काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा देश भित्रिनेको तुलनामा २ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा देशबाट बाहिरिएको छ । भित्रिने मुद्राको टेको थामेको रेमिट्यान्स आप्रवाह दर निरन्तर घटिरहँदा बाहिरिनेमा सर्वाधिक हिस्सा ओगटेको वस्तु तथा सेवा आयात दर आकाशिँदा यस्तो अन्तर आकाशिएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको फागुन मसान्तसम्म शोधनान्तर स्थिति (ब्यालेन्स अफ पेमेन्ट) साढे २ खर्ब रुपैयाँभन्दा बढीले ऋणात्मक छ । जसको प्रत्यक्ष प्रभाव विदेशी विनिमय सञ्चितिमा परेको छ । देशबाट बाहिरिने मुद्रा भित्रिनेले पूर्ति गर्न नसक्दा राज्यको डलर ढुकुटी रित्तिन थालेको हो ।
अर्थात् ढुकुटीबाट विदेशी मुद्रा २ खर्ब ५८ अर्ब रुपैयाँ कम भएको छ ।
राष्ट्र बैंकका अनुसार अहिले देशमा प्राप्त हुने विप्रेषण अघिल्लो आवको भन्दा कम हुन थालेको छ । अघिल्ला महिनाबाट सुरु भएको घट्ने क्रमले फागुनमा पनि निरन्तरता पाएको हो ।
फागुन मसान्तसम्म विप्रेषण आप्रवाह अघिल्लो आवको फागुन मसान्तको तुलनामा १.७ प्रतिशतले कमी आई ६ खर्ब ३१ अर्ब १९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख २७ हजार ९ सय पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो ।
८ महिनामा खुद ट्रान्सफर २.० प्रतिशतले कमी आई ७ खर्ब ४ अर्ब ३३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.२ प्रतिशतले बढेको थियो ।
रेमिट्यान्स बढ्नुको भार चालु खाता घाटामा परेको छ । ८ महिनासम्म चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ४२ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ८८ करोडले घाटामा रहेको छ ।
यता पुँजीगत ट्रान्सफर ४१.२ प्रतिशतले कमी आई ७ अर्ब कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले बढेर १६ अर्ब ३० करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ९१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब १८ करोड रहेको थियो ।
खुद प्रत्यक्ष वैदेशिक लगानी बढेपनि विदेशी मुद्रा भित्रिने रेमिट्यान्स तथा पुँजीगत ट्रान्स्फर घट्नुको प्रभाव शोधनान्तर स्थितिमा परेको हो । फागुन मसान्तसम्म ब्यालेन्स अफ पेमेन्ट २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
शोधनान्तर घाटा यही दरमा कायम रहे चाँडै नै डलर सञ्चिति रित्तिने संकेत गरेको छ । विदेशी मुद्रा सञ्चिति रित्तिनु भनेको अर्थविदको भाषामा ‘श्रीलंका संकट’ निम्तनु हो ।
आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा कुल वस्तु व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि भई ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.६ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्