काठमाडौं । एमालेले पोखराको मेयरमा जातिय विभेदका आरोपीलाई मेयरको उम्मेदवार बनाएको छ । यस अघि मेयरको उम्मेदवार बनाईएका दिपक पौडेल सुन चोरी काण्डमा मुछिएपछि एमालेले पोखराको मेयरमा प्रदेश सभा सदस्य कृष्ण बहादुर थापालाई मेयरको टिकट दिने निर्णय गरेको हो । तर मेयरको टिकट थमाईएका थापा झनै ठूलो विवादमा मुछिएका छन् ।
उनले जातीय विभेदको अभियोगमा हिरासतमा रहेकालाई विनासर्त रिहा गर्न विज्ञप्ति निकालेका थिए । पोखरा–१६ बाटुलेचौरमा दलित समुदायलाई सार्वजनिक स्थलमा बनेको किरियापुत्री भवन स्थानीय क्षेत्री समुदायले प्रयोग गर्न नदिएको घटनामा उनले क्षेत्री समुदायको पक्षपोषण गरेका थिए । थापाले २००७७ वैशाख २४ मा विज्ञप्ति निकालेर क्षेत्री समुदायको पक्षपोषण गर्दै दलित समुदायमाथि विभेद गरेका थिए ।
तत्कालीन नेकपाका प्रदेश कमिटी सदस्य एवं कास्की जिल्ला अध्यक्ष समेत रहेका सांसद थापाले विज्ञप्ति जारी गरी नेकपाका वडा सचिवलाय सदस्य रामबहादुर जीसी र जनक थापालाई बिना सर्त रिहाइ गर्न माग गरेका थिए । प्रेस विज्ञप्तिमा उनले दुईजनालाई प्रहरीले षड्यन्त्रपूर्वक हिरासतमा लिएको आरोप लगाएका थिए । उनले विज्ञप्तिमा भनेका थिए, ‘केही उच्छृंखल तत्वहरुले जातीय विभेदको नाम दिएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने जातिवादी नेता कार्यकर्ताहरुको षड्यन्त्रले सदियौंदेखि भइरहेको हाम्रो सामाजिक सद्भावलाई धमिल्याउने काम भएको छ ।’
जातीय विभेदको घटनामा पीडकको पक्षमा लागेको भन्दै थापालाई कारबाहीको माग सहित तत्कालिन नेकपा गण्डकी प्रदेश कमिटी र संसदीय दलमा ०७७ वैशाख २६ मा उजुरी समेत परेको थियो । नेकपा निकट दलित नेता एवं संगठनले सांसद थापालाई कारबाहीको माग गर्दै उजुरी निवेदन थिए ।
मेयरका उम्मेदवार थापा पोखरा–१६ कै स्थानीय हुन् । सोही ठाउँ बाटुलेचौरका राम जीसी, जनक थापा र देवबहादुर थापाविरुद्ध हाल पनि कास्की जिल्ला अदालतमा जातीय विभेद तथा छुवाछूतको कसुरमा मुद्दा विचाराधीन छ ।
प्रतिक्रिया दिनुहोस्