काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदर तथा १० वर्षे अवधि रहेको रु २ अर्ब २० करोड बराबरको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ निष्काशन गर्दैछ । कुल रकम २ अर्ब २० करोड मध्ये ४० प्रतिशतले हुन आउने ८८ करोड सर्वसाधारण (सामूहिक लगानी कोषसमेत) का लागि र ६० प्रतिशतले हुन आउने रु १ अर्ब ३२ करोड (संस्थागत) प्राइभेट प्लेसमेन्टका लागि छुट्याइएको छ ।
बैंक स्रोतका अनुसार आगामी साताभित्र बैंकले आह्वान पत्र निश्कासन गरी वैशाखको तेस्रो हप्ता आवेदन खुल्ने छ । आवेदन खुल्ला भएपश्चित छिटोमा ४ दिनभित्र तथा ढिलोमा १५ दिनका लागि मात्र आवेदन गर्न सकिनेछ ।
प्रति कित्ता डिबेञ्चरको अंकित मूल्य रु. १ हजार रहेको छ । लगानीकर्ताले न्यूनतम २५ कित्ता तथा अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन । दश वर्ष अवधिमा निरन्तर साढे १० प्रतिशतको उच्च प्रतिफल प्राप्त गर्न सकिने भएकोले यो उच्च प्रतिफलको लागि राम्रो देखिन्छ भने डिबेञ्चर नेप्सेमा सूचिकृत भएपश्चात कारोबार गर्न सकिन्छ । साथै यो डिबेञ्चर धितो राखी बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण सापटी लिन सकिन्छ ।
नेपाल धितोपत्र बोर्डबाट बैंकले २०७८ चैत्र २९ गते स्वीकृति प्राप्त गरेको थियो । सेञ्चुरी डिबेञ्चर २०८८ को निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आएमई क्यापिटल रहेको छ ।
सेञ्चुरीको डिबेच्नर पछिल्लो समय वाणिज्य बैंकहरूले जारी गरेको डिबेञ्चरमा सर्वोत्तम मानिएको छ । वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याज घट्ने भएपनि एकपल्ट प्रतिवद्धता गरेको सेञ्चुरीको डिबेञ्चरको प्रतिफल दर १० वर्षसम्म साढे १० प्रतिशत नै रहनेछ ।
निक्षेपको ब्याजदरले कर्जामा प्रभाव पार्ने भएकाले बैंक, उद्योगी व्यवसायी एवं अन्य लगानीकर्ताको पनि ब्याजदर कमभन्दा कम कायम रहोस् भन्ने हुन्छ ।
बजारमा लगानीयोग्य रकमको अभाव हुँदा डिबेञ्चर (ऋणपत्र) स्रोत परिचालनको उपयुक्त औजार बनेका छन् । पुँजीकोषको अंगका रुपमा रहेका ऋणपत्र बाहेकका डिबेञ्चरलाई निक्षेपका रुपमा गणना गर्न पाउँदा बैंकहरुलाई कर्जा परिचालनका लागि सहुलियत मिलेको छ भने उपभोक्तालाई तोकेको अवधिसम्म तोकिएको ब्याज निरन्तर प्राप्त भइ प्रतिफलको सुनिश्चितता मिलेको छ ।
डिबेञ्चरलाई नेपालीमा ऋणपत्र भनिन्छ । कुल ऋण पुँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरी स–साना इकाइमा विभाजन गरिएको अंश वा इकाइ ऋणपत्र हो । कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधिका सर्तहरू उल्लेख गरी आधिकारिक रूपमा गरिदिएको लिखितपत्र हो, ऋणपत्र ।
अर्थात् ऋणपत्र भनेको एउटा शर्तनामा, निश्चित समयमा निश्चित रकम, निश्चित प्रतिफलको दरमा लिन्छु भनेर कबुल गरेको खरिदर्ताको सम्पत्ति हो । बैंक तथा वित्तीय संस्थाका लागि डिबेञ्चर पुरक पुँजीका रुपमा जारी गरेर अस्थायी रुपमा आफ्नो पुँजी पर्याप्तता कायम गर्ने औजार पनि हो ।
यो सँधै आवश्यक हुने औजार होइन । संस्थाहरुले पुँजी पर्याप्तताका लागि हकप्रद जारी गर्ने विकल्प रहन्छ । तर, सँधै हकप्रद जारी गर्न मिल्दैन ।
ऋणपत्र पुँजी पर्याप्तताका लागि जारी गरिने अरु प्रकारका औजारभन्दा फरक हुन्छ । यसको अंकित मूल्य हुन्छ । कम्पनीले साधारण सेयर र अग्राधिकार सेयरलाई लाभांश बाँड्नुअघि नै ऋणपत्रका लगानीकर्तालाई ब्याज भुक्तानी गर्दछन् भने ऋणपत्र जारी गरेको संस्था नोक्सानीमा गए पनि लगानीकर्ताले प्राप्त गर्ने ब्याजमा कुनै बाधा पर्दैन ।
यसले पुँजी पर्याप्ततालाई मद्दत गर्दछ । बैंक तथा वित्तीय संस्थाले ऋणपत्र खरीदकर्तालाई मुद्दती निक्षेपभन्दा बढी प्रतिफल दिने गरी आह्वान गर्दछन् । विशेष गरी जोखिम उठाउन नचाहने लगानीकर्ताका लागि लगानी गर्ने यो उपयुक्त औजार हो । ऋणपत्रको परिपक्व अवधि दीर्घकालीन हुने भएकाले बैंक तथ वित्तीय संस्थाका लागि आवश्यक पर्ने स्थिर सम्पत्ति खरिद गर्न ऋणपत्रमार्फत पुँजी उठाइन्छ ।
तर, ऋणपत्रमा लगानी गर्दा लगानीकर्ताले विभिन्न कोणबाट पनि सोच्नुपर्छ ।
डिबेञ्चरमा लगानी गर्नुका केही फाइदा छन् । जस्तो कि मुद्दती निक्षेपजस्तो नवीकरण गरिरहनु पर्दैन । यसको ब्याजदर परिवर्तन हुँदैन ।
आफूले किनेको डिबेञ्चरभन्दा राम्रो विकल्प आयो भने यसलाई दोस्रो बजारमा बेच्न पनि सकिन्छ । वा, डिबेञ्चरलाई धितो राखेर शतप्रतिशत ऋण लिन पनि सकिन्छ ।
अर्कोतर्फ बैंकहरुलाई पनि केही सहज परिस्थिति सिर्जना हुने छ । बैंकहरुले आफूले जारी गरेको ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाउँछन् ।
निक्षेपकर्ता सर्वसाधारणले पनि बजारमा लगानीयोग्य रकमको उपलब्धता बढाउने आफ्नो दायित्व सोचेर पनि ऋणपत्रमा लगानी गरे हुन्छ ।
चाहेको जुनसुकै बेला ऋणपत्र प्रयोग गरेर आफ्नो समस्या टार्न सकिन्छ । चाहे दास्रो बजारमा बेचेर होस् वा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर । त्यसकारण भोलि चाहिने खर्च वा विनियोजन गर्न कसैले पैसा रोकेर राखेको छ भने त्यो रकम ऋणपत्रमा खर्च गरे हुन्छ ।
यहीकारण सर्वसाधारणलाई डिबेञ्चरमा लगानी गर्न सझाइने गरिएको छ । १० हजार रुपैयाँ गोजीमा राखेर हिँड्नुभन्दा १० कित्ता डिबेञ्चर किन्नु राम्रो हुन्छ । हाम्रा नियमित खर्चमा कटौती गरेर पनि यस्तो बचत गर्दा दीर्घकालमा राम्रो फाइदा हुन्छ ।
यहाँ प्रश्न रह्यो, अर्बौं रुपैयाँ बराबरको सावाँ र ब्याज भुक्तानी बैंकले तोकेको अवधिमा कसरी फिर्ता गर्न सक्छ भन्ने कुरा । बैंकले ऋणपत्र परिपक्व हुने समयका लागि केही व्यवस्था गरेको हुन्छ । जस्तै बैंकले आफ्नो नाफाबाट हरेक वर्ष डिबेञ्चरको केही प्रतिशत रकम एउटा रिजर्भ फन्डमा जम्मा गर्नेछ । र, सोही डिबेञ्चर रिडेम्सन रिजर्भमा म्याच्युरिटी हुनपुर्व (मानौं १० वर्ष) मा नै जम्मा भइसकेको हुनेछ ।
लगानीकर्ताले ब्याज त तोकेको अवधि (हरेक ६–६ वा ३–३ महिना)मा पाइसकेका हुन्छन् ।
यसरी बैंकले एकैपल्ट भुक्तानी गर्ने भार पर्दैन ।
जानकारहरूले पनि निक्षेपभन्दा डिबेञ्चरमा लगानी गर्न आम सर्वसाधारणलाई सुझाव दिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्