काठमाडौं । सरकार र नियामक निकायकै लगानी भएको ग्रामिण विकास लघुवित्त अहिले सिईओ नियुक्तीको विवादमा फासेको छ । संस्थाका सञ्चालकहरुले व्यक्तिगत स्वार्थ पुरा गराउन सकिने व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) बनाउन खोज्दा विवाद शुरु भएको हो ।
संस्थाका निवर्तमान सीइओ पर्वत कार्कीले २०७७ असोजमा आफ्नो कार्यकाल पुरा गरी अवकाश लिएका हुन् । त्यसयता संस्थाले सीइओ नियुक्त गर्न सकेको छैन् । संस्थाको सम्पुर्ण व्यवस्थापकिय जिम्मेवारी का.मु सीइओ श्याम कुमार कटुवालले सम्हाल्दै आएका छन् । संस्थाको सम्पुर्ण जिम्मेवारी कामु सीइओ कटुवालको हातमा सुम्पिएका सञ्चालकहरु अहिले उनै कटुवाललाई सीइओ बनाउन कम्मर कसेर लागि परेका छन् ।
जसका लागि सीइओ नियुक्तीको दरखास्त आव्हान गर्दा नै न्यूनतम योग्यता, कार्यअनुभव लगायत सबै पुरा गर्नु पर्ने मापदण्ड नै कामु सीइओले नै पुरा गरेर तोकिएको छ । बैंक तथा वित्तीय संस्था ऐनले बैंक तथा वित्तीय संस्थाको सञ्चालक र सीइओको उमेर हद तोकिने व्यवस्था गरेको छ । राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु नियुक्ति सम्बन्धी विनियमावली, २०७४ नै तयार गरेको छ । सो विनियमावलीमा सीइओे ६५ वर्ष र सञ्चालकको ७० वर्ष उमेर ननाघेको हुनु पर्ने व्यवस्था गरिएको छ । सञ्चालक र सीइओको न्यूनतम योग्यता समेत तोकेको छ ।
सोही निर्देशनको सीमा भित्र रहेर बैंक तथा वित्तीय संस्थाले कर्मचारी विनियमावली बनाउँछन् । ग्रामिण विकासको कर्मचारी विनियमावलीले संस्थाको सीइओ ५८ वर्ष ननाघेको हुनु पर्ने व्यवस्था गरेको छ ।
तर, संस्थाको आगामी सीइओ खोजीमा भने व्यक्ति लक्षित हुँदै ६० वर्ष उमेर हद र अधिकृत तहको लामो कार्यअनुभव तोकेर पहिलो पटक दरखास्त आव्हान गरेको थियो । कम्पनी सचिव समेत रहेका ५९ वर्ष कामु सीइओ श्याम कुमार कटुवाल आफैले सो दरखास्त आव्हान पत्रको नमुना तयार पारी मापदण्डहरु तोकेका हुन् ।
संस्थाले पहिलो पटक २०७८ पुस २३ गते प्रमुख कार्यकारी पदका लागि २१ दिने सुचना निकालेर दरखास्त मागेको थियो । सम्बन्धीत विषयमा स्नातक तह उर्तिण र बैंक तथा वित्तीय संस्था वा सरकारी गैर–सरकारी अन्तराष्ट्रिय संघ संस्थामा कम्तीमा ३ वर्षको कार्यअनुभव पर्याप्त हुने पदमा कामु सीइओ कटुवालले आफैले मात्र पुरा गर्न सक्ने मापदण्डहरु तोकेका थिए ।
उक्त दरखास्त आव्हानमा सम्बन्धीत विषयमा स्नातकोत्तर तह उर्तिण र बैंक तथा वित्तीय संस्था वा सरकारी गैर–सरकारी अन्तराष्ट्रिय संघ संस्थामा व्यवस्थापकीय अधिकृत द्वितीय कम्तीमा १० वर्षको कार्यअनुभव हुनु पर्ने उल्लेख थियो ।
यसरी कुनै एक व्यक्ति लक्षित गरी पदपुर्तिको लागि सार्वजनिक आव्हानमा चलखेल गरिएको भन्दै सो विषयमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्र बैंकमा उजुरी परेको छ ।
सरकार, सरकारी बैंक र राष्ट्र बैंकको सेयर स्वामित्व बढी भएको संस्थामा नै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन(बाफिया) कुल्चिएर पदपुर्ति गर्न लागिएको भन्दै २०७८ पुस २६ गते मनोमहन अधिकारीले उजुरी दिएका हुन् ।
सेयर स्वामित्व र सञ्चालकहरुको सीइओ नियुक्तिमा चलखेल
ग्रामिण विकास लघुवित्त संस्थामा नेपाल सरकारको ३०.१६ प्रतिशत, राष्ट्र बैंकको २.७९ प्रतिशत, नेपाल बैंकको ६.८९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २.२९ प्रतिशत, हिमालयन बैंकको १.४६ प्रतिशत र नेपाल बंगलादेश बैंकको १.४७ प्रतिशत सेयर स्वामित्व छ । सेयरधनी सरकार, राष्ट्र बैंक, अन्य बैंकहरु र सर्वधारणरको तर्फबाट प्रतिनिधित्व गर्दै संस्थामा सञ्चालक भएका व्यक्तिहरुमध्ये केहीले नै नियामकको निर्देशनलाई नै वेवास्ता गरेका हुन् ।
हाल संस्थामा अर्थमन्त्रालयको तर्फबाट धन बहादुर बरुवाल अध्यक्ष, राष्ट्र बैंकको तर्फबाट रञ्जना पण्डित, नेपाल बैंकको तर्फबाट लेखनाथ भुसाल, स्वतन्त्र संचालकमा शिवहरी दंगाल र सर्वसाधारणको तर्फबाट मनोज कुमार खड्का र भरतराज कोइरला संचालक छन् । कामु सीइओ कटुवाललाई सीइओ बनाउने चलखेल करिब १ वर्ष अघिदेखि शुरु भएको थियो । संस्थाका संचालकहरुमध्ये दुई तिहाईले कटुवाललाई नै सीइओ बनाइनु पर्ने भन्दै पटक/पटक बाँकी संचालकहरुलाई दबाव दिँदै आएका थिए ।
कामु सीइओ कटुवाललाई सीइओ बनाउन अध्यक्ष धन बहादुर बरुवाल, सञ्चालकहरु मनोज कुमार खड्का, भरतराज कोइरला र शिवहरी दंगालले राष्ट्र बैंकदेखि अर्थमन्त्रालयसम्म नै लबिङ गरिरहेको स्रोत बताउँछ ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले ३ महिनाभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सीइओ) को पद खाली राख्न पाउँदैनन् ।
तर, ग्रामिण लघुवित्तले भने करिब १४ महिना पछि सीइओको पदपुर्तिको लागि विज्ञापनमार्फत् आव्हान गरेको थियो । सञ्चालकहरुबीच नै एक मत नहुँदा/नहुँदै सार्वजनिक रुपमा गरिएको सो आव्हानमा ३ जनाले आवेदन दिएका थिए । जसमा कामु सीइओ कटुवाल बाहेक बुटवल प्रधान कार्यालयका विभागीय प्रमुख सदानन्द साह र १ नम्बर प्रदेश विराटनगरका प्रमुख राजेन्द्र सुनारले सीइओ पदका लागि आवेदन दिएका थिए ।
तर, कामु सीइओले नै तोकिएको शैक्षिक योग्यता र कार्यअनुभव पूरा नभएका सुनार र साहलाई आवेदन दिन लगाएको संस्थाका कर्मचारीहरु बताउँछन् । आवेदकहरु मध्येबाट तोकिएको मापदण्ड पूरा गर्ने एकमात्र उम्मेद्धवार आफु भएपछि स्वतः सीइओ बन्ने दाउ उनको थियो ।
तर, यसबीच सीइओ नियुक्तमा चलखेल भएको उजुरी राष्ट्र बैंकमा परेपछि संस्थाले पहिलो पटकको आवेदनलाई रद्द गरी दोस्रो पटक पुनः सीइओको लागि दरखास्त आव्हान गर्यो ।
दोस्रो पटक १५ दिने हदम्याद राखी २०७८ माघ १० गते भने संस्थाको कर्मचारी विनियमावली संशोधन गरी दरखास्त आव्हान गरिएको हो । जसमा सीइओको ५८ वर्ष तोकिएको उमेर हदलाई ६० वर्ष बनाइएको संस्थाका एक अधिकृतले बताए ।
‘कामु सीइओलाई नै सीइओ बनाउनलाई नै विनियमावली संसोधन भएको हो, कट्वाल जी अहिले ५९ वर्ष पुग्नु भयो, विनियमावलीमा ५८ हुँदाहुँदै ४० देखी ६० वर्षको भनेर विज्ञापन निकालियो,’ संस्थाका ती अधिकृतले सिंहदरबारसँग भने, त्यही भएर विनियमावली संसोधन गरी अहिले ६० वर्ष बनाइएको छ । स्वार्थ थिएन भने राष्ट्र बैंकले ६५ भनेको छ, त्यही अनुसार संसोधन गरेको भए प्रतिस्पर्धामा आउने धेरै हुन्थ्यो, कटवाल सरले आफ्नो प्रतिस्पर्धी घटाउने र क्षमता नभएका बटुल्ने काम गर्नु भइरहेको छ ।’
सीइओको शैक्षिक योग्यता पनि कम्पनी सचिव समेत रहेका कामु सीइओले आफैले पुरा गर्न सक्नेमात्र राखेको उनको आरोप छ ।
‘दोस्रो पटक आवेदन दिनेमा अधिकांश संस्थाकै विभागिय प्रमुख र पुर्व अधिकृतहरु छन्, एउटा विभाग चलाउन गाह्रो भएको व्यक्तिले संस्थानै हाक्न सक्छु भनेर कसरी आँट गर्न सक्छ, कामु सीइओ र सञ्चालकहरुले नै दवाब दिएर आवेदन भर्न पठाएका हुन् । यस्तो कुरा जो कोहीले पनि दरखास्त आह्वानको विज्ञापनमा तोकिएको मापदण्ड र आवेदकहरुको शैक्षिक योग्यता/कार्यअनुभव हेर्दा थाहा हुन्छ, यो विषयमा राष्ट्र बैंक समेत मुकदर्शक बनेको छ,’–संस्थासम्बद्ध स्रोत भन्छ ।
दोस्रो पटक मागिएको दरखास्त आव्हानमा पहिलाका ३ जना सहित थप ५ जनाले आवेदन दिएका थिए । थप भएकामा नरेन्द्र सिंह बिस्ट, रामदेव यादव, चक्र बहादुर बम, प्रभाकर मिश्र र नवराज ढकाल हुन् । संस्थाले आवेदन दिने ८ जनाबाट २ दिनको समय तोकि अन्तरवार्ताको लागि फागुन २३ गते बोलाएको थियो ।
कामु सीइओ कटुवाललाई सीइओ बनाउन, प्रतिस्पर्धी कम गर्न आवेदन नै नपरेको भुठो व्यक्तिको नाम समेत संस्थाले ‘सर्टलिस्ट’ गर्यो । सर्टलिस्टमा चक्र बहादुर बम, नरेन्द्र सिंह बिस्ट, परमेश्वर झा, राम देव यादब र श्याम कुमार कटुवाल थिए । परमेश्वर झा नाम गरेको व्यक्ति आवेदकको सूचीमा पनि नभएको र संस्थाका कुनै पनि कर्मचारीको जानकारीमा नभएको हुँदा प्रतिस्पर्धी कम गर्न राजनीति गरिएको प्रष्ट हुन्छ ।
कामु सीइओ आफुलाई एमाले र माओवादी दुबै पार्टी निकटको व्यक्ति भएको बताउँछन् । उनी पुर्वाञ्चल ग्रमिण विकास बैंकबाट करिब २ वर्ष अघि ग्रमिण विकास लघुवित्तमा डेपुटी सीइओमा नियुक्त भएका थिए । उक्त समय संस्थामा पर्वत कार्की सीइओ थिए । उनको कार्यकाल समाप्तिको समय नजिकिँदै गर्दा डेपुटी भएर आएका कटुवाललाई सञ्चालकहरुले सीइओ बनाउने आश्वासन दिएका थिए । साथै, उनी राष्ट्र बैंकका उच्च अधिकारीहरुका आफन्त हुँ भन्ने गर्छन् । स्थायी घर झापा भएको हुँदा उनलाई निलम्बित गभर्नर महाप्रसाद अधिकारीसँग सम्बन्ध भएको पनि भन्ने गरिएको छ । जसको फाइदा उनले लिन सञ्चालकहरुले उनलाई संस्थाको सीइओ बनाउन कम्मर कसेर लागि परेका हुन् ।
संस्थाकै कर्मचारीहरुले सो विषयमा कर्मचारी व्यवस्थापन विभाग र राष्ट्र बैंकमा उजुरी गरेपछि संस्थाले प्रभाकर मिश्र हुनुपर्ने ठाँउमा परमेश्वर झा भएको उल्लेख गरी मिश्रलाई अन्तरवार्तामा बोलाएको थियो । तर, राष्ट्र बैंकले संस्थाको सीइओ छनौट प्रकियामा थप छानबिनको आवश्यकयता देखिएको भन्दै अन्तरवार्ता रोक्न निर्देशन दिएको थियो ।
नियोजित रुपले प्रतिस्पर्धा साँघुर्याए पछि हस्तक्षेप गरियो–राष्ट्र बैंक
राष्ट्र बैंकले नियमनमा रहेका संस्थाका प्रमुख कार्यकारी नियुक्तिमा न्यूनतम योग्यता र कार्यअनुभव तोकेको छ । तर, अधिकतमको सीमा नतोकेको हुँदा ग्रामिण विकास लघुवित्तले सीइओ नियुक्तिमा प्रतिस्पर्धा नै साँघुराएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।
‘आवेदकलाई नै न्यूनतम शैक्षिक योग्यता र कार्यअनुभव नै पुरा गर्न नसक्ने गरी मापदण्ड तोकिएको रहेछ, छानबिन गर्दै जाँदा निश्चित व्यक्तिलाई नै सीइओ बनाउने योजना केही सञ्चालकहरुको भन्ने बुझियो,’ राष्ट्र बैंकका ती अधिकारीले सिंहदरबारसँग भने, ‘संस्थामा सीइओ नियुक्तिको सन्र्दभमा अख्तियारसम्म उजुरी परेको हुँदा ततकाललाई प्रक्रिया रोक्न निर्देशन दिएका हौं ।’
राष्ट्र बैंकमा उजुरी परेपछि सम्बन्धित विभागले आवश्यक छानबिन तथा अध्ययन गर्दा गर्दै संस्थाले आवेदकहरुलाई अन्तरवार्तामा बोलाएपछि सो प्रक्रिया रद्द गरी नयाँ दरखास्त आह्वान खुलाउन भनिएको उनले जानकारी दिए ।
‘राष्ट्र बैंकले आवेदन दिने र छनौट प्रक्रियाको न्यूनतम मापदण्डलाई नियमसंगत गर्न सम्म निर्देशन दिन सकेपनि नियोजित छनौट प्रक्रियामा भने तथ्य सहितको उजुरीमा मात्र पुष्टी भए कारवाही गर्न मिल्छ,’–राष्ट्र बैंक स्रोत भन्छ । संस्थाले फागुन २२ गते दोस्रो पटक आवेदन दिने आवेदकहरुबाट सर्टलिस्ट गरी फागुन २४ गते अन्तरवार्तामा बोलाएको थियो । तर, राष्ट्र बैंकले फागनु २३ गते नै अन्तरवार्ता रोकेको हो ।
एक पदको लागि ३ पटक आवेदन, पदपुर्ति हुने व्यक्ति पहिलै तय
सरकारी लगानीकर्ताको बहुल्यता भएको ग्रामिण विकास लघुवित्तले एउटै पटको लागि ३ पटक सार्वजनिक सुचनामार्फत् आवेदन खुलाइसेको छ । राष्ट्र बैंकको हस्तक्षेप पछि संस्थाले दोस्रो पटकको आवेदन रद्द गरी चैत ४ गते २१ दिन भित्र आवेदन दिन सुचना प्रकाशित गरेको थियो । तेस्रो पटक पनि एउटै पटकको लागि सार्वजनिक सूचना पहिलो पटक प्रकाशित गरिएको भन्दै सीइओ पदका लागि आवेदन मागिएको छ ।
तेस्रो पटक भने संस्थाले प्रतिस्पर्धामा सहजै योग्य व्यक्तिहरुले समेत आवेदन दिन सक्ने गरी दरखास्त आव्हान गरेको थियो । सो आव्हानमा तोकिएको विषयमा स्नातक उत्र्तिण गरेको र तोकिएको क्षेत्रमा न्यूनतम ३ वर्ष कार्यअनुभवको मापदण्ड राखिएको छ ।
संस्थाकै पुर्व सीइओ, डीसीइओ र अन्य संस्थाका अधिकृतहरु गरी ५ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा कामु सीइओ श्याम कुमार कटुवाल, ग्रामिण विकास बैंककै पुर्व अधिकृतहरु राम देव यादव, चक्र बहादुर बम, प्रभाकर मिश्र र निर्धन उत्थन लघुवित्तका प्रदेश प्रमुख अधिकृत बिष्णु पराजुली हुन् ।
चैत ४ गते २१ दिने सुचनाको हदम्याद चैत २५ गते समाप्त भइसकेको छ । आवेदन परेका ५ जनाहरुबाट सर्टलिस्ट गरी अन्तवार्तामा बोलाउन संस्थाका सञ्चालकहरुले पटक/पटक छलफल गरी सकेका छन् । तर, योग्यता र दक्षताको आधारमा भन्दा व्यक्तिगत स्वार्थमा कामु सीइओ श्याम कुमार कट्वाललाई नै सीइओ बनाउने चलखेललाई पुर्णता दिन अहिले सञ्चालकहरुले राजनीति लबिङ समेत गर्न थालेको स्रोत बताउँछ ।
‘पदपुर्ति कमिटीलाई योग्यता, विज्ञता र दक्षतालाई मुल्यांकन गरेर सर्टलिस्ट गर्न कुनै ठुलो समस्या होइन, तर सञ्चालकहरुको हस्तक्षेपलाई पनि ख्याल गर्नै पर्यो, त्यही भएर समय लागि रहेको हो । जति पटक प्रक्रिया चलाउँदै रद्द गरेपनि अन्त्यमा सीइओ बन्ने भनेको कामु सीइओ कटुवाल नै हुन्,’–संस्था सम्बन्द्ध स्रोतले भन्यो ।
प्रतिक्रिया दिनुहोस्