चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ८ सन्तपुर निवासी रामरती चौधरी नेकपा एकीकृत समाजवादीको तर्फबाट ‘कलम चिन्ह’ लिएर उपमेयर पदका लागि चुनावी मैदानमा उत्रिएकी छिन् । थारु समुदायबाट राजनीतिमा उदाएकी रामरती २०७४ सालमा पनि तत्कालीन नेकपा एमालेबाट चन्द्रपुरको उपमेयरमा निर्वाचित भएकी थिइन् ।
झापाको बिर्तामोडमा जन्मिएकी उनी २०४३ सालमा सन्तपुरका बिनोद चौधरीसँग बिवाह बन्धनमा बाँधिएसँगै रौतहट जिल्लावासी भएकी हुन् ।
उनी झापामा कक्षा ७ मा पढ्दादेखि (विसं.२०४०) नै राजनीतिमा लागेकी हुन् । स्कूले जीवनदेखि बिधार्थी राजनीतिमा लागेकी उनी विभिन्न संगठन र सामाजिक कार्यहरुमा संलग्न रहँदै सक्रिया पार्टी राजनीतिमा संलग्न हुँदै आएकी छिन् ।
हाल नेकपा एसकी नेतृ उनले उपमेयर पदमा रहेर पाँचवर्ष जनताको सेवा गरिसकेकी छिन् । उपमेयर पदमा रहँदा न्यायिक समितिको संयोजकका हिसावमा महिला, दलित, जनजातिको हितमा पक्षमा काम गरिन् ।
५४ वर्षीय रामरतीले विगतमा महिला अधिकार र सरसफाईको क्षेत्रमा गैरसरकारी संस्थामा रहेर काम गरेकी थिइन् भने उनी केही वर्ष शिक्षण पेशामा पनि संलग्न भएकी थिइन् । शिक्षण पेशाबाट राजीनामा दिएर उनी २०७४ सालमा उपमेयर पदमा उठिन् र जीत पनि हासिल गरिन् ।
थारु महिलाहरुको तर्फबाट उनी पहिलो पटक उपमेयर बनेकी हुन् । महिलाहरुले घुम्टो ओढेर घरभित्रकै काम गर्ने हो भन्ने मान्यतालाई चिर्दै उनी घरबाहिर निस्केर सामाजिक सेवाको क्षेत्रमा सक्रिय भएकी थारु समुदायकी महिला हुन् ।
विगतमा उपमेयर भएर आफूले गरेको असल कर्मबाट फेरि पनि उपमेयर पदमा आम सर्वसाधारणले विश्वास गरेर ‘कलम चिन्ह’मा मत दिई बिजय गराउने कुरामा उनी ढुक्क छिन् । आफूले विगतमा शुरु गरेको सुधारका कामलाई थप शसक्त ढंगले अघि बढाउन समेत आफू चुनाबी मैदानमा उत्रिएको उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस्