काठमाडौं । भुक्तानी समस्याका कारण इन्टरनेट सेवा बन्द गर्नुपर्ने स्थितिमा पुगेका इन्टरनेट कम्पनीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले समस्या समाधान गरिदिने आश्वासन दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ (इस्पान) का पदाधिकारीलाई ब्यान्डविथ आयातको भुक्तानी गर्न डलर साट्न सिफारिस गरिदिने आश्वासन दिँदै मन्त्री कार्कीले समस्या तत्काल सम्बोधन गर्ने बताएका हुन् ।
सोमबार साँझ मन्त्री भट्न पुगेका इस्पानका पदाधिकारीलाई डलर साट्ने सिलारिस दिने, महालेखा परिक्षक कार्यालयले देखाएको बेरूजु फर्छ्योट गर्न प्रबन्ध गरिदने लगायत आश्वासन दिएको इस्पानका अध्यक्ष सुधीर पराजुलीले सिंहदरबारलाई जानकारी दिए ।
पराजुली नेतृत्वको प्रतिनिधिमण्डलले भुक्तानी स्वीकृति नदिए इन्टरनेट बन्द हुने अवस्थामा पुगेको जानकारी गराएका थिए । मन्त्रालयले इन्टरनेट कम्पनीलाई तह लगाउन डलर साट्ने सिफारिस नदिँदा इन्टरनेट कम्पनीले ४ अर्ब रूपैयाँ बराबरको ब्यान्डविथको भुक्तानी गर्न सकेका थिएनन् । इस्पानले भुक्तानी दिन नपाए एक साताभित्र इन्टरनेट नै बन्द हुने र यसको कारण सरकार स्वयम हुने बताएको थियो ।
नेपाली इन्टरनेट कम्पनीले टाटा तथा रिलायन्सलगायत कम्पनीबाट व्यान्डिथ किन्ने गर्छन् । सञ्चारमन्त्री कार्कीको नेपालमा कुनै हालतमा इन्टरनेट बन्द गराउनु पर्ने अवस्था आउन नदिने आश्वासन दिएको पराजुलीले जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्