको सुनाउँछिन् उनी । महामारीमा ज्यान गुमाउनेको शव व्यवस्थापन गर्न उनी लागि परिन् । दैनिक १४–१५ हजार ज्यालादारी मजदुरलाई खानाको प्रबन्ध गर्न नगरपालिकाको समन्वयनमा जुटेको सहयोग सामाग्री वितरणमा अग्रसरता देखाइन् ।

आफू जन्मेदेखि एकपल्टमात्र कालोपत्र भएको जोरपाटी सुन्दरीजल सडकलाई स्थानीयवासीको आवश्यकताअनुसार र उनीहरुमाथि अन्याय हुन नदिइ निर्माण प्रक्रिया सम्पन्न गर्न आफूले सहयोगी भुमिका खेलेको नेपाल सुनाउँछिन् । “बाटो बन्नुपर्छ, तर जनतालाई सुकुम्वासी बन्न दिनु हुँदैन भन्ने संघर्ष गरेका थियौं,” नेपालले भनिन्, “बाटो पिच भएको छ । अब दुईतिर पेटी बनाउन बाँकी छ । त्यो हामी बनाउँछौं ।”

गोकर्णमै जन्मिएकाले उनलाई सो क्षेत्रको एकेक वस्तुस्थिति र परिवेशबारे अवगत छ ।

“अहिले हामीलाई जनताले मन पराएका छन्,” नेपालले भनिन्, “फोहोरमैला व्यवस्थापनमा गोकर्णेश्वर नगरपालिकाले हासिल गरेको उपलब्धि आज सबैका लागि उदाहरणीय छ ।” गोकर्णेश्वरले जापानबाट प्रविधि भित्र्याएर फोहोर व्यवस्थापन गरेको हो । नगरपालिकाका लागि एउटामात्र मेसिन अझै पर्याप्त नभएको सुनाउँदै अर्को कार्यकाल निर्वाचित भए वडैपिच्छे राख्ने योजना रहेको उनले सुनाइन् ।

नेपालका अनुसार आफू पहिलोपल्ट उपमेयर निर्वाचित भएपछि गरेको पहिलो प्रतिवद्धता र निर्णयअनुसार सो काम गरेको हो । जापानी प्रविधि वातावरणमैत्री फोहोरमैला व्यवस्थापन प्रणाली हो, जसलाई आम सर्वसाधारण, सरोकारवाला मिडिया आदिले सराहना गरेका छन् । केही स्थानीय तहमा जनप्रतिनिधिको उम्मेदवारहरुले त नामै तोकेर गोकर्णेश्वरले गरे झैं फोहोर मैला व्यवस्थापन गर्ने चुनावी एजेन्डा बनाएको नेपाल सुनाउँछिन् ।

उपमेयर रहँदा महिला लक्षित, ज्येष्ठ नागरिक, एकल महिना, फरक क्षमताका व्यक्तिका लागि विविध कार्यक्रम सञ्चालन गरेको नेपालको दाबी छ । हरेक क्षेत्रलाई नागरिकलाई उद्यमशील बनाउन नगरले सहयोगी भुमिका खेलेको छ ।

नगरले युवालाई शीपमुलक तालीम दिने गरेको छ । नेपालसहित गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिलाई गोकर्णेश्वर बासीले वाहवाही गरेका छन् ।

विपक्षी दलका समर्थन गर्नेहरु पनि ‘तपाईं जस्तो राम्रो काम गर्नेलाई भोट नदिए कसलाई दिने ?’ जस्ता प्रतिक्रिया पाउँदा नेपाल आत्मविश्वासी देखिछिन् ।

नेपालले भनिन्, “निर्वाचनमा जनमतले हामीलाई चुन्ने हो । जस्तोसुकै परिणाम आउन सक्छ । तर, माया पाउँदा खुसी लागेको छ ।” भोलिका दिनमा पनि विगतका कामलाई निरन्तरता दिने र बाँकी कामलाई समयमै पुरा गर्ने नेपालको योजना छ ।

तारेभिरमा मञ्जुश्री, शिव र बुद्धको मुर्ति राख्ने, सिँढी बनाउने जस्ता काम नगरको गौरवको योजना हो । गोकर्णमा बाँध बाँधेर स्टिमर चलाएर पर्यटन प्रबद्र्धन गर्ने लगायत काम नेपाल दोस्रो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता गर्छिन् ।

“पार्टीले पत्यायो र मलाई टिकट दिएर पठायो,” नेपालले भनिन्, “जनता र पार्टीले गरेको विश्वासअनुसार काम गर्न प्रतिवद्ध छु । जनताको अहित हुने काम कदापी गर्दिनँ ।”

मेयरमा दिपक रिसाल

नेपाली काँग्रेसबाटै मेयरका दावेदार हुन्, दीपक रिसाल । उनीसँग नगरपालिकाको प्रमुख सल्लाहकार भएर काम गरेको अनुभव छ। मेयर सन्तोष चालिसेको प्रमुख सल्लाहकार हुँदा उनले काम गर्ने तरिका सिके । जनतासँग धेरै परिचित भए । फोहोरमैला व्यवस्थापन, खानेपानीसम्मको काम गरे । विकासका पूर्वाधार निर्माण पनि सुरु गर्न सघाए ।

नगरभित्र थालनी भएको विकासको निरन्तरताका लागि पनि उनी आफ्नो जित आवश्यक रहेको बताउँछन् ।

जोरपाटी–सुन्दरीजल बाटो विस्तारको काम सक्नेदेखि नगरले अघि सारेका अन्य आयोजना पूरा गर्न रिसालको नेतृत्व जनताले आवश्यक भएको महसुस गरेका छन्। यो क्षेत्रको पर्यटकीयदेखि अन्य विकासका लागि पनि रिसालले केही योजना बनाएका छन् ।

यस्तो छ उनीहरुको संयुक्त प्रतिवद्धता
दिपक रिसाल मेयर र शान्ति नेपाल उपमेयरको दावेदार रहेको गोकर्णेश्वरमा नेपाली कांग्रेसको नै बाहुल्यता छ। अघिल्लो कार्यकालमा मेयरको प्रमुख सल्लाहकार र उपमेयर रहेर काम गरिसकेका रिसाल–नेपालको जित पक्का मानिएको छ ।

गोकर्णेश्वर गाउँ र नगर मिसिएर बनेको छ। बौद्धदेखि बागद्वारसम्म फैलिएको यो क्षेत्रमा दुवैलाई व्यवस्थापन गर्नुपर्ने छ। सुन्दरीजलदेखि माथिका गाउँहरुमा शिक्षादेखि स्वास्थ्यको पहुँच वृद्धि गर्नुपर्ने छ भने सहरमा स्वास्थ्यको चाप बढ्दै गएकाले गुणस्तरीय अस्पतालहरु निर्माण गर्नुपर्ने छ। यसका लागि नगरले गुरुयोजना र पञ्चवर्षीय रणनीति बनाएर काम गर्ने रिसाल–नेपालको योजना छ ।

नेपाली काँग्रेसको घोषणापत्र अनुसार मेयर र उपमेयर उम्मेदवारद्वयले गोकर्णेश्वर घोषणपत्र तयार पारेका छन् । घोषणापत्रमा प्रतिवद्धता, सोच, लक्ष्य, शिक्षा स्वास्थ्य तथा सामाजिक विकासका कार्यक्रम, भौतिक पूर्वाधार निर्माण, मानव संशाधन विकास, खेलकुद, संस्कृति संरक्षण, सरसफाई, खानेपानी, सिंचाईमा आफू निर्वाचित भए गर्ने कामहरु उल्लेख छन् ।

घोषणापत्र अनुसार काँग्रेसले जिते कृषि र पर्यटन क्षेत्र विकास प्राथिमकितामा रहनेछ । रोजगारमुलक काम जनप्रतिनिधिले गर्नेछन् ।

सम्भावना भएको वडाको पहिचान गर्ने, ७० वर्ष नाघेक वृद्धलाई धार्मिक यात्रा गराउने, मञ्जुश्री, महादेव र बुद्धको शालिक बनाउने, गोकर्ण मन्दिरमा धार्मिक महोत्सव आयोजना गर्ने, जडिबुटीको पहिचान गर्नेगायत उनीहरुको योजना छ ।

प्रत्येक वडामा ५ शैय्याको अस्पताल बनाउने, वृद्धको निःशुल्क स्वास्थ्य जाँच गर्ने, दीर्घरोगीलाई उपचार खर्चमा सहयोग गर्ने, आँशा शिविर राख्ने जस्ता योजना घोषणा पत्रमा उल्लेख छन् ।

यस्तै ६५ वर्षभन्दा माथिका वृद्धलाई दसैैंमा ५ हजार रुपैयाँ भत्ता दिने उल्लेख घोषणपत्रमा छ । एकल पुरुषलाई पनि भत्ताको व्यवस्था गरिने र वृद्धभत्ता सजिले पाउने व्यवस्था गर्ने योजना उनीहरुको छ ।

शिक्षा विकासका लागि उपमेयरको नेतृत्वमा गाउँ शिक्षा समिति बनाउने योजना तय गरिएको छ । सामुदायिक विद्यायलयमा पढ्ने विद्यार्थीलाई वर्षमा एकपल्ट पोशाक किनिदिने योजना घोषणापत्रमा उल्लेख छ ।

यस्तै चिकित्सा शिक्षा परिक्षामा पास भएकालाई १ छात्र र एक छात्रालाई छात्रवृत्ति दिने र उनीहरुले एमबीबीएस पास गरेपछि कम्तिमा २ वर्ष गोकर्णेश्वरको स्थास्थ्य चौकीमा काम गर्नुपर्ने व्यवस्था गरिनेछ ।

प्रत्येक वर्ष १ जनालाई नर्स पढाउने र कम्तिमा २ वर्ष स्वास्थ्य चौकीमा काम गर्ने वातावरण बनाइनेछ । १० कक्षा माथि इन्टर्नसिप गराउने, शिक्षकलाई तालीम र प्रोत्साहनको व्यवस्था गर्ने, साक्षर नागरिकलाई आयआर्जन गर्न सक्ने तालीम दिने उनीहरुको उद्घोष छ ।

उनीहरुले नगरपालिकाको जग्गाको वर्गीकरण तथा नक्सांकन गर्ने योजना ल्याएका छन् ।

लोकसेवा वा शिक्षकको तयारी कक्षा दिने, वैदशिक रोजगारमिा जान चाहनेलाई आधारभुत तालीम दिने, लैंगिक हिंशा कम गर्न तालीम दिने योजना उनीहरुको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्