नेपालगञ्ज । बाँकेका अधिकांश खानेपानी उद्योग मापदण्डअनुसार सञ्चालन नभएको पाइएको छ । ती उद्योगले खानेपानीको मनपरी मूल्य लिएको जनाउँदै मूल्य नियन्त्रणका सम्बन्धीत पक्षको ध्यानाकर्षण गराइएको छ ।
मङ्गलबार यहाँ आयोजित कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौडेलले मूल्य तोकिएको मूल्य भन्दा बढाएर खानेपानीको बिक्री वितरण नगर्न आग्रह गर्दै त्यस्तो पाइए कारबाही गरिने बताए ।
पानी सङ्घ बाँकेका अध्यक्ष विनय श्रेष्ठले सम्पूर्ण पानी उद्योग तथा व्यवसायीलाई सरकारले एकरूपताका साथ व्यवहार गर्नुपर्ने उल्लेख गर्दै सङ्घमा आवद्ध उद्योगी र व्यवसायीले प्रशोधित खानेपानीको स्वच्छता र गुणस्तरमा लापरबाही हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय, नेपालगञ्जका खाद्य अनुसन्धान अधिकृत प्रतिक्षा श्रेष्ठले प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ अनिवार्य रूपमा सबै पानी उद्योगले पालना गर्नुपर्ने र खाद्य ऐन २०२३, खाद्य नियमावली २०२७ अनुसार पानीको बोटल र जारमा ‘लेबलिङग’ नगरेको पाइएमा, त्यस्ता उद्योग कारबाहीमा पर्ने बताए।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पानी उद्योगीले नाफा मात्रै नहेरेर गुणस्तर र स्वच्छतामा ध्यान दिनुपर्नेमा जोड दिँदै ८० प्रतिशत रोग प्रदूषित पानीका कारण लाग्ने भएकाले उपभोक्तालाई स्वच्छ र गुणस्तरीय पानी उपलब्ध गराउनु पर्ने जानकारी दिए ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले पानीको मूल्यमा एक रुपता नभएको र खुद्रा बिक्रेताले निश्चित मूल्य भन्दा बढी मूल्यमा पानी बिक्री वितरण गरेको पाइएकोले यसको रोकथाम आवश्यक भएको बताए ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृतद्वय अमित भूषणसुमन र प श्रेष्ठले प्रस्तुत गरेको पानीको गुणस्तर र स्वच्छता र प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ सम्बन्धी दुई छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेको थियो ।
रासस
प्रतिक्रिया दिनुहोस्