Shikhar Insurance
National Life

फेवा तालदेखि बेगनास तालसम्म मेट्रो रेल चलाउँछौंः आचार्य

सिंहदरबार संवाददाता
२०७९ बैशाख १८, आईतवार ०९:००
Hyundai
NCELL
NIMB

पोखरा । स्थानीय निर्वाचनका लागि संयुक्तरुपमा निर्वाचनमा होमिएका पाँच दलीय गठबन्धन यतिखेर समुन्नत पोखराका सात प्रस्थान बिन्दु तय गर्दै चुनावी अभियानमा जुटेको छ ।

‘समुन्नत पोखराको आधारः सबल अर्थतन्त्र र पूर्वाधार’ भन्ने मूल उद्देश्यका साथ शिक्षित, सभ्य तथा मर्यादित महानगरवासी, सुरक्षित र न्यायपूर्ण समाज, स्वास्थ्य र सन्तुलित पर्यावरण, सुशासन र जवाफदेहिता, स्रोतको समुचित व्यवस्थापन, प्रविधिमैत्री सेवा प्रवाह समुन्नत पोखराका प्रमुख प्रस्थान बिन्दुका रुपमा रहेको गठबन्धनको घोषणापत्रमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शिक्षा, स्वास्थ्य, उद्यमशीलता, रोजगार तथा मानवसंशाधन विकास, पूर्वाधार, पर्यटन, खेलकुद, शहरी स्वच्छता, नगरको सुशासन, कृषि प्राथमिकतामा रहेको बताउँदै पोखरा महानगरमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार धनराज आचार्यले घोषणापत्रको शब्द–शब्दप्रति आफू उत्तरदायी भएको बताए ।

गठबन्धनले पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न महत्वकाङ्क्षी योजना अघि सारेको छ । फेवातालदेखि बेगनासताल जोड्ने मेट्रोको अवधारणा, पोखरा चक्रपथको निर्माणसँगै मध्य पहाडी र सिद्धार्थ राजमार्ग जोड्ने बाइपास सडक, सेती नदीको सौन्दर्यीकरण, प्राचीन पोखराको संरक्षण, ल्यान्डफिडसाइट व्यवस्थापन, बसपार्क निर्माणलगायतका विषय घोषणापत्रमा समेटिएको छ । महानगरमा गरिब, मध्यम वर्ग र उच्च वर्गको वर्गीकरण गरी सहुलियत कार्ड बनाइने गरिने घोषणपत्रमा भनिएको छ ।

फेवा तालबाट १० किलोमिटर दूरीमा रहेको बेगनाश तालमा मेट्रो चलाउन सकिने बताउँदै आचार्यले यस कामका लागि आफ्नो घर आफ्नो शहर आफैँ बनाउँ भन्दै अघि बढ्ने धारणा व्यक्त गरे । मेट्रोसहित पोखराको समृद्धिका योजना सफल बनाउन विदेशिएको जनशक्तिलाई ज्ञान, सीप र पैसा लिएर आउनसमेत आग्रह गरिने उनको भनाइ छ ।

न्यून ब्याजदरमा रकम दिने संस्थासँगको सहकार्यका माध्यमबाट आर्थिक सहयोग जुटाउनुका साथै पोखरा विकास प्राधिकरण गठन गरी पोखरावासीलाई लगानीका लागि प्रोत्साहित गर्ने योजना उनले सुनाए ।

ल्याण्डफिलसाइट नसारेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसक्ने र त्यसका लागि आवश्यक अध्ययनसमेत भइसकेका अवस्थामा फोहरलाई मोहरमा परिणत गर्ने योजना ल्याउनुपर्नेमा गठबन्धनले जोड दिएको छ । पोखराको ढल फेवातालमा मिसाएर विगतका जनप्रतिनिधिले गल्ती गरेको उल्लेख गर्दै आचार्यले त्यसलाई सुधारेर बाइपास ढल बनाउने प्रतिबद्धता व्यक्त गरे ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै द्रुत मार्ग निर्माण गर्नुपर्ने उल्लेख गर्दै घोषणापत्रमा मुस्ताङचोकदेखि कोत्रेसम्म द्रुतमार्ग बनाउने योजना अघि सारिएको छ । प्राचीन पोखराको मौलिकता समेतलाई जोगाउँदै यहाँको पर्यावरणलाई जोड दिने र पोखराको बीचभागबाट बग्ने सेती नदी वरपरको क्षेत्रलाई सुन्दर बनाउनुका साथै पोखरामा रहेका रत्नमन्दिर, हिमा गृह र शान्ति वन बाटिका जस्ता स्थललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने आचार्यले बताए ।

लामो समयदेखि चर्चामा रहेर पनि कार्यान्वयनमा आउन नसकेको पोखरा चक्रपथको अवधारणालाई कार्यान्वयनमा ल्याउने र यसलाई मध्यपहाडी र सिद्धार्थ राजमार्गसँग जोड्दै बाइपासका रुपमा प्रयोग गर्न सकिने आचार्यको भनाइ छ । योसँगै मध्यपहाडी लोकमार्ग र सिदार्थ राजमार्गको बाइपासले पोखरा बजारभित्रको सवारी साधनको चाप न्यून गर्ने उनले बताए ।

सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको गठबन्धनले पोखराको सडक अझै पनि ६०९ किलोमिटर सडकखण्ड धुलो भएको जनाएको छ । पोखरामा ६३४ किलोमिटर कालोपत्र सडक रहेको उल्लेख गर्दै घोषणपत्रमा ११० किलोमिटर कङ्क्रिट, आठ किलोमिटर मिश्रित र १०३ किलोमिटर ग्राभले सडकखण्ड रहेको जनाइएको छ ।

आगामी पाँच वर्षभित्र एक हजार ५३५ किलोमिटर सडकखण्ड कालोपत्र गर्ने योजना उनले जानकारी गराए । समुन्नत पोखराका लागि जनताका अपेक्षालाई व्यवहारमा उतार्ने गरी आफु गठबन्धनका तर्फबाट उपप्रमुखको उम्मेदवार कोपिला रानाभाटले बताइन ।

आर्थिक सुशासन आफूहरूको पहिलो प्राथमिकतामा रहेको बताउँदै रानाभाटले भनिन, “मलाई राजनीतिमा धन कमाउनु छैन, अनियमितता गर्ने छुट कसैलाई दिन्न, दिने छैन ।” न्यायिक समितिलाई प्रभावकारी बनाउनुका साथै विकास निर्माणको अनुगमनलाई प्रभावकारी बनाउने प्रतिबद्धता उनले व्यक्त गरे । न्यायिक समितिमा आएमा मुद्दालाई त्यही टुङ्ग्याउने वातावरण तयार गर्ने र अदालतसम्म जाने अवस्थाको अन्त्य गर्ने उनको भनाइ छ ।

महानगर भएर पनि यहाँका ग्रामीण क्षेत्र महानगरस्तरका बन्न नसकेको वास्तविकता उल्लेख गर्दै गठबन्धनको घोषणपत्रमा महानगरको अनुभूति हुने किसिमले विकास गतिविधि अघि बढाउनेमा जोड दिएको छ । ‘स्याटलाइट टाउन’, व्यस्त सडक तथा चोकमा आकासे पुल तथा अन्डरपास/बाइपास, अन्तर्राष्ट्रिय सभाहल निर्माण लगायतका विषय घोषणपत्रमा समेटिएका छन् । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्