काठमाडौं । सेयर बजारमा २९.६० अंकको गिरावट आएको छ । वर्ष २०७९ तथा साताको पहिलो कारोबार नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको हो ।
नेप्से १.२३ प्रतिशतले घटेर २३८५.६४ अंकमा आइपुग्दा घट्ने क्रमले निरन्तरता पाएको हो । नेप्से घट्दा बजारमा १ अर्ब ४४ करोड ७ लाख रूपैयाँको सेयर किनबेच भए । २ सय ३३ सक्रिप्टका ३४ लाख कित्ता सेयर २९ हजार कारोबारमार्फत् खरिदविक्री भए ।
नेप्से घटेको सेन्सिटिभ इन्डेक्स ५.१२ अंकले घटेर ४५०.९७ अंकमा आइपुगेको छ ।
समूहगत उपसूचकतर्फ सबै समूह ऋणात्मक रहे । सबैभन्दा बढी गिरावट फाइनान्स समूहमा आयो ।
आइतबार कारोबार रकमका हिसाबले नेपाल टेलिमक शीर्ष स्थानमा रह्यो । कम्पनीको करिब ५ करोड रूपैयाँ बराबरको सेयर किनबेच भए ।
नेप्से घटेपनि नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आइतबार हिमालयन ऊर्जा विकास कम्पनीको सर्वाधिक १० प्रतिशतसँगै १६७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । यसदिन २४ कम्पनीको मात्र सेयर मुल्य बढ्दा परिसूचकमा सुधार आउन नसकेको हो ।
कारोबार सुरू हुँदा बढ्ने संकेत गरेको नेप्सेले त्यसपछि क्रमैसँग घट्दा वर्षको पहिलो दिन परिसूचकले आशा देखाउन सकेन ।
प्रतिक्रिया दिनुहोस्